Comments Add Comment

कर्णाली ‘फ्लोर क्रस’ को राजनीतिक सन्देश

कर्णाली प्रदेशसभा बैठक

३ वैशाख, काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रश्न गर्थे, ‘जनता समाजवादी पार्टी (जसपा) ले निर्णय नगरी हामी र नेकपा माओवादी केन्द्र मात्र भएर (बहुमत) पुग्छ ?’

२७१ सदस्यीय (२७५ मध्ये चार जना पदमुक्त भए) प्रतिनिधिसभामा सरकार गठनका लागि १३६ मत चाहिन्छ । कांग्रेसका ६१ र माओवादी केन्द्रका ४९ सांसद छन् । ३२ सांसद भएको जसपा दुई खेमामा विभाजित छ र उसले निर्णय नगर्दासम्म देउवाले भनेझैं नयाँ सरकार गठनका लागि बहुमत पुग्दैन ।

संख्या नपुग्ने खेलमा नलाग्ने उनको अडान अहिले पनि कायमै छ । त्यही कारण पार्टी केन्द्रीय कार्यसमितिले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गर्दा पनि उनले एकाध बैठक गरी औपचारिकता पूरा गर्नेबाहेक खासै अग्रसरता देखाएनन् ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको ‘फ्लोर क्रस’ मार्फत नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कांगेस सभापति देउवालाई एकसाथ सन्देश दिएको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर राष्ट्रिय राजनीतिलाई पनि सन्देश दिएको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । कर्णालीमा मुख्यमन्त्री शाहीलाई बचाउनभन्दा पनि ओली समूहलाई जसरी पनि विफल पार्न फ्लोर क्रस भएको श्रेष्ठको बुझाइ छ । उनले भने, ‘अब केन्द्रमा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो भने वा अविश्वासको प्रस्ताव आयो भने फ्लोस क्रस हुन्छ भन्ने सन्देश कर्णालीले दिएको छ ।’

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा (संसद) विघटन गरेपछि साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भयो ।

नेकपा केन्द्रीय कमिटीको बहुमत सदस्यको साथ पाएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेटेर प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । तर, देउवा नेकपाको अधिकारिकता विवाद नटुंगिएको भनेर अग्रसर भएका थिएनन् ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतायो । त्यसयता प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गर्न पहल थालेका छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले जसपासँग सहमति गरेर बहुमत जुटाउने प्रयास गरिरहेका छन् ।

तर संसदको बहुमतका लागि निर्णायक बनेको ३२ सांसद भएको जसपा विभाजित रह्यो । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष, कांग्रेस र माओवादी केन्द्रसँग सहकार्य गर्ने पक्षमा उभिंदा जसपाले डेढ महीनादेखि कुनै निर्णय गर्न सकेको छैन ।

जसपाले निर्णय गर्न नसक्ने र संसदमा बहुमत सुनिश्चित नहुँदासम्म कांग्रेस सभापति देउवा नयाँ सरकार गठनमा अग्रसर नहुँदासम्म न वर्तमान सरकारले ढुक्कसँग काम गर्न पाउँछ न नयाँ सरकार गठन हुने अवस्था आउँछ ।

शुक्रबार कर्णाली प्रदेशसभामा भएको ‘फ्लोर क्रस’ मार्फत नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कांगेस सभापति देउवालाई एकसाथ सन्देश दिएको छ ।

अध्यक्ष ओलीलाई सन्देश

२८ फागुनमा ओली पक्षका नेताहरु मात्र बसेर गरेको निर्णय खारेज हुनुपर्ने र सर्वोच्चको फैसलाअनुसार २ जेठ २०७५ मा कायम रहेको सबै कमिटी कायम हुनुपर्ने नेपाल समूहको माग छ । पार्टी नेतृत्वले आफ्नो माग सुनुवाइ नगरेपछि नेपाल समूहले अहिले देशभर समानान्तर गतिविधि गर्दै आएको छ ।

अध्यक्ष ओलीले भने नेपालसहित चार नेतालाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । शुक्रबार कर्णालीमा फ्लोर क्रस गरेर नेपाल समूहले पार्टी नेतृत्वलाई पेलेर अगाडि बढ्न खोजे जुनसुकै कदम चाल्नसक्ने संकेत दिएको छ ।

प्रदेशसभा सदस्य प्रकाश ज्वालाले स्पष्टसँग केन्द्रीय नेतृत्वको निर्देशनअनुसार फ्लोर क्रस गरेको बताएका छन् । ‘पार्टीभित्र सबैको योगदान छ, सबैको सम्मान हुनुपर्छ पार्टीलाई एकतावद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन यो निर्णयमा पुगेका हौं’ उनले भने ।

देउवालाई सन्देश

कर्णालीमा भएको फ्लोर क्रसले कांग्रेस सभापति देउवालाई पनि संसदमा बहुमत जुट्नसक्छ भन्ने सन्देश दिएको छ । नेताहरुका अनुसार एमालेभित्र माधव नेपाल समूहका नेता नेपालले कांग्रेस नेताहरुसँग भएको भेटमा त्यसको संकेत गर्दै आएका छन् ।

संसदमा एमालेका १२१ सांसद छन् । उनीहरुमध्ये नेपाल समूहका ३८ जना छन् । एक नेताका अनुसार नेपाल समूहकै केही नेता फ्लोर क्रस गर्ने पक्षमा छैनन् । घनश्याम भुसाल, योगेश भट्टराईलगायत नेताहरु ‘फ्लोर क्रस’ गर्नु लोकतान्त्रिक र वैधानिक तरिका होइन भन्ने मत राख्छन् ।

तर नेता नेपालले निर्देशन दिने हो भने २० भन्दा बढी सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने स्रोतको दाबी छ । यही कुरा देउवाले पत्याएनन् वा पत्याउन चाहेनन् । असन्तुष्ट एक एमाले नेता भन्छन्, ‘हामीले भन्दै आएका थियौं, आज व्यवहारमै देखायौं ।’

कांग्रेस नेता मिनेन्द्र रिजाल पनि माधव नेपाल समूहले कर्णालीबाट राष्ट्रिय राजनीतिलाई गम्भीर सन्देश दिएको बताउँछन् । तर, कांग्रेस सभापति देउवाले कर्णालीबाट आएको यो सन्देशलाई कसरी लिन्छन् भन्ने हेर्न बाँकी छ ।

अरु प्रदेश पनि प्रभावित हुनसक्छन्

राष्ट्रिय राजनीतिमा अलमल कायमै रहँदा प्रदेशहरुमा भने नेकपा एमाले (ओली समूह) इतरको गठबन्धन बन्ने संकेत केही दिन अगाडि नै देखिएको थियो ।

नयाँ वर्षको सुरुवातमै गण्डकी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बन्यो र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो ।

त्यसको भोलिपल्ट कर्णाली प्रदेशमा कांग्रेसले औपचारिक रुपमै समर्थन गर्‍यो भने एमालेको नेपाल समूहले ‘फ्लोर क्रस’ नै गरेर माओवादी केन्द्रका नेता शाहीको मुख्यमन्त्री पद जोगाइदिए ।

लुम्बिनी प्रदेशमा पनि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र नयाँ सरकार बनाउने प्रयास भइरहेको छ । नेताहरुकाअनुसार नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने हो भने एमालेकै बहुमत भएको प्रदेश १ र वाग्मतीमा समेत नयाँ सरकार बन्न सक्छ ।

कर्णालीमा फ्लोर क्रस गरेका नेपाल समूहका नेता ज्वालाले पनि पार्टी एकतावद्ध नबनाएसम्म यस्तो (फ्लोर क्रस) समस्या अरु ठाउँमा पनि देखिन सक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment