Comments Add Comment

कुन अस्पताललाई कति सिलिण्डरको कोटा ? (सूचीसहित)

१११ अस्पताललाई दैनिक ७ हजार ४७३ सिलिण्डर अक्सिजन

३१ वैशाख,काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले काठमाडौं उपत्यका र काभ्रेका कोभिड अस्पताल एवं आइसोलेसन केन्द्रका लागि दैनिक अक्सिजनको कोटा निर्धारण गरेको छ । बुधबारबाट लागू भएको उक्त कोटाअनुसार उपत्यकाका ८ वटा अक्सिजन उद्योगले १११ अस्पताल तथा आइसोलेसन सेन्टरका लागि ७ हजार ४७३ वटा ठूलो सिलिण्डर अक्सिजन आपूर्ति गर्नुपर्नेछ ।

अस्पताल तथा आइसोलेसन सेन्टरबाट सीसीएमसीलाई प्राप्त मागका आधारमा ती उद्योगहरुलाई दैनिक न्यूनतम कोटा तोकिएको र उक्त परिमाणको अक्सिजन जसरी पनि आपूर्ति हुनुपर्ने सीसीएमसीको सचिवालयले जनाएको छ । केन्द्रले निर्धारण गरेको कोटाअनुसारको अक्सिजन उपलब्ध गराउनुपर्ने र नसक्ने अवस्था रहे तत्कालै केन्द्रलाई जानकारी गराउन उद्योगहरुलाई सीसीएमसीले गरेको परिपत्रमा भनिएको छ । सीसीएमसीले तोकेको कोटाअनुसार अस्पताल तथा आइसोलेसन सेन्टरलाई न्यूनतम १० देखि बढीमा ३०० वटा सिलिण्डर दैनिक रुपमा उपलब्ध गराइएको छ ।

पाँच अस्पताललाई दैनिक ३०० सिलिण्डर

अस्पतालहरुको मागका आधारमा सीसीएमसीले पाँच वटा अस्पताललाई दैनिक ३०० वटा ठूलो सिलिण्डर अक्सिजन उपलब्ध गराउन अक्सिजन उद्योगहरुको कोटा तोकेको छ । जसअनुसार ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सगरमाथा अक्सिन प्रालि पाटनले कोटाको अक्सिजन उपलब्ध गराउनुपर्नेछ ।

हाम्रो अक्सिजन प्रालि ककनीले शसस्त्र प्रहरी अस्पताल बलम्बुलाई दैनिक ३०० वटा सिलिण्डर आपूर्तिको गर्नेछ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयलाई नवज्योति अक्सिजन प्रालि बनेपाले कोटोको अक्सिजन आपूर्ति गर्नुपर्नेछ । यस्तै ललितपुरको निजी अस्पताल मेडिसिटीलाई सोपान अक्सिजन लुभुले दैनिक ३०० सिलिण्डर अक्सिजन आपूर्ति गर्ने कोटा तोकिएको छ।

९ अस्पताललाई २०० देखि २५० सिलिण्डर अक्सिजन

सीसीएमसीका अनुसार उपत्यकाका तीन वटा अस्पताललाई दैनिक २५० वटा ठूलो सिलिण्डर उपलब्ध गराउन अक्सिजन उद्योगहरुलाई कोटा तोकिएको छ । नेपाल ग्रिन सिटी अस्पताल धापासी, नेपाल मेडिकल कलेज अस्पताल अत्तरखेल र काठमाडौं मेडिकल कलेज सिनामंगललाई सो परिमाणमा अक्सिजन उपलब्ध गराइनेछ । यस्तै वीर अस्पताल, ट्रमा सेन्टर, ह्याम्स, नेपाल प्रहरी अस्पताल, नर्भिक अस्पताल र स्टार अस्पताललाई दैनिक २०० वटा ठूलो सिलिण्डर अक्सिजन उपलब्ध गराउन सीसीएमसीले उद्योगहरुलाई भनिएको छ ।

उत्पादन क्षमताअनुसार अस्पतालको कोटा

सीसीएमसीले अक्सिजन उद्योगको उत्पादन क्षमता र उद्योगको अवस्थितिको आधारमा अस्पतालहरुको संख्या र अक्सिजन कोटा निर्धारण गरेको जनाएको छ । हाम्रो अक्सिजन उद्योग ककनीलाई सात वटा अस्पतालाई अक्सिजन उपलब्ध गराउन भनिएको छ भने हिमाल अक्सिजनले १२ वटा अस्पताललाई अक्सिजन उपलब्ध गराउनेछ ।

कान्तिपुर अक्सिजन हरिसिद्धिलाई १९ वटा अस्पतालमा अक्सिजन आपूर्तिका लागि कोटा तोकिएको छ भने ११ वटा अस्पताललाई नवज्योति अक्सिजन उद्योग बनेपाले अक्सिजन आपूर्ति गर्नुपर्नेछ । ११ अस्पताललाई अक्सिजन उपलब्ध गराउन सगरमाथा अक्सिजनलाई कोटा तोकिएको छ भने २२ अस्पताललाई शंकर अक्सिजन उद्योग बालाजुले अक्सिजन सप्लाई गर्नुपर्नेछ। यस्तै चाल्नाखेलमा रहेको सीता अक्सिजन प्रडक्टले १९ अस्पताल र सोपन अक्सिजन उद्योगले ९ वटा अस्पताललाई अक्सिजन आपूर्ति गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment