News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले कच्चा दूधको मूल्य प्रतिलिटर कम्तीमा ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेको छ ।
- माग सम्बोधन नभए निकट भविष्यमै सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी संघले दिएको छ ।
- संघका अनुसार चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ, जसको ५५ प्रतिशत काठमाडौंसहितका जिल्लामा आपूर्ति हुन्छ ।
३० कात्तिक, काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले कच्चा दूधको मूल्य प्रतिलिटर न्यूनतम ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै उत्पादन लागत अनुसार किसानले दूधको उचित मूल्य नपाएको भन्दै माग सम्बोधन नभए निकट भविष्यमै सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ ।
राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा प्रत्येक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि अहिलेसम्म यस विषयमा आवश्यक छलफल र निर्णय हुन नसकेको संघको भनाइ छ ।
कृषि मन्त्रालय लगायत सम्बन्धित निकायमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा समेत सरकारका तर्फबाट कुनै ठोस पहल नभएको संघले जनाएको छ ।
विश्वव्यापी महँगीसँगै स्वदेशमा पशु आहार, खाद्यान्न, स्वास्थ्य, शिक्षा र विभिन्न सेवा शुल्कमा भइरहेको निरन्तर मूल्यवृद्धिले दुग्ध किसान गम्भीर आर्थिक मारमा परेको विज्ञप्तिमा छ ।
सरकारले कर्मचारीको तलब वृद्धि र कर प्रणालीमा समेत परिमार्जन गर्दा किसानले उत्पादन गरेको दूधको मूल्य भने सोही अनुसार समायोजन नगरेकोप्रति संघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
चितवनबाट उत्पादित दूधले मुलुकका प्रमुख सहरको आपूर्ति धानिरहेको तथ्यसमेत संघले अघि सारेको छ । जिल्लाको दूध उत्पादन, सहकारी र दैनिक कारोबार तथ्यांक आधारमा २९ जेठ २०७६ मा ‘दूधमा आत्मनिर्भर जिल्ला’ घोषित चितवनमा हाल दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।
जिल्लाको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उक्त उत्पादनमध्ये ५५ प्रतिशत दूध काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुर लगायत जिल्लामा बिक्री तथा आपूर्ति हुने गरेको संघले जनाएको छ ।
दुग्ध किसानका समस्या समयमै सम्बोधन गरी कच्चा दूधको उचित मूल्य वृद्धि गर्न तथा दुग्ध उत्पादन व्यवसाय संरक्षण गर्न संघले सरकार र सम्पूर्ण सरोकारवाला निकायसँग अपिल गरेको छ ।
प्रतिक्रिया 4