+
+
Shares

क्रिमिया पुलमा युक्रेनका १,३३६ ड्रोन प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिन १ हजार ३३६ ड्रोन प्रहार गरेको र रुसले यातायात आवागमनमा प्रतिबन्ध लगाएको छ।
  • रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिन प्रक्षेपण गरिएका ड्रोनमध्ये यो दोस्रो ठूलो संख्या हो, र राजधानीतर्फ आएका करिब ६०० ड्रोन रोकिएको मस्कोका मेयरले बताएका छन्।
  • चीनले नोभेम्बर १९ मा शेन्जेनमा सी जिनपिङले डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनसँग वार्ता गर्ने पुष्टि गरेको छ, र जेलेन्स्कीले साना देशको भविष्य उनीहरूको सहभागिताबिना निर्धारण हुने जोखिमबारे चिन्ता व्यक्त गरेका छन्।

३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् ।

रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले आक्रमणमा मानवीय क्षति भएको जानकारी दिएका छैनन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका करिब ६०० ड्रोन रोकिएको बताएका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता क्रिमिया पुल युक्रेनको प्रमुख निशानामा पर्दै आएको छ । यसअघि सन् २०२२ को अक्टोबरमा विस्फोटक पदार्थ बोकेको ट्रक पुलमा विस्फोट हुँदा महिनौँसम्म आवागमन प्रभावित भएको थियो ।

युक्रेनले आफ्ना प्रत्याक्रमणलाई रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जवाफ भन्दै आएको छ । रुसले युक्रेनी सहर र ऊर्जा पूर्वाधारमा गरेको आक्रमणबाट सयौँ सर्वसाधारण मारिएको तथा लाखौँ मानिस विद्युत् र ताप सुविधाबाट वञ्चित भएको किएभको दाबी छ ।

यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि ठोस प्रगति हुन सकेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेना तैनाथ गरिए त्यसलाई युद्धको निरन्तरताका रूपमा लिने चेतावनी दिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने अमेरिकाले नेटो सदस्यता दिने प्रस्तावसँगै केही भूभाग छाड्न सुझाव दिएको बताएका छन् ।

चीनले नोभेम्बर १९ मा शेन्जेनमा राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनसँग वार्ता गर्ने पुष्टि गरेको छ । बेइजिङले उक्त भेटमा विश्व शान्तिबारे छलफल हुने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार त्रिपक्षीय वार्तामा युक्रेन युद्ध मुख्य विषय बन्ने अपेक्षा गरिएको छैन ।

जेलेन्स्कीले भने उक्त बैठकले सन् १९४५ को याल्टा सम्मेलनमा जस्तै ठूला शक्तिहरूले साना देशको भविष्य उनीहरूको सहभागिताबिना निर्धारण गर्ने जोखिम रहेको चिन्ता व्यक्त गरेका छन् । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?