Comments Add Comment

चेल्सी फर्कने ओस्कारको चाहना

१५ जेठ, काठमाडौं । ब्राजिलियन मिडफिल्डर ओस्कारले इंग्लिस क्लब चेल्सी फर्कने चाहना व्यक्त गरेका छन् । हाल चीनमा व्यावसायिक फुटबल खेल्दै आएका ओस्कारले लण्डन क्लब फर्कने इच्छा देखाएको गोल डट कमले जनाएको छ ।

२९ वर्षीय मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग क्लब संघाई पोर्टबाट खेलिरहेका छन् । ओस्कारको सम्झौता चिनियाँ क्लबसँग २०२४ सम्म रहेको छ र यो सम्झौता सकिएपछि चेल्सी फर्कनेबारे विचार गर्ने उनले बताए ।

ओस्कारले अहिलेकै खेललाई निरन्तरता दिँदै जाने र यसले चेल्सी फर्कने ढोका खुल्लै हुने आशा व्यक्त गरे । उनले चेल्सीसँग आफ्नो सम्बन्ध राम्रो रहेको र क्लबप्रति माया रहेको बताए । चिनियाँ क्लबसँगको सम्झौता सकिएपछि आफ्नो हृदयले चेल्सी चाहेको उनले बताए ।

सन् २०१२ मा चेल्सी पुगेका ओस्कार लण्डन क्लबमा साढे चार वर्ष बिताएर सन् २०१७ मा चिनियाँ क्लब गएका थिए । चेल्सीबाट उनले दुई प्रिमियर लिग र युरोपा लिग जितेका थिए ।

उनले यसअघि पनि चेल्सीमै आफ्नो करियर अन्त्य गर्न चाहेको बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment