Comments Add Comment

ह्वाट्सएपले किन हाल्यो भारतविरुद्ध मुद्दा ?

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले भारत सरकार विरुद्ध मुद्दा हालेको छ । भारतले लागू गरेको नयाँ नियमले सोसल मिडियामाथि आम निगरानीको अवस्था सिर्जना हुने र प्रयोगकर्ताका निजी डाटाहरु सरकारलाई दिनका सोसल मिडिया प्लाटफर्महरुलाई लागि बाध्य पार्ने भन्दै ह्वाट्सएपले त्यस्तो नियममा रोक लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर भएको हो ।

बुधबार देखि लागू हुने भनिएको सोसल मिडियासम्बन्धी नयाँ नियम लागू हुन नदिने प्रयासमा ह्वाट्सएपले अदालतको ढोका ढक्ढकाएको बताइएको छ । नयाँ नियमानुसार भारतमा क्रियाशील कम्पनीहरुले स्थानीय कानून पालना गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने तथा कानून कार्यान्वयन गराउने निकायसँग सम्पर्कमा रहनुपर्ने लगायतका प्रावधान रहेका छन् । साथै सोसल मिडिया प्लाटफर्महरुले आंशिक तथा पूर्णरुपमा नग्नता समावेश भएका सामाग्रीहरु हटाउनुपर्ने विषय पनि नयाँ नियममा रहेको छ ।

ह्वाट्सएपले चाहिँ अर्को एक नियममा पनि कडा आपत्ति जनाएको छ । जस अनुसार सरकारी निकायले मागेको खण्डमा सोसल मिडिया कम्पनीहरुले सोसल मिडिया प्लाटफर्ममा प्रेषित मेसेजहरु सर्वप्रथम प्रवाहित गर्ने प्रयोगकर्ता पत्ता लगाएर जानकारी गराउनुपर्नेछ ।

यसले हरेक च्याटको ट्रयाकिंग गर्नुपर्ने हुनाले त्यसबाट प्रयोगकर्ताको गोपनियता हनन हुने ह्वाट्सएपको भनाइ छ ।

ह्वाट्सएप प्रवक्ताका अनुसार मेसेजिंग एपलाई च्याट ट्रेसिंग गर्न लगाउनु भनेको ह्वाट्सएपमा पठाइएका हरेक मेसेजको औँठाछाप राख्न लगाउनु जस्तै भएको र यसले एण्ड टू एण्ड इनक्रिप्सनलाई भंग गर्ने र मानिसहरुको गोपनीयताको अधिकार आधारभूत रुपमा उल्लंघन हुनेछ । साथै उनले प्रयोगकर्ताको गोपनियताको उल्लंघनको विरोधका लागि आफुहरु विश्वभरको नागरिक समाज तथा विज्ञहरुसँग निरन्तर सँगसँगै रहेको बताएका छन् ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले चाहिँ ह्वाट्सएपले दायर गरेको मुद्दा नयाँ नियमलाई कार्यान्वयन हुनबाट रोक्नका लागि अन्तिम समयमा भएको दुर्भाग्यपूर्ण प्रयास भएको बताएको छ ।

साथै मन्त्रालयले मुलुकको सार्वभौमिकता, सुरक्षा तथा अखण्डता, सार्वजनिक व्यवस्था, बलात्कार, बाल यौन दुव्र्यवहार तथा अश्लील सामग्रीहरु लगायतका अति गम्भीर अपराधहरुको अनुसन्धान तथा रोकथामका लागि आवश्यक पर्दामात्रै प्रयोगकर्ताका निजी डाटाहरु उपलब्ध गराउनका लागि सोसल मिडिया प्लाटफर्महरुलाई अनुरोध गरिने प्रष्ट पारेको छ ।

मेसेजिंग एप ह्वाट्सएपका लागि भारत सबैभन्दा ठूलो बजार हो । भारतमा ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता रहेका छन् ।

ह्वाट्सएपले सन २०१६ देखि इण्ड टू इण्ड एनक्रिप्सन लागू गरेको छ जसका कारण ह्वाट्सएपमा गरिने कल तथा पठाइने मेसेज, फोटो, भिडियो तथा भ्वाइस लगायतका सामाग्रीहरु प्रापकले बाहेक कसैले पनि (स्वयं ह्वाट्सएपले पनि) हेर्न पाउँदैन । यदि भारत सरकारको नयाँ नियम पालना गर्नेहो भने ह्वाट्सएपले आफ्नो इण्ड टू इण्ड इनक्रिप्सन हटाउनु पर्दछ र हरेक मेसेजको विशाल डाटाबेस राख्नु पर्दछ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment