Comments Add Comment

एमाले सुदूरपश्चिमका ६ मन्त्रीले बुझाएनन् स्पष्टीकरण

१७ जेठ, धनगढी । नेकपा एमालेबाट शुक्रबार नियुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका ६ जना मन्त्रीले स्पष्टीकरण बुझाएका छैनन् ।

पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारको मन्त्री मण्डलमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण मागेको थियो ।

तर उनीहरु ६ जनाले नै स्पष्टीकरण पेश नगरेको एमाले सुदूरपश्चिम प्रदेश कमिटिले जनाएको छ । ‘उहाँहरुले अहिलेसम्म स्पष्टीकरण बुझाउनुभएको छैन,’ एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले अनलाइनखबरसँग भने, ‘अब उहाँहरुमाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही हुन्छ । त्यो प्रक्रिया अगाडि बढिसकेको छ ।’

गत सोमबार एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

शुक्रबार मात्र एमालेले सरकारमा रहेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर ७ जना मन्त्री थपेको थियो । आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह दोहोरिँदा भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशी र सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्कालाई मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका थिए ।

यस्तै एमालेकै चुनकुमारी चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, मनाकुमारी साउदलाई सामाजिक विकास राज्यमन्त्री र अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

यसअघि नै कारबाहीका लागि सिफारिसमा परेका आर्थिक योजनामन्त्री शाह बाहेकका ६ जना मन्त्रीसँग एमालेले स्पष्टीकरण मागेको थियो । पार्टीको सचेतकमा नियुक्त गरिएकी दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण नबुझाएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment