Comments Add Comment

प्रकाशलाई प्रश्न–‘के अझै यो देश मेरो पनि होइन र भन्नुपर्ने अवस्था छ ?’

गायक प्रकाश सपूतले सार्वजनिक गर्ने श्रृजनाले छुट्टै किसिमको चर्चा पाउँछन् । दर्शकका फरक खालको छाप छाड्न सफल श्रृजना ल्याउन माहिर मानिएका सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरिलै’, ‘फुटेका चुरा’ लगायतका गीतले छुट्टै चर्चा पाए ।

अहिले फेरि प्रकाशको नयाँ गीतले उस्तै चर्चा पाइरहेको छ, ‘मेरो पनि होइन र यो देश ?’ । शुक्रबार सार्वजनिक भएको गीतले दुई दिनमा युट्युबमा १० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङको शिर्ष स्थानमा आफूलाई राखेको छ । गीतमा शब्द, संगीत र स्वर प्रकाशको छ । उनले देशको सांस्कृतिक विविधता र विविधताभित्रको दुःख र वेदनाहरुलाई गीतमार्फत प्रस्तुत गर्न खोजेका छन् । गीतले राष्ट्रिय एकताको भावना बोल्छ । गीतमा हिमाल, पहाड, तराईको सांस्कृतिक पहिचान झल्काउने संगीत, नृत्य तथा लवजलाई प्रस्तुत गरेका छन् । नेपाली नागरिक हुनुमा गौरवसँगै गुनासो पनि भएका नागरिकहरुको कथा गीतमा पोखिएको छ ।

गायक सपुत एउटा राष्ट्रिय भावनाको गीत गर्ने चाहानाअनुरुप ‘मेरो पनि होइन र यो देश ?’ बनेको बताउँछन् । उनलाई राष्ट्रिय भावनालाई जोडेर गीत ल्याउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । गीतको एकलाइन केही वर्ष पहिले नै नोटबुकमा लेखेका थिए । तर, राष्ट्रिय भावनाको गीतमा पनि कुन–कुन विषयलाई समेट्ने भनेर तयारी गर्न धेरै समय लाग्यो । ‘भेग अनुसारको कथा, लवजलाई गीतमा उठान गर्ने सोच आयो । भेगलाई लिएपछि त्यहाँको संगीतलाई पनि समेट्ने सोच आएको प्रकाश बताउँछन् ।

उनी भन्छन्,– ‘हिमाल, पहाड, तराई सबैतिरको संगीत समेट्ने सोच बन्यो ।’ प्रकाश पछिल्लो चार महिनादेखि यही गीतको तयारीमा लागिरहेका थिए । सोही अनुसार हिमाल, पहाड, तराईको सांस्कृतिक विविधता, भोगाइ र समस्यालाई गीतमा उठाए । गीतको अडियो तयार हुनै दुई महिना बढी समय लागेको प्रकाश बताउँछन् । उनले भिडियो निर्माण गर्ने जिम्मा भाई देबेन्द्र बब्लु र उनको टिमलाई दिएका थिए । गीतको भावअनुसार पात्र छनोट गरे । भिडियोमा धेरै दर्शक देखाउनुपर्ने थियो ।

कोरोना कहरको प्रभाव सामान्य भएको अवस्थामा भिडियोको छायांकन गरे । समूह, विद्यालय लगायतलाई उपस्थितिका लागि आग्रह गरेर राष्ट्रिय नाँचघरमा भिडियोको छायांकन भयो । भिडियोमा प्रकाशकै साथमा भोलाराज सापकोटा, रामभजन कमात, कुलदिप अधिकारी, रविन तामाङ्ग लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै अमर न्यौपाने, सरिता लामिछाने, राजु परियार, ऋषि धमला र देबेन्द्र बब्लुलाई पनि भिडियोमा देख्न सकिन्छ । प्रकाश गीतले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउनेमा आशावादी थिए । तर, यो अनुसारको प्रतिक्रियाको अपेक्षा भने नरहेको उनले बताए ।

उनले अनलाइनखबरसँग भने–‘यसलाई कमर्शियल रुपमा सोचेर बनाएको भने होइन । राष्ट्रिय भावना बोकेको हुनाले राम्रै प्रतिक्रिया आउनेमा अशावादी थिएँ । तर गीतले यसरी राम्रो भ्यूज पाउला भन्ने लागेको थिएनँ ।’ प्रकाश स्वयंमले भिडियोको निर्देशन गरेका हुन् । नवराज उप्रेती र रविन्द्र न्यौपानेको छायांकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

के अझै ‘यो देश मेरो होइन र ?’ भन्नु पर्ने अवस्था छ
गायक प्रकाश सपुत देशमा सत्ता संचालनको तरिका फरक भएपनि, व्यवस्था परिवर्तन भएपनि धेरै मानिसले अझै यो देश मेरो पनि होइन र भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको बताउँछन् । उनले अनलाइनखबरसँग भने–‘केही मानिसहरुका लागि यो देश स्वर्ग छ । उनीहरुले जे गर्दा पनि सहजै गर्न सक्छन् । तर, हामीले भिडियोमा देखाएका वर्गहरुका लागि यो देश अझै देश बनेको छैन । हरेक समय अप्ठ्यारो भोगाइमा उनीहरु बाँचेका छन् । यसैले, आजको दिनमा पनि यो प्रश्न गर्न वाध्य हुनुपरेको छ ।’

प्रकाश गीतले दर्शक तथा श्रोताबाट पाएको प्रतिक्रियाबाट एक सर्जकको नाताले खुशी छन् । तर, एक नागरिकको हिसाबले भने यस्ता गीत बनाउँदा हिनतावोध हुने गरेको उनले बताए । भने–‘बोल माया, बदला बरिलैदेखि यो देश मेरो पनि होइन र बनाउँदा मलाई सर्जकको हिसाबले केही फरक गरेँ हैं भनेर खुशी त लागेको छ । योसँगै हिनातावोध पनि हुन्छ । कहिलेसम्म हामीले यस्ता कथा भनिरहनुपर्ने हो भन्ने लाग्छ । यस्ता कथा भन्नै नपरे हुन्थ्यो नी भन्ने लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment