Comments Add Comment

सुनसरीमा संक्रमितको शव जलाउन अवरोध, विराटनगर ल्याएर अन्त्येष्टि

Photo Credit : रोहित कुलुङ राई
शनिबार राति खत्रीधारा घाट नजिकै स्थानीयले गरेको अवरोध

२८ वैशाख, विराटनगर । धरान उपमहानगरपालिका–३ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।

मंगलबार अस्पताल प्रशासनले शव बुझ्न बोलायो । आफन्त र स्थानीय जनप्रतिनिधि अन्त्येष्टिका लागि घाट खोज्न थाले । तर विडम्बना धरानका घाटले शव जलाउन अनुमति दिएनन् ।

धरानमा दुईवटा शव दाहसंस्कार स्थल छन् । खत्री धारा घाट र बौद्ध दाहसंस्कार स्थलले नदिएपछि उनीहरुले चतरा र इटहरीमा सम्पर्क गरे । कोरोना संक्रमितको शव भनेपछि चतरा र इटहरीले धरानमै दाहसंस्कार गर्नु भनेको उनीहरुले बताए । बिहानभर खोज्दा सुनसरीमा घाट नपाएपछि मंगलबार दिउँसो विराटनगर ल्याएर उनको अन्त्येष्टि गरिएको छ ।

सोमबार राति मृत्यु भएका व्यक्तिको मंगलबार दिउँसो विराटनगरको परोपकार घाटमा अन्त्यष्टि गरिएको धरान उपमहानगरपालिका–३ का वडा सदस्य विकास बनेपालीले बताए । ‘अस्पतालमा शव राखेर घाट खोज्यौं, सुनसरीमा नपाइएपछि विराटनगर लगियो,’ उनले भने, ‘यहाँ त मानवता नै हरायो ।’

बनेपालीले धरान र चतराको घाटमा शव अन्त्येष्टिका लागि ठाउँ दिन आग्रह गरेका थिए । तर तीनवटै घाट व्यवस्थापन समितिले अनुमति नदिएको उनले बताए । ‘धरान र चतराको अनुमति नदिएपछि साथीहरुले इटहरीमा सम्पर्क गर्नुभयो,’ उनले भने, ‘कोरोना संक्रमितको शव भनेपछि धरानमै अन्त्येष्टि गर्नु भन्ने जवाफ दिएपछि विराटनगर लगेर आफन्तले दागबत्ती दिनुभयो ।’

शनिबार राति धरानको खत्रीधारा घाट नजिकै स्थानीयले गरेको अवरोध (तस्वीर सौजन्य : रोहित कुलुङ राई)

धरानमा शव जलाउन नदिएको यो पहिलो घटना भने होइन । शनिबार राति सेउती खोला किनारमा रहेको खत्रीधारा घाटमा लैजाँदै गरेको शव स्थानीयले बाटोबाटै फर्काइदिएका थिए ।

धरान–१६ का ४१ वर्षीय पुरुषको शव जलाउन नदिएपछि आफन्तले शनिबार राति जंगलमा गाडेर अन्त्येष्टि गरे । धरानकै बौद्ध दाहसंस्कार स्थलले पनि संक्रमितको शव जलाउन दिएको छैन ।

‘हिजो सेनाले शव व्यवस्थापन गर्दा जंगलमा लगेर गाड्दा समस्या थिएन्,’ वडा सदस्य बनेपालीले भने, ‘आफ्नो संस्कार अनुसार जलाउन खोज्दा धरानमा अवरोध भयो ।’ समाजमा कोरोना भाइरस सम्बन्धी जनचेतना हुँदाहुँदै पनि अवरोध गर्नु दुःखद् भएको उनले गुनासो गरे ।

खत्रीधारा दाहसंस्कार स्थानीय झिँगु समाजले रेखदेख गर्दै आएको छ । समाजका अध्यक्ष सुरेन्द्र स्थापितले स्थानीयले विरोध गरेका कारण संस्थाले अनुमति नदिएको बताए । कोरोना संक्रमण फैलिने डरले स्थानीयले जलाउनका लागि रोकेको उनले बताए । ‘घाट छेउमा निराजन बस्ती छ, जलाउँदा कोरोना फैलने त्रास छ,’ उनले भने, ‘संस्थाले अवरोध गरेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment