Comments Add Comment

म्यानमारमा हिंसा रोक्न आसियान नेताहरुको माग

१२ वैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् ।

आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द गर्नुपर्ने धारणा राखेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
बैठकमा सहभागी नेताहरुले म्यानमार शासकले तत्काल सम्बन्धित पक्षसँग वार्ता गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

आसियानका नेताहरुको बैठकबारे म्यानमारको सैन्य शासकको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

म्यानमारको सेनाले गत फेब्रुअरी १ तारिखमा शीर्ष नेताहरुलाई गिरफ्तार गरेर सत्ता हत्याएको थियो । सैनिक कू भएयता भएको विरोध प्रदर्शनमा प्रहरी र सैनिकको गोली प्रहारबाट ७ सय बढीको मृत्यु भइसकेको बताइन्छ । हजारौं जना विस्थापित भएर छिमेकी देश थाइल्याण्डमा शरण लिएका छन् ।

आसियानका १० सदस्य राष्ट्रहरुमध्ये म्यानमार पनि एक हो । आसियानमा ब्रुनाई, कम्बोडिया, लाओस, इन्डोनेसिया, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिलिपिन्स र भियतनाम छन् ।

सैनिक कूपछि पहिलो विदेश भ्रमणको क्रममा म्यानमारका सिनियर जनरल मिन आङ्ग हलाइङग जाकार्ता पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment