Comments Add Comment

सांग्रिलाको खुद नाफा ५६.६६ प्रतिशतले बढ्यो

१५ वैशाख, काठमाडौं । कोभिड १९ को कहरका बीच सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म खुद नाफातर्फ उत्साहजनक वृद्धि गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा खुद नाफातर्फ ५६.६६ प्रतिशतको बढोत्तरी गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सांग्रिलाको खुद नाफा २२ करोड ४४ लाख रुपैयाँमा सीमित रहेकोमा सो बढेर यो वर्ष ३५ करोड १६ लाख रुपैयाँ पुगेको हो ।

समीक्षा अवधिका लागि सांग्रिलाको वितरणयोग्य मुनाफा २४ करोड २८ लाखभन्दा बढी रहेको बैंकले जनाएको छ । सञ्चालन मुनाफातर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३२ करोड ३१ लाख रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ४७ करोड माथि पुगेको बैंकको भनाइ छ ।

कोभिड प्रभावकै बीच पनि बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८२ करोड १३ लाख रहेको खुद ब्याज आम्दानी केही बढी यो वर्ष ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले रिटेन अर्निङतर्फ १५३.७३ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १५ करोड ३४ लाखमा सीमित भएकोमा यो वर्ष बढेर ३८ करोड ९४ लाख माथि पुगेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनतर्फ पनि उल्लेख्य प्रगति गरेको देखिएको छ ।

बैंकले यो अवधिमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २९ अर्ब २५ करोड निक्षेप संकलन गरी २३ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा बैंकले निक्षेप करिब ४३.४० प्रतिशतले र कर्जा करिब ४७ प्रतिशतले बढाएको बैंकले जनाएको छ ।

खुद नाफा उत्साहजनक ढंगले बढाएको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा ईपीएस ५६.७० प्रतिशतले बढेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment