+
+
Shares

अभाव र अप्ठ्यारोमा कसरी खुसी हुने भनेर सिक्न डोल्पा पुग्नुपर्छ

घुम्नैपर्ने डोल्पा र पढ्नुपर्ने संस्कृति

संकट र दुःखमा पनि डोल्पालीका केही गुनासा सुनिएनन्। उनीहरू जे जती छ त्यसमा रमाएका छन् ।

भीम माबुहाङ भीम माबुहाङ
२०८२ साउन २४ गते १०:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाबासीको जीवन संघर्षपूर्ण छ । जहाँ स्वास्थ्य सेवा र आधारभूत पूर्वाधारको अभाव छ।
  • डोल्पामा यार्सागुम्बा प्रमुख आम्दानी स्रोत हो र स्थानीयले सामूहिक सहकार्यमा खेतीपाती र यार्सा संकलन गर्छन्।
  • जलवायु परिवर्तनले हिमाली जीवनशैलीमा गम्भीर प्रभाव पारिरहेको छ।

ए शासक !
डोल्पालाई माथिमाथि हेलिकप्टरबाट हेर, जहाँ जीवन मस्ती नै मस्ती छ ।
तलतल झरेर नहेर, जहाँ दुःख र पीडामा पिल्सिएका गन्हाउने बस्ती छन् ।

नेपालको एक असामान्य भूगोल डोल्पाको स्पर्श गर्ने र रमाउने हाम्रो यात्रा कालो बादल हटाउने प्रकाशको आगमनसँगै काठमाडौँ विमानस्थलबाट प्रारम्भ भयो ।

विमानले उचाइ लिँदै कालो कुहिरोभित्र शून्यतामा डुबुल्की मार्‍यो । उडान भरेको करिब एक घण्टामा हामी नेपालगञ्ज विमानस्थलमा अवतरण भयौं ।

नेपालगञ्ज मध्यपश्चिम क्षेत्रको केन्द्रबिन्दु हो । यो शहर हिमाली उडान, पद र तीर्थ यात्रुको प्रवेशद्वारका रूपमा परिचित छ । विशेष गरेर तिब्बतको कैलाश मानसरोवर क्षेत्रको यात्रादेखि नेपालको डोल्पा, जुम्ला, हुम्ला, रारा र से–फक्सुन्डो तालको यात्राका लागि नेपालगञ्ज प्रमुख ‘ट्रान्जिट’ मानिन्छ।

बादलबिहीन आकाशले मन फुरुङ्ग

आँखा खुल्नेबित्तिकै पर्दा ठेलेर हेर्दा बादलबिहीन खुला आकाश देखियो । यो दृश्यले मन फुरुङ्ग भयो । विमान डोल्पा उड्ने आत्मविश्वासका साथ हौसिएर नेपालगञ्ज विमानस्थल पुग्यौँ । त्यहाँ चकमन्न थियो । दुई चार जना हामीसँग डोल्पा उड्नेबाहेक अरु यात्रु थिएनन् । हामी चढ्ने विमान परबाट हेर्दा सानो ढुकुरको बच्चा जत्रो मात्र देखिन्थ्यो । त्यसैमा यात्रा गरेर डोल्पा पुग्नु थियो।

दिन स्वच्छ र खुला भएकाले जहाजबाट भू–दृश्य प्रष्ट देखिए । तराईका फाँटहरू काटेर विमान चौरजहरी हुँदै रुकुमपश्चिमको डाँडा काटेर डोल्पा छिर्‍यो । दायाँबायाँ सिस्ने हिमालका चुचुरा हार्दिकता देखाउँदै अँगालो फिँजाउँदै थिए। यो हिमाललाई रुकुमतिर बाट सिस्ने र डोल्पाबाट साहिकुमारी भन्ने रहेछन् । टर्वो जहाज हिउँले ढाकेको विशाल पहाड र काला पत्थरको खोचको बीचबाट गन्तव्यतर्फ अगाडि बढ्यो ।

ठूलो पाटन र खोल्सा हुँदै जहाजले उचाइ घटाउँदै थियो । दायाँबायाँको दृश्य टिप्दा टिप्दै प्लेन डोल्पाको जुफाएल विमास्थलमा थचक्क बस्यो । सानो एउटा मात्र रन–वे भएको एरपोर्टमा केही क्षण दगुरेर जहाज पार्किङ क्षेत्रमा अडियो । जहाजबाट बाहिर निस्कने बित्तिकै चिसो हावा शरीरमा प्रवाह भयो । हिमालका दृश्यमा आँखा पुगिहाले । तारबारले घेरेको विमानस्थलको कम्पाउन्ड बाहिरबाट केही अनुहार हामीतिर टुलुटुलु हेरिरहेका थिए।

विचरा त्यहाँ त बाख्राको बड्कौंला र चौरीको गोवरले भात पकाउँदा रहेछन् । यो पाराले कसरी हुन्छ छिटो ? ढिलै भए पनि आलु र भात निकै मिठो थियो ।

एयरपोर्ट छेउछाउ पुराना प्राचीन ढुङ्गाका घर देखिए। ढोका बन्द भएका घर छेउका गल्ली सुनसान थिए । विमानस्थल छेउछाउ तातो पानीसम्म नपाएपछि हामी डोल्पा मुकाम दुनै झर्यौं। अग्ला पहाडको खोच । ठूली भेरी नदीको किनार । दुनै बजार शीतल र शान्त थियो । वरपर निर्माण सामग्री, डोजर, एक्साभेटर, फलामका पोल, बिजुलीका खम्बा सडकका छेउकुनामा छरपस्ट देख्दा लाग्यो डोल्पामा विकासको मिर्मिरे भर्खर झर्दैछ।

संगम होटलमा झोला बिसायौं । काभ्रेका भाइले सञ्चालन गरेको सफा होटलको आतिथ्य उत्कृष्ट थियो । मटन थालीले पेट बेलुन झैं बन्यो । ‘भैँसी किन्दा पाडो उपहार’ हामीलाई मानभाउ दिएर कालो कफीको पैसा लिएनन्।

डोल्पामा कहाँ छ राज्य ?

हामीले गन्तव्यको नक्सा हेर्यौं । सातु, चामल र बन्दोबस्तीका सामान लिएर हरि डाँगी अगाडि लागे । उनी हाम्रा गाइड हुन् । ठूली भेरी नदीको किनारै किनार अगाडि बढ्यौं। बाटामा भेटिने हिमालका ट्याक्टर खच्चड तालिम प्राप्त सिपाहीजस्तै भारी बोकेर अप्ठेरो बाटोमा अनुशासित बनेर हिँडिरहेका थिए । ठूली भेरीको सुसेलीमा खच्चडको घाँटीमा झुन्डिएका घण्टीको आवाजले साङ्गीतिक माहोल बनाएको थियो । यो आवाज मिठो वीणाको झैँ लाग्थ्यो ।

डोल्पाका बाटा कतै तेर्सो भएर सोझिन्थे। कतै ओरालो जान्थे, ठाडो उभिन्थे र कतै लमतन्न सुतिदिन्थे । कुनै ठाउँमा साँगुरो अक्कर भएर छेकवार लाउँथे । कतै चट्टान, धुलोसँगै सुख्खा पहिरो भएर यात्रामा चुनौती थपिदिन्थे। हामी जीवनलाई नयाँ यात्रामा लिएर हिँड्दै थियौं । यो भूगोलमा नयाँ विद्यार्थीझैँ हामी हरेक प्रतिकूलतालाई चिर्दै निरन्तर हिँड्यौं।

दुनैबाट व्यासगार्ड हुँदै अपरान्ह ३ बजे हामी काइके गाउँपालिकाको ‘लाउन बगर’ पुग्यौं। रारा चाउचाउ खाएर खुम्चिएको पेटलाई उकासेर बाटो ततायौं। केही छिन हिँडेपछि झ्याल नभएको ढुङ्गाले छाएको होचो घरबाट एक महिला फुत्त निस्किइन् । उनले सिटामोल मागिन् । एक हप्तादेखि ज्वरोले ग्रसित महिला र उनकी छोरी सिटामोल नपाएर तड्पिरहेका देखिन्थे । ‘स्वाथ्य चौकी छैन ?’ हामीले प्रश्न गर्‍यौँ । ‘मान्छे पनि हुन्न, औषधि पनि हुँदैन, माया लाग्दो स्वरमा जवाफ आयो ।

शान्ति खोज्न हिँडेको मनमा प्रश्न र आक्रोश एकसाथ थपियो । राज्य कहाँ छ ? गणतन्त्रको संविधानमा ‘रोमान्स’ गरिरहेका नेताले कहिले देख्लान डोल्पालीका पीडा ? आक्रोश सबै मनमा पोको पारेर बिरामी आमाछोरीलाई सिटामोलका दुई ट्याबलेट थमाउँदै बाटो लाग्यौँ ।

घाम खुट्टा झारेर पश्चिम कुनातिर रङ फेर्दै दौडिरहेको थियो । साँझ पर्न लागेको आभास घामले दिइरहेको थियो । याल्लाकोट भन्ने ठाउँ पुग्यौँ। गाइडले भने, ‘आजको हाम्रो बास यहीं हुन्छ ।’ होटल, पाँच फुट पर्खालले घेरिएको माथि प्लास्टिकको छानो भएको सैनिक किल्ला जस्तो मात्रै थियो । भित्र झोला राख्न आग्रह गरेपछि डोल्पाको होटलको परिभाषा थाहा भयो । साहुनीले दिएको आलु र भात खायौं । सुत्ने खाट थिएन । सानो छाप्रोमा हामीसँगै १९ जना थिए । यार्सा टिप्न जाजारकोट र रुकुमबाट आएका सर्वसाधारण, खच्चड ड्राइभर, महिला र पुरुषसँगै साँगुरो किल्लामा स्लिपिङ ब्यागभित्र त्यो रात कटायौं । रातभर खच्चडको उपियाँले राम्रो निदाउन दिएन ।

रात धकेलिएर दिन सुरु भयो । खुला शौचालयमा नित्य कर्म गर्‍यौं । तातोपानी पिएर यात्रा सुरु भयो। ठूली भेरी नदी कसैलाई नसोधी उर्लिदै थियो । मानौ सुसाउनु, गडगडाउनु उसको अधिकार हो। कसैले सुनोस कि नसुनोस् मतलब छैन । डोल्पालीको जीवन संघर्ष, भोक, दुःख, पीडालाई भुलाउन भेरी नदीले सङ्गिनी, श्लोक, सोरठी र भजन गाउँदै मनोरञ्जन दिइरहेको थियो । हामी पुग्दा भेरीले त्यो आनन्द बाँड्न बिर्सिएन।

भन्ज्याङ, खोला, खर्क र बगर काट्दै गयौँ । गोरेटा, पहाड, खोच र गल्छी छिचोल्दा यात्रा कष्टपूर्ण र झ्याउलाग्दो हुन्थ्यो । फेरि बाटोमा देखिने रमणीय दृश्यहरूले कष्टलाई जितिरहेको हुन्थ्यो ।

बिहान ५ बजे बाटो लागेका हामी ठ्याक्कै दुई घण्टामा ल्यासीक्याप भन्ने ठाउँमा पुग्यौँ । अग्लो हिमाली गाउँ धोहतरपबाट झरेको धोह र भारभुङ खोला यो ठाउँमा मिलेपछि ठूली भेरी नदी नामकरण गरिएको रहेछ । केही पर ठूलाठूला लेकका रुखमुनि एउटा छोर्तेन र दुई वटा ढुङ्गाका घर देखिए । अधबैँसे महिला दौडेर आइपुगिन् । महिलाको साथमा दायाँ आँखा सुन्निएको बच्चा थियो। हामीलाई औषधि सोधिन् । सुन्निएको निको हुने औषधि हामीसँग थिएन । मलिन स्वरमा हामीलाई डाक्टर झैँ देखेर होला बारम्बार सोधिन, ‘केही त हुँदैन होला नि मेरो बच्चालाई ?’ हामी अनुत्तरित भयौँ । हरि भाइले तिनै महिलालाई चाउचाउ र अण्डाको खाजा बनाउन निवेदन गरे । त्यहाँ नास्ता खाएपछि नानीलाई चाँडो निको होस् भन्ने कामना गरी बाटो लाग्यौँ ।

भात पकाउन गोबर र बड्कौंला

बिहानको साढे १० बजेको थियो । हामी लिली पुग्यौं। दुईवटा होचा ढुङ्गाले छाएका घर देखिए । भाग्यबस एकजना पुरुष घरमा रहेछन्। नत्र यार्साको सिजन परेकोले सबै ‘कीरा’ टिप्न अग्ला पाटनतिर जाँदा रहेछन् । हामीले खाना पकाइदिन अनुरोध गर्‍यौँ। म भने हिजोको निन्द्रा पुर्‍याउन रुखको फेदमा ढल्किएँ । दुई घण्टा आराम गर्दा पनि खाना पाकेको थिएन । ‘किन यत्ति धेरै ढिलो भयो ?’ भन्दै चुह्लोमा पुगेँ । विचरा त्यहाँ त बाख्राको बड्कौंला र चौरीको गोवरले भात पकाउँदा रहेछन् । यो पाराले कसरी हुन्छ छिटो ? ढिलै भए पनि आलु र भात निकै मिठो थियो । भातसँगै उवा (हिमाली जौ) को जाँड मज्जाले खुवाएर पठाए ।

डोल्पाको जोखिमपूर्ण भूगोलमा ठोक्किँदै, जोगिँदै, घिस्रिदै अनवरत हिँड्दाहिँड्दै साँझ पर्न थाल्यो । मुसी खोला र भारभुङ खोलाको दोभानमा क्याम्प रोप्यौं। लिलीको लन्च उसिनेको आलु थियो । खुर्सानी हामीले नै बोकेका थियौँ । आलु र खुर्सानी खाएर तम्बु (पाल) भित्र गुटमुटियौं। फोन र इन्टरनेट नेटवर्कको संकेत थिएन । वातावरणमा अदभूत चकमन्नता र मौनता थियो। दुई खोलाको सुसेलीबाहेक कुनै आवाज थिएन। दायाँबायाँ बढेमानका धारिल्ला पहाड उभिएका थिए । शहरी गन्जागोल, चर्को आवाज, धुवाँ, धुलो, राजनीतिक प्रदूषणले थिलथिलो पारेको मस्तिष्क शान्त बन्दै थियो ।

अलौकिक दृश्यले प्रफुल्ल मन

थाकेको ज्यान । ढल्किनेबित्तिकै जोडिएका दुई आँखा एकैपल्ट बिहान साढे पाँच बजेतिर मात्र खोलिए । आँखा खोल्दा चुरेनी र पुथा हिमाल बाल सूर्यको किरणमा सजिसकेका रहेछन्। वारिपारि, पाखा पहरा, बिहानीको शीतलताले धोएर चिल्ला र चम्किल्ला देखिए । केही समय रसिला दृष्य हेरेर लठ्ठी बजार्दै गन्तव्यतर्फ पाइला बढायौं ।

हिजोभन्दा आज भू-आकृति फरक देखिए । एउटा भन्ज्याङ काटेपछि अर्को भिन्नै भू–दृश्य आँखा अगाडि नाचिदिन्छ । अर्को भन्ज्याङ काटेपछि फरक भू-स्वरुपले अंगालो हाल्छ। प्याजका पत्रपत्र झै हरेक पल्ट प्रकृतिले भिन्न स्वाद दिइरहेको हुन्थ्यो । मनमा लाग्थ्यो डोल्पा पिउनेका लागि प्राकृतिक सौन्दर्यताको ‘तीनपाने’ हो । तिर्खाएका बटुवाका लागि शुद्ध गगांजल हो । हामी यही सुन्दरता पिएर प्यास मेट्दै चरम आनन्दमा थियौँ । हर्षको नशामा डुबेर मातेर लरबरिएका जस्ता थियौँ ।

बाटो ठाडो उकालोतर्फ सोझियो । निकैबेर हिँड्दा पनि उकालो सकिने छाँट नदेखेपछि गाइडलाई सोधेँ, ‘अब कति उकालो छ भाइ ?’ उनले सकिन लागेको संकेत गरे । साँगुरो बाटो बढेमानको पहरा तिर तेर्सियो । तल मुटु काम्ने भीर । भित्ता तिर ढेपिएर हिँड्यौँ । तेर्सो सकिने बित्तिकै ओरालोतर्फ मोडियौँ । भत्किसकेका ढुङ्गाका स‌िंढीमा सावधानीका साथ खुट्टा थाम्दै ओरालो झर्यौं। केही तल झरेपछि हाम्रो अगाडि एउटा झोलुङगे पुल तेर्सियो । लाग्यो- डोल्पालीको दुःख तार्ने तारेभीरमा पुल त बनेको रहेछ । आँखाले नभ्याउने गरेर भार्भुङ खोला गहिरो खोंचभित्र बगेको रहेछ । एकपल्ट पोखराको सेती नदीको झल्को आयो।

खोला तर्ने बित्तिकै सानो पठार (हिमाल वा पहाडका बीचको मैदान) जस्तो जमिन भेटियो । ढुङ्गा र काठले बनेका दुईवटा बन्द घर थिए । छेउको सानो सूचना पाटीमा लेखिएको थियो ‘बाँदर फर्क’ ! सायद यहाँ भन्दा माथि चिसोले बाँदर जान नसक्ने भएर त्यस्तो नामाकरण गरेको हो कि ? अनुमान गर्‍यौं । केही मिटरको दूरीमा सङ्लो पानीको बगिरहेको धारा देखिन्थ्यो । घर छेउको सानो प्लटमा हरियो लेकाली साग र धनियाँ थियो ।

कागकोट गाउँ तल्लो र उपल्लो डोल्पाको संस्कृति संगमस्थल हो । त्यहाँ दुई डोल्पाको मिश्रित संस्कार, संस्कृति बुझ्न पाइयो । पोलिहेन्ड्री अर्थात् बहुपति प्रणाली अझै पनि अभ्यासमा रहेछ ।

गाइडले बिहानको खाना रारा चाउचाउ र सातु घोलेर खाने उपयुक्त ठाउँ यही हो भनेर ठम्याए । हामीले भारी बिसायौं । गाइड भाइले ग्यास बाले । पानी उमाले । बारीबाट साग, गाँजर र धनियाँ टिपेर ल्याए । एकछिनमै हाम्रो खुराक तयार भयो । रित्तो पेट भरेर केही क्षण ढुङ्गाको ओछ्यानमा आराम गर्यौं । भाते निद्रा मारेर गन्तव्यतिर सोझियौं। दायाँबायाँ आकाश छेडौंला जस्तै पर्वतमाला उभिएका थिए । पहराको चित्तामा कोरिएका साना बाटाहरू देखिए । त्यही बाटोमा डोल्पालीहरू खच्चडसँगै हिँडिरहेका हुन्छन् ।

कतै ताछिएको पहाड, कतै उराठ र उजाड पठार, कतै भरिलो वन, कतै बुढा, कतै तरुना रुख, पहाड र चुचुरा हेर्दाहेर्दै हाम्रो बाटो लमतन्न परेको बगरतर्फ सोझियो ।

खोलाको बगर तन्किएर क्षितिजसँग जोडिएको थियो। भारभुङ खोला कुन कुनाबाट बग्दैछ ठम्याउन कठिन भयो। खोलको सुसाई सुनिदैन। हल्ला कतै छैन । लाग्यो खोलालाई बगरले निलेछ। आकाश खुलेको थियो । यत्तिको निलो र सफा आकाश कहिल्यै देखेको थिइनँ ।

बगरको तातो वालुवा र ढुंगामाथि हिँड्नु चुनौतीपूर्ण बन्दै थियो । केही क्षण शीतल ताप्न एउटा बुढो रुखमुनि ओत लाग्यौं । पर क्षितिजमा हिउँले छोपेको एउटा डाँडा देखियो । गाइडले भने, ‘त्यसैको पछाडि हो ‘कागकोट’ । आज हाम्रो वास त्यहीं हुन्छ।’

एकछिनको आरामपछि यात्रालाई अगाडि बढायौं । पुथा र चुरेनी हिमाल कुनाकुनाबाट घरिघरि निस्केर चिहाउँथे। हामी हिमालसँग लुकमारी खेल्दै पाइतलाका डोब छोड्दै गयौं। घडीको सुई दुई बजेको लाइनमा दौडिँदै थियो । हामी बगरमा लमतन्न सुतेको छार्काताङसोङ गाउँपालिकाको केन्द्र ‘कागकोट’ पुग्यौं।

घरका सबै ढोका बन्द थिए । चौरी चरिरहेका थिए । अन्य जीवित प्राणीको संकेत थिएन । गाउँपालिका प्रशासनिक भवन, प्रहरी चौकी, स्वास्थ चौकी सबै सुनसान ! त्यहाँका बासिन्दा सबै यार्सा टिप्न गएपछि सरकारी कर्मचारी काम नभएर हिँड्ने रहेछन् ।

ढुङ्गाका घरले स्वागत गरे पनि मान्छे थिएनन् । एउटा ‘डेड भिलेज’ (मृत गाउँ) जस्तो लाग्यो। रातमा यो ठाउँ ‘गोस्ट भिलेज’ (भूत गाउँ) बन्छ होला ! अचानक पर एउटा ढुङ्गाको छाप्रोमा मान्छे देखियो । त्यतै अगाडि बढ्यौं । होटलवाला साहुनी रुकुम चौरजहारीकी रहेछिन् । भोकले हायलकायल थियौँ । उनले दाल, भात, आलुको तरकारी खुवाइन् ।

कागकोट गाउँ तल्लो र उपल्लो डोल्पाको संस्कृति संगमस्थल हो । त्यहाँ दुई डोल्पाको मिश्रित संस्कार, संस्कृति बुझ्न पाइयो । पोलिहेन्ड्री अर्थात् बहुपति प्रणाली अझै पनि अभ्यासमा रहेछ । पुथा हिमाल जाने पर्वतारोही कागकोट गाउँको बाटो भएर अगाडि बढ्ने रहेछन्।

पद यात्राको चौथो दिन कागकोटलाई छोड्यौं । भ्राङभुङ खोलाले निर्माण गरेको विशाल बगरको तिरैतिर पिम्रिङ गाउँतर्फ लम्कियौं । करिब एक घण्टा बगरमा हिँडेपछि बाटो नब्बे डिग्रीमा सोझियो। समुन्द्रिक सतहको ३३०० मिटरको बगरदेखि एकैपटक ४२०० मिटर उचाइसम्म निरन्तर उकालो हिड्यौं ।

जतिजति उकालो चढ्दै थियौँ उति अजंगका पहाड भेटिए । टलक्क टिल्किएका हिमाल अंगालोमा बेरिन आइपुग्थे । हिउँले पखालेका जब्बरे डाँडा, हावाले हिर्काउँदा हिर्काउँदा जर्जरिएका चुचुरा, घामले सेकेर अरमठिएका थुम्काहरू झुल्किँदै-ओझेल पर्दै जान्थे । संसार भुलेर यतै बसिरहौं, लडिबुडी गरिरहौँ जस्तो लाग्ने ।

हिमाली हावाको मायालु छुवाइले नतमस्तक बनाइरहेको थियो ।

कागकोटबाट हिँडेको करिब अढाई घण्टामा अक्करमा अडिएको ठूलो छोर्तेन देखियो । छोर्तेनमाथि हावामा लहरिएको लुङदार र धजाले मनलाई आन्नदित पार्‍यो । पारिपटी गुर्जा र धौवलागिरि हिमाल मुस्कुराइरहेका थिए । छोर्तेनको फेरो काट्ने बित्तिकै पिम्रिङ गाउँ देखियो । पातला र ठूलाठूला थुप्रै ढुङ्गामा तिब्बती भाषामा लेखिएका (छाङगु) ऐतिहासिक अक्षर देखिन्थे। तर ती शब्द पढ्ने क्षमता हामीसँग थिएन।

आफ्नो पितृको सम्झना बनाइएका छोर्तेन लस्करै उभिएका थिए । पिम्रिङ गाउँमा ११ घर रहेछन् । मान्छे भने यार्सा टिप्न गएछन् । त्यो गाउँमा एक जना कर्मा गुरुङ मात्र भेटिए। कतिपय तिब्बतीयन नेपाल छिरेर गुरुङ र मगर बनेका रहेछन् । थर परिवर्तन उनीहरूको नागरिकता लिने अस्त्र बनेको थाहा भयो । उनी भर्खर यार्सा टिपेर आएका रहेछन् । गफ गर्दै जाँदा उनी गाउँ बस्नुको रहस्य खुल्यो । बेलायती संस्थाले बिजुलीको खम्बा गाडिदिने भएपछि उनी गाउँमै बसेका रहेछन् । उनी आफैं उपभोक्त समिति अध्यक्ष । गाउँमा बिजुली आउने खुसी भन्दा यार्सा टिप्न जान नपाएकोमा दुःखी देखिए । ‘यसपटक मैले ६ लाख रुपियाँ गुमाउनु पर्नेभयो’ उनले गुनासो गरे ।

फेरि यात्रा अगाडि बढायौँ । आँखै नझिम्क्याई हेर्न मन लाग्ने गुर्जा र धवलागिरि हिमाल हाँसिरहेका थिए । तिनलाई फोटोमा कैद रमाउँदै अघि बढ्यौँ। साँझ नपर्दै घोर्‍याङ गाउँ पुग्यौं। फेरि पनि गाँस र बासकै चिन्ता सुरु भयो । बासको खोजीमा नौ वटा घर डुल्यौं । सबैका ढोका बन्द थिए। वरिपरि आँखा डुलायौं । निकै तल उवाको बारीमा महिला काम गरिरहेकी थिइन् । गाइडले चिच्याएर बास पाइन्छ कि भनेर सोधे । बारेमै पुगेर बास पाउने पक्का गरे । बासको टुङ्गो लागेपछि मन शान्त भयो । डोल्पामा जतासुकै खाने भनेको आलु र भात नै रहेछ । सात दिनदेखि उस्तै खाना खाइरहेका थियौं । घरको छानामाथि तम्बु टाँगेर रात कटायौं।

बिहान उठ्दा आकाश कालो बादलले ढाकेको थियो। मौसमले साथ नदेला भन्ने चिन्ता बढ्यो । 5 बजे नै उठेर सेरी गाउँ तिर हिँड्यौं । बाटो तेर्सो र सहज थियो । दुई घण्टामा सेरी गाउँ पुगियो। डाँडाबाट हेर्दा एक घरको धुरीमा धुवाँ देखियो । गाइड त्यो घर तिर हानिए । बिहानै भए पनि भात खाने निर्णय । आज चाहिँ अलि बेग्दै स्वाद भेटिने भयो । च्याङ्ग्राको सुकुटी र भात । तर एक चोक्टा चाख्नेबित्तिकै झण्डै वान्ता भयो । भात मात्र खाएर ढाँडगाउँतर्फ लाग्यौं ।

दिन खुल्दै गयो । मुकोट हिमालका चुली चमचमाएका थिए । हिउँमा ठोक्किएको हावा हामीतिर स्पर्श गर्दै थियो। जति पाइला चाल्दै गयौं, उति नयाँ लोकमा प्रवेश गरेको भान हुन्थ्यो । उराठिएका, उजाडिएका, उदाङगिएका डाँडा हाम्रै पर्खाइमा बसेका थिए । घरिघरि हावाको मुस्लो बटारिएर हामीलाई भीरबाट खसाल्ला झैं गर्थ्यो । धुपीको हरियालीले आँखालाई बेक्लै शीतलता दिन्थ्यो ।

ताना खोला तरेर भीरैभीर छिरेपछि आश्चर्यलाग्दो भूगोलमा पुग्यौँ । डोल्पाको विशेषता भन्नु नै यही रहेछ । अपरान्ह ४ बजेतिर ढुकोट गाउँ पुग्न लाग्दा मुसलधारे पानी दर्कियो। दगुरेर स्वास्थ्य चौकीमा ओत लाग्यौं । एक जना डोल्पाका तर नेपालगन्ज बस्ने कर्मचारी रहेछन् । तातोपानी दिए । भर्चुअल दुनियाँबाट टाढा भएका हामीलाई वाइफाइको पासवर्ड दिएर संसारसँग जोडिदिए । हिमालको काखमा यो सेवा दिने स्वास्थ्यकर्मीलाई धन्यवाद दियौँ ।

गाउँ छेउमै जताततै गुम्बा । गुम्बामाथिका पहेंला धजा हावामा फरफराई रहेका थिए । जसलाई हेरेर मन शान्त हुन्थ्यो । थकित शरीरमा आनन्द र सन्तोष मिल्थ्यो । धार्मिक, सांस्कृतिक महत्त्व छुट्टै थियो । लाग्यो गुम्बाको दिव्यता भनेको यही त होला ।

करेन्ट चाउचाउको करेन्ट

मुसलधारे वर्षा रोकियो । हामी फेरि लम्कियौं। भ्रङाबुङ खोलाको भित्तामा टाँसिएर करिब एक घण्टा हिँड्दा पहाडको काखमा बसेको ढाँडगाउँ पुगियो । हामीलाई बासको चिन्ता थियो । गाउँमा चहलपहल थियो । भोलि पल्ट पितृ पूजाको कार्यक्रम रहेछ । यार्सा टिप्न गएका सबै गाउँले घरमा फर्किएका रहेछन् । गाउँका सबै मान्छे घरमै भएकाले भात र बासको चिन्ता भएन । थाकेको ज्यान तताउन रेवतीले करेन्ट चाउचाउ पकाउन अनुरोध गरे । भोकको झोकमा पिरो झोल स्वाट्टै निलियो । मध्यरातमा करेन्टको असरले पेटमा भुँइचालो नै गयो । पखाला लागेर रातभर सुत्न सकिएन । आधा निन्द्रामा उठेका साथीले पखालाको औषधि ठानेर लेक नलाग्ने औषधि दिएछन् । साथीको विश्वासमा आँखा चिम्लिएर औषधि खाँदा रातभर दुःख पाइयो ।

बिहान उठेर हिँड्ने तयारी सुरु भयो । तातोपानीमा सातु घोलेको ब्रेकफास्ट बन्यो । सातुको शक्तिले पेट भरेपछि यात्रा छार्का भोट गाउँतर्फ मोडियो। हिमालका तरुना अनुहारले आकर्षण बढाएको थियो । बिहानका कलिला घामले हिमाललाई चुम्मन गरेका दृश्यले लठ्याइरहेको थियो । पहाडका थुम्कामाथि बादल पुतली जस्तै नाच्दै गरेका दृश्यले मन चङ्गा हुन्थ्यो । भिरालो पाटनमा मस्तसँग चरिरहेका चौरी, भेडा, घोडा अनि खच्चड त्यहाँका थप आकर्षण थिए । प्राकृतिक छटाले भरिपूर्ण दृश्यले आँखा तेजिला बने। भारभुङ खोला कतै सेतो छालमा पोखिन्थ्यो । कतै हरियो भएर छरिन्थ्यो । कतै किनारमा सेताम्मै भएर तैरिन्थ्यो । खोलाको नित्यकला हेर्दै गन्तव्यतर्फ लम्किरह्यौं ।

बिहान १० बजेको थियो । ४२०० मिटरको उचाइमा रहेको नीसी पास पुगेपछि बाटो हल्का ओरालो भएर भारभुङ खोलाको किनारमा जोडियो । राजदुल हिमाल रेन्जबाट बग्दै आएको छाक्छु र भारभुङ खोलाको दोभानमा पुगेपछि चकमन्न ठाउँमा खोलाको आवाजसँग रमाउँदै लन्चको रुपमा सातु र चक्लेट खायौं ।

मौसम बिग्रँदै निलो आकाश छिनभरमै कालो भयो । सिमसिम पानी पर्न थाल्यो । सुन्दर राजदुल हिमाललाई पुरै कालो बादलले छोपिदियो । धोतरव गाउँ र छार्का भोट जाने दोबाटो पुग्दा ठूलो पानी दर्कियो । रेनकोट लगायौं । हावा बेगले चल्दै थियो । दायाँबायाँका दृश्य अन्धकार भए । दर्के पानीमा रेनकोट लगाएर हिँडेपछि हिमालका दृश्यमा अल्झिनु परेन ।फटाफट हिँडेका हामी साँझ ५ बजेतिर छार्का भोट गाउँ पुग्यौं ।

यो संसारकै उचाइमा रहेको मानव बस्ती हो । जाडोले मुटु काँप्दै थियो । हिमाली होटलमा झोला बिसाएर आगो तापेर ज्यान ततायौं। डोल्पाको ‘सेन्तेरेम’ उवाको जाँड तयार भयो । सितनको रुपमा आलु र भात खाएपछि बल्ल जाडो भाग्यो । थाकेको शरीरमा खानपानले ऊर्जा भरेपछि मस्त निदायौं ।

आँखा खोल्दा हिमालको काखमा पूर्वको चेपबाट रातो घामको डल्लो लुकामारी गर्दै थियो । त्यहाँबाट बिदा भएर मुलुङसुङना पास तिर लाग्यौं।

त्यहाँ राज्यका निकायको कुनै रोकटोक वा निगरानी छैन । बाइक पुरानो भएपछि भीरबाट फालेर नयाँ ल्याउने रहेछन् । पुरानो फालेपछि राजस्व नतिरी सस्तोमा नयाँ किन्ने चलन रहेछ ।

सामुन्द्रिक सतहदेखि ४३८० मिटर उचाइमा रहेको छार्का भोट गाउँबाट अझै माथि जानु थियो । उकालो हिँड्दै हिँड्दै ५२०० मिटरको उचाइमा पुगेपछि विशाल मुलुङसुङना पाटन क्षेत्र पुगियो ।

हाम्रो लक्ष्य अरनिको पास (५८०० मिटर) तरेर मुस्ताङको लोमान्थाङ निस्कने थियो । उच्च भेगमा बस्ने भोटेको आफ्नै परम्परा रहेछ । लामा पढाएर खेतीबाली लगाएपछि त्यो क्षेत्रमा हिँड्न प्रतिबन्ध लाग्ने रहेछ । मान्छे हिँडेमा अनिकाल लाग्छ भन्ने उनीहरूको विश्वास थियो। त्यो क्षेत्रमा पुगेर उनीहरूकै विश्वासलाई तोड्न सकिएन ।

त्यो बाटो जान वा हिँड्न नदिनुमा अरु मिथकसमेत रहेछन् । गर्मी चढेपछि यति निस्केर मान्छेलाई खान्छ भनिँदो रहेछ । जङ्गली घोडा र याकको डर पनि त्यत्तिकै हुन्छ रे ! यी सबै कुरा स्थानीयले बताएपछि हाम्रो लक्ष्य मोडियो । हामी तल्लो न्याउरला पासबाट भेरल पुग्यौं ।

घाम बिदाइको किरण छर्दै पश्चिमतिर भाग्दै थियो । भेरल पुग्दा साँझ पर्‍यो । दुईवटा ठूलाठूला सेतो तम्बुका होटल देखिए । एक तम्बुमा छिर्यौं। भित्र निकै फराकिलो रहेछ । बीचमा आगो बलिरहेको थियो । वरिपरि खच्चड ड्राइभर र भरियाले भरिभराउ थियो । होटलमा एकजना तिब्बती महिला र सोलुखुम्बुका पुरुष कुक रहेछन्। आलु र भात खाएर ‘स्लिपिङ ब्याग’मा गुटमुटियौँ । चिसो ठाउँमा खानपान नमिल्दा झाडापखालाले दुःख दिइराखेको थियो । मध्यरातमा फेरि सतायो।

टाउकोमा लाइट (हेड ल्याम्प) बाँधेर तम्बुबाहिर निस्किएँ । जूनको शीतल तापेर हिमाल मस्त सुतिरहेका थिए । हावा तुफानले चलिरहेको थियो । अँध्यारोमा डराई डराई पेट सफा गरेर फेरि तम्बुमा छिरेँ । त्यसपछि केही समय निन्द्रा लागेन । जीवनमा पहिलो पटक पाँच हजार मिटर उचाइमा सुतेको थिएँ । यो रात आफैँमा अमूल्य र आविस्मरणीय थियो। जीवन बिर्सेर, आँखा चिम्लिएर निन्द्रा देवीलाई आमन्त्रण गर्दै फेरि ढल्किएँ ।

बिहान खच्चडको घण्टीले ब्यूँझायो । सूर्यको किरणले पोतिएर धौलागिरिको चुचुरो सुनको गजुरमा परिणत भएको थियो। दायाँबायाँ जोङवेला पास, धम्पुस, वतासे हिमाल पनि चमचमाई रहेका थिए। गहुँको रोटी, चना, चिया खाएर भेरल र क्यालुमपा खोला पच्छ्याउँदै ओरालो झर्‍यौं ।

हिँड्दा हिँड्दा हामी थाकेका थियौँ । अचानक ट्याक्टर भेटेपछि झोलीतुम्बी खाँदेर चढ्यौँ । कच्ची भीरको बाटोमा धुलो र धुवाँले छोपियौं । दुई घण्टा ओरालो झरेपछि मुस्ताङको सांङटा गाउँमा पुगियो । ट्याक्टरले उफारेको र धुलोले छोपेको शरीरलाई तन्काएर र टकटक्याएर त्यही लन्च गर्यौ। अफरोड यात्राले थिलथिलो भएको ज्यानलाई आराम दिँदै कागबेनी जाने गाडीको प्रतिक्षामा बस्यौं । गाडी पाइएला कि नपाइएला भन्ने चिन्ता थियो । भाग्यवस बेनी नगरपालिकाका पूर्ववडाध्यक्ष रिम कटुवाल हाइलक्स गाडीमा आइपुगे । उनलाई हामीले कागबेनीसम्म लिफ्ट माग्यौ । उनले कागबेनी जोमसोम हुँदै बेनीसम्म ल्याइदिए । पूर्व जनप्रतिनिधि कटुवाल सहयोगी व्यक्ति रहेछन् । उनीसँग कृतज्ञ भयौं । लिफ्टले हामीलाई भोलिपल्ट बिहान पोखरा हुँदै काठमाडौँ फर्किन सहज भयो ।

धेरै अभाव र अप्ठ्यारामा खुसी र सन्तोष कसरी हुने भनेर सिक्न एकपल्ट डोल्पा पुग्नुपर्छ । संकट र दुःखमा पनि डोल्पालीका केही गुनासा सुनिएनन्। उनीहरू आफूसँग भएका कुरासँग सन्तुष्ट छन्। राज्यप्रति असन्तुष्टिको भाव कसैले हामीसँग पोखेनन् । शहरका मान्छेले जस्तो असन्तोषको सार‌‌ंगी कसैले रेटेनन् । आफ्नो जिम्मेवारीमा मस्त र व्यस्त उनीहरूमा त्यो फुर्सद देखिएन । डोल्पालीलाई प्रकृतिले प्राचीन सभ्यतामा बाँच्न सिकाएको छ ।

आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा

डोल्पालीको आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा हो । खाद्यान्नमा उवा र आलु नै प्रमुख बाली रहेछन् । यार्साको सिजन जेठ १० गतेदेखि असार २० सम्म डोल्पाली पाटनमा व्यस्त हुन्छन् । यार्सा संकलनका लागि प्रत्येक गाउँको आफ्नै निजी पाटन रहेछ । यार्सा टिप्न जानु अगाडि साइत निकालिन्छ । त्यसपछि लामालाई पूजापाठ गर्न लगाएर मात्र यार्सा टिप्न जाने चलन छ ।

यार्सा संकलनको आफ्नो इलाकामा अर्को गाउँका मान्छेलाई छिर्न नदिने रणनीति र कानुन स्थानीयले नै बनाएका छन् । विवाह गरेर अर्को गाउँमा गएकी छोरीलाईसमेत यार्सा टिप्न प्रतिबन्ध लाग्छ । कसैले यार्सा टिप्न चाहेमा गाउँलाई रोयल्टी बुझाउनुपर्ने प्रचलन छ । यसलाई हामीले राज्यको उपस्थितिबिना जनताको एकताले गाउँ मजबुत बनेको प्रमाणका रुपमा हेर्‍यौँ।

डोल्पामा किसानको सामूहिकताले चिनियाँ सांस्कृतिक क्रान्तिको झल्को दियो । चीनमा संस्कृतिक क्रान्तिको समयमा अभ्यास गरिएको शैलीमा त्यहाँ खेती गर्ने प्रचलन रहेछ। खेती लगाउने र उठाउने समयमा बैठक बसेर, लामा पढाएर एकसाथ खेतीपाती सुरु गर्ने र उठाउने गज्जबको चलन रहेछ । जंगली जनावरबाट खेती जोगाउने सामूहिक रुपमा विशाल ढुंगाको पर्खालले घेरेर सुरक्षित बनाइएका छन् । तरकारीमा आलु, सिमी र सागको उत्पादन प्रशस्त हुन्छ । यहाँको खाना भनेकै उवा र आलु हो ।

चिनियाँ मोटरसाइकल सरर

समग्र डोल्पा जिल्ला र गाउँ नेपालको नक्सामा छन् । भौगोलिक रूपमा यो नेपालकै ठूलो जिल्ला पनि हो । तर नेपालको नियम, कानुन भन्दा पर रहेर यो जिल्लाका नागरिकले आफ्नो शासन चलाएको देखियो। जहाँ चीनमा बनेका मोटरसाइकलहरू लाइसेन्स र नम्बर प्लेटबिना गुड्छन् । चालकलाई लाइसेन्स कुन चराको नाम हो र हेलमेट लगाउनु पर्छ भन्ने पनि थाहा हुँदैन समय-समयमा खुल्ने तिब्बतसँग जोडिएका नाका मरिम र क्याटो हुन् ।

यिनै नाका खुल्दा चीनबाट मोटरसाइकलसँगै आवश्यक उपकरण आयात गर्ने रहेछन् । त्यहाँ राज्यका निकायको कुनै रोकटोक वा निगरानी छैन । बाइक पुरानो भएपछि भीरबाट फालेर नयाँ ल्याउने रहेछन् । पुरानो फालेपछि राजस्व नतिरी सस्तोमा नाका खुलेको बेला किन्ने चलन रहेछ । माथिल्लो डोल्पामा टेलिफोन प्रदायक कम्पनीको नेटवर्क प्रभावकारी छैन । डोल्पाली चीनबाट आयात भएका रेडियो सेटमार्फत् ‘कन्ट्याक…कन्ट्याक..’ भन्दै संवाद गर्छन् ।

राजनीतिक चेतना

परम्परागत सामूहिकता देखिए पनि डोल्पालीमा राजनीतिक चेतना भने अझै विकास हुन सकेको छैन । चुनावमा भोट केमा हाल्नुभयो ? भन्दा ‘सूर्य’मा भन्छन् । डोल्पाबाट २०७९ सालको संघीय चुनावमा नेकपा (एकीकृत) समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् । विगतका चुनावमा एमालेबाट निर्वाचित उनी पार्टी विभाजन भएसँगै समाजवादीमा गएका हुन् । प्रदेशसभा अन्तर्गत (क)मा नेकपा (एमाले)का शेबहादुर बुढा र (ख)मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर शाही निर्वाचित भए ।

दुई नगरपालिका र ६ गाउँपालिका गरेर आठ वटा स्थानीय तह भएको डोल्पामा मिश्रित चुनावी परिणाम देखिन्छ । एमाले, माओवादी र समाजवादीले दुईदुई गरेर ६ पालिका प्रमुखमा बाजी मार्दा कांग्रेसले एक र स्वतन्त्रले एक पालिका जितेको देखिन्छ ।

चुनावको परिणाम जेसुकै भए पनि त्यहाँका स्थानीयले वर्णन गरेको चुनावको दिनको विवरण भने रोचक लाग्छ । चुनावी साक्षरताका लागि कहिल्यै निर्वाचन आयोगका प्रतिनिधि पुगेनन् । यत्तिसम्म कि मतदाताले मतदान केन्द्रमा मतदान र चुनाव चिन्ह्समेत देख्न पाएनन् । अधिकांश मतदान केन्द्रमा बुथ कब्जा गरेर ढिङ (लौरो) सहित बसेका युवाले गाउँलेलाई छिर्न दिँदैनन् । पार्टीका युवाले आफ्नो पहुँच भएको ठाउँमा मतदान केन्द्र कब्जा गरेर आफैं मत हाल्ने गरेको छार्काताङसोङ गाउँपालिका–५ पिमरिङ गाउँका कर्मा गुरुङसँगको संवादबाट थाहा भयो । चुनावमा बुथ नै कब्जा गरेर मतदान भएपछि मतदातालाई चुनाव चिन्हबारे के थाहा होला र ?

हिमाली जिल्ला डोल्पामा विशेष गरेर दुई भाषा बोलिदो रहेछ । काइके गाउँपालिका अन्तरगतमा पर्ने तल्लो डोल्पाका सहरतारा, ताराकोट, टुप्पा तार, गुम्बा र लाउन बगरमा काइके भाषा प्रचलनमा छ । यो कर्णाली प्रदेशका मगरले बोल्ने एक भाषा हो । यही भाषाबाटै गाउँपालिकाको नामसमेत राखिएको हो । उपल्लो डोल्पाका हिमाली गाउँ छार्काभोट, धोतरप, टिन्जेलगायत गाउँमा खाम भाषा बोलिन्छ । यसलाई स्थानीयले ‘टिविटेन’ भन्दा रहेछन् ।

जलवायु परिवर्तनको असर

१० दिन लामो पैदल यात्रामा जलवायु परिवर्तनको असर तीव्र देखियो । ५२00 मिटर उचाइमा हिँड्दा पनि हिउँ टेक्न पाएनौं। यस्तै हो भने अबको दशकपछि हिउँ नै लोप हुने चिन्ता लाग्यो ।

हिमालको सन्दर्भमा नेपाल जती धनी देश अर्को छैन। हामी हिमाल र नदीका कुवेर हौँ भन्दा गल्ती हुँदैन । हिमालले बंगालको खाडीबाट आएको बादल चिस्याएर पानी पार्छ । त्यो पानीले कृषि उत्पादनमा मद्दत गर्छ । यदि हिमाल नभएको भए हाम्रो देश मरुभूमि बन्थ्यो होला ! पानीको दाता हिमाल। हिउँले ढाकेका हिमाल नै हाम्रा पहिचान र गौरव हुन् । संसारको सर्वोच्च शिखर सगरमाथाले विश्वसामु हाम्रो शीर उचो राखेको छ ।

डोल्पा भ्रमण सजिलो छैन । ठूलो साहस चाहिन्छ । सङ्घर्षसँग मितेरी गाँस्न तयार हुनुपर्छ । यो जोखिमपूर्ण भूगोलमा हिँड्न जति पीडा छ उत्ति नै आनन्द मिल्छ । यात्रा गर्न जाने अविश्मरणीय हुन्छ। हरेक सौन्दर्यले पूर्ण छ डोल्पा । त्यसलाई स्पर्श गरेपछि लाग्छ नेपालमा यो बाहेक देखाउने ठाउँ कुन होला र ?

सप्ताहान्त
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?