Comments Add Comment

कांग्रेस नेता पौडेललाई प्रश्‍न : महामारीको बीचमा पार्टीको महाधिवेशन कसरी गर्ने ?

१८ जेठ, काठमाडौं । संवैधानिक प्रावधान अनुसार आगामी भदौ महिनाभित्र नेपाली कांग्रेसले आफ्नो १४औ महाधिवेशन सम्पन्न गर्नुपर्छ । कि संविधान नै संशोधन गर्नुपर्छ, नत्र पार्टीको वैधानिकता गुम्छ । पार्टीले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका नै सार्वजनिक गरिसकेको छ ।

तर, कोरोना महामारीका कारण कार्यतालिका अनुसार काम हुन सकेको छैन । पार्टीको वडादेखि नै महाधिवेशनको शुरु गर्नका लागि क्रियाशिल सदस्यताको टुंगो पूर्वसर्त हो । तर आइतबारसम्म ६१ जिल्लाको क्रियाशिल सदस्यताको मात्र टुंगो लागेको छ । केही जिल्लामा अझै क्रियाशिल सदस्यताको विवाद छ, जुन टुंगो लागेको छैन ।

कोरोना महामारी नियन्त्रणमा नआएमा पार्टीलाई भदौमा महाधिवेशन सम्पन्न गर्ने कार्य निकै चुनौतीपूर्ण छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही समययता पार्टीको महाधिवेशन समयमा नै गर्नका के-के विकल्प हुनसक्छन् भन्ने विषयमा पार्टीमा तत्काल छलफल हुनुपर्ने बताइरहेका छन् । यसै सम्बन्धमा अनलाइनखबरले पौडेललाई यो महामारीको बीचमा कसरी महाधिवेशन गर्ने भनी सोधेको छ ।

वरिष्ठ नेता पौडेलको जवाफ यस्तो छ :

पार्टीको महाधिवेशन भदौमा गर्न जसरी पनि अनिवार्य भएको छ । महाधिवेशन समयमा नै गर्न सकेनौं भने भदौमा पार्टीको वैधानिकता सकिन्छ । अधिवेशन मार्फत नयाँ निर्वाचन हुनुपर्छ । तर, नयाँ निर्वाचन गर्नका लागि क्रियासिल सदस्यताको टुंगो लागिसक्नु पर्ने हो तर जहिलेसम्म भएको छैन । जतिमा टुंगो लगाएर चुनाव गराउन सकिन्छ, त्यतिमा गराउने एउटा बाटो लिने हो कि भन्ने पनि छ । अथवा, केही समय पर्खेर सबै क्रियाशिल सदस्यता गराउने केही बाटो छ भने त्यो पनि तत्कालै सोच्नुपर्‍यो । अहिले कोराना महामारीले गर्दा तल वडादेखि माथिसम्म चुनाव गर्न पनि नसकिने अबस्था हुन्छ भने विशेष महाधिवेशन गरेर पनि पार्टीको अस्थायी तदर्थ समिति बनाएर पनि पार्टी जोगाउनुपर्छ भन्ने मेरो कुरा हो । तर यो केही नलागेको अवस्थामा अन्तिम अस्त्र मात्र हो भन्ने मेरो भनाइ हो ।

कुनै पनि हालतमा पार्टीको वैधता समाप्त नहोस्, समयमा नै चुनाव गर्ने जुन प्रावधान छ त्यसलाई मिट गर्नुपर्छ भन्ने मेरो भनाइ हो । हामी के गर्ने, कसो गर्ने भन्ने विषयमा छलफल गदैछौं । निर्वाचन समिति, क्रियाशिल सदस्यता छानविन समिति, केन्द्रीय समिति सबै मिलेर एउटा बाटो एउटा निश्चित अठोट गर्नुपर्छ भन्ने मेरो भनाइ हो । संक्षेपमा मेरो भनाइ भनेको अब महाधिवेशन कसरी गर्ने भन्ने विषयमा छलफल गरेर छिटो टुंगोमा पुग्नुपर्छ भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment