Comments Add Comment

केन्द्रीय नेतृत्वकै निर्देशनमा फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला

३ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् ।

फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले केन्द्रीय नेतृत्वको निर्देशनमै फ्लोर क्रस गरेको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।

‘केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं’ उनले भने, ‘पार्टीले जे कारबाही गरे पनि हामीलाई आपत्ति छैन, यस्तो बेला कारबाहीको पनि के अर्थ भयो र ?’

सांसद ज्वालाले पार्टी कब्जा गर्ने र एकलौटी गर्ने प्रवृत्ति पराजित हुनुपर्छ भन्ने सन्देश दिन फ्लोर क्रस गरिएको पनि बताए । ‘पार्टीलाई एकताबद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन यो टुंगोमा आइपुगेका हौं । पार्टीभित्र सबैको योगदान छ, सबैको सम्मान हुनुपर्छ’, उनले भने ।

पार्टी एकतावद्ध नबनाएसम्म यस्तो समस्या अरु ठाउँमा पनि देखिने बताए । ‘एमालेभित्र जुन प्रवृत्ति हुर्किरहेको छ । त्यसैको परिणाम हो यो’, उनले भने ।

सांसद ज्वालाले अगाडि भने, ‘अदालतको फैसलापछि यो पार्टीलाई सुदृढ गर्न चाहन्थ्यौं । त्यसका लागि अनेकौं प्रयत्न गरियो । तर, जुन ढंगले बेवास्ता र कारवाही गरियो । अनेक किसिमले जबर्जस्त कब्जा र एकलौटी चलाउने काम भए ।’

स्थिर सरकारका लागि फ्लोर क्रस गरेँ : एमाले सांसद बुढा

पार्टीको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेका नेकपा एमालेका सांसद नन्दसिंह बुढाले स्थिर सरकारका लागि ‘फ्लोर क्रस’ गरेको प्रतिक्रिया दिएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले केन्द्रीय नेताको निर्देशन र स्थिर सरकारका लागि सरकारको पक्षमा मतदान गरेको बताए । ‘प्रदेशमा स्थिर सरकार र केन्द्रीय नेताको निर्देशनअनुसार सरकारको पक्षमा मतदान गरे, दलले कारबाही गरेपनि भोग्न तयार छु’, बुढाले भने ।

शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै पक्षमा मतदान गरेका थिए ।

नेकपा एमाले संसदीय दलले भने शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment