+
+
Shares

नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते १९:५८

११ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जेठ ९ गते सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश राष्ट्रघाती रहेको दावी गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उक्त अध्यादेश खारेज गर्न माग गरिएको छ ।

राष्ट्रिय जनमोर्चाले अध्यादेशको दफा ३ को उपदफा ४ र ५ मा रहेको व्यवस्था राष्ट्रघाती भएको बताएको छ । दफा ३ को उपदफा (४) मा जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने तथा उपदफा (५) मा बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । जन्मको आधारमा लाखौँ गैरनेपालीले नागरिकता लिन सफल भएकाले अहिले उनीहरुको सन्तानलाई वंशजको आधारमा नागरिकता दिन नहुने अध्यक्ष केसीले दावी गरेका छन् ।

‘…अध्यादेश खारेज नगरिएमा आप्रवासीहरुको जनसंख्याले नेपालको वास्तविक जनसंख्यालाई अतिक्रमण गर्ने छ । वास्तविक नेपालीहरु आफ्नो मुलुकभित्रै अल्पमतमा पर्ने खतरा पैदा हुने छ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता पाउँदा मुख्यतया भारतीयक सन्तानले वंशजको आधारमा नागरिकता पाउने बाटो खुल्ने राष्ट्रिय जनमोर्चाको दावी छ ।

‘हाम्रो सामाजिक तथा आर्थिक अवस्थाका कारण बाबुको पहिचान हुन नसक्ने कतिपय विशिष्टतालाई सम्बोधन गर्नका लागि स्थानीय प्रशासन वा न्यायिक निकायले तत् सम्बन्धमा हेर्ने गरी क्षेत्राधिकार दिएर बेग्लै व्यवस्था गर्न सकिन्थ्यो र सकिन्छ’ केसीले विज्ञप्तिमा भनेका छन् ।

तर बाबुको पहिचान हुन नसकेको विषयलाई आम नियम बनाउनु घातक हुने भन्दै केसीले बाबुको पहिचान हुन नसकेको स्वघोषणाको आधारमा वंशजको नागरिकता दिनाले गैर नेपालीका सन्तानले नेपालको वंशजको नागरिकता पाउने बाटो खुल्ने दावी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेको राष्ट्रिय जनमोर्चाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?