Comments Add Comment

नेपाल-कोरिया मैत्री अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन थाल्दै

३१ वैशाख, काठमाडौं । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री अस्पतालले शुक्रबारदेखि आफैं अक्सिजन उत्पादन सुरु गर्दै छ । ६५ लाख रुपैयाँ खर्च गरेर जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन थालेपछि त्यसको औपचारिक शुभारम्भ गर्न लागिएको हो ।

मध्यपुरठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले शुक्रबार बिहान ११ बजे अक्सिजन प्लान्टको उदघाटन गर्न लागिएको बताए । कोरोना संक्रमणको महामारीमा बिरामीको चाप बढेसँगै अक्सिजन सिलिण्डरले नधान्ने अवस्था आएपछि एयर बेस अक्सिजन पलान्ट जडान गरिएको श्रेष्ठको भनाइ छ ।

अस्पतालमा अत्याधुनिक प्रविधिको अक्सिजन प्लान्ट जडान गरिएको र यसले पहिलो चरणमा दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन गर्ने उनले बताए । उनले भने, ‘तत्काललाई ३० सिलिण्डर उत्पादन गरे पनि केही प्रविधिहरु जोडेपछि यसबाट दैनिक ९० सिलिण्डरसम्म उत्पादन गर्न सकिन्छ ।’

अक्सिजन उत्पादनका लागि प्राविधिक हिसावले सबै तयारी सकिएको बताउँदै उनले भने, ‘कुनै भवितव्य भएन भने आजबाट दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादन सुरु हुन्छ ।’

इमरजेन्सी कक्ष, कोभिड आईसीयु र भेन्टिलेटरमा भएका विरामीसम्म पाइपबाट सीधै अक्सीजन पुर्याउने व्यवस्था मिलाइएको छ । पाइप जडान नभइसकेका स्थानमा भने तत्कालका लागि सिलिण्डरबाटै काम चलाउनुपर्ने नगरपालिका प्रमुख श्रेष्ठले बताए ।

अझै पुग्दैन अक्सिजन: मेयर श्रेष्ठ

दैनिक ३० सिलिण्डर अक्सिजन उत्पादनले अस्पताललाई नपुगे पनि केही राहत भने मिल्ने उनले बताए । ‘हामीले हामै्र पलान्टबाट पूर्णरुपमा अक्सिजन उत्पादन गर्न थाल्यौं भने मात्र हामी हाम्रो अस्पताललाई आत्मनिर्भर बनाउन सक्छौं,’ नगर प्रमुख श्रेष्ठले भने । अहिले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालका ९ वटा आइसियू र ७ वटा भेन्टिलेटर गम्भीर प्रकृतिका विरामीले भरिएका छन् ।

मध्यपुरठिमी नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शैयाको आइसोलेसन केन्द्र सञ्चालनमा छ । हाल आइसोलेशनमा ४० जना बिरामी छन् । आइसोलेशनमा आउने विरामी थपिने दर हेर्ने हो भनै एक–दुई दिनमै आइसोलसन भरिभराउ हुने उनले बताए ।

भक्तपुरका चार नगरपालिकामध्ये मध्यपुरठिमी, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याइसकेका छन् । सूर्यविनायक नगरपालिकाले आइसोलसन केन्द्र सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको जनाएको छ ।

भक्तपुर नगरपालिकाले ब्रम्हायणीमा ५० बेडको आइसोलेसन र २५ बेडको एचडियू सञ्चालनमा ल्याएको छ । गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पठाउने र अक्सिजन सपोर्ट मात्र चाहिने बिरामीलाई आइसोलसन केन्द्रमै उपचार गर्ने नीति नगरपालिकाले लिएको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा १०० शैयाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सूर्यविनायक नगरपालिकाले जगातीमा नगर अस्पताल निर्माणको अन्तिम तयारी गरिरहेको छ । निर्माणाधीन नगर अस्पताल ५० बेडको हुने सूर्यविनायक नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष किरण थापाले जानकारी दिए । थापाका अनुसार नगर अस्पताल १५ दिन भित्र तयारी भइ सञ्चालनमा ल्याउने लक्ष्य छ ।

यो पनि पढ्नुहोस ‘अक्सिजन माग्दै सीसीएमसीदेखि मन्त्रालयसम्म हारगुहार गर्नुपर्‍यो’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment