Comments Add Comment

सुदूरपश्चिममा एमाले सांसदले मागे प्रतिपक्षको हैसियत

२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका सांसदले प्रतिपक्षीको सिट माग गरेका छन् । मंगलबार सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा नेकपा एमाले (ओली समूह) का प्रदेशसभा सदस्य पठानसिंह बोहराले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै प्रतिपक्षीको बेन्चमा बस्न दिन माग गरेका हुन् ।

‘नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र जेठ १४ गते प्रदेशसभा सचिवालयमा त्यसको जानकारी दर्ता भइसकेको छ,’ बोहराले भने, ‘तसर्थ नेकपा एमाले अब प्रतिपक्षी भएको छ । प्रतिपक्षी बेन्चमा बसाइको व्यवस्थाका लागि पनि म आग्रह गर्दछु ।’

बोहराले एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा परेको भन्दै पदबाट राजीनामा दिन समेत माग गरे । ‘यो सरकार सरकार स्वाभाविक रुपमा अल्पमतमा परेको छ,’ उनले भने ‘अब मुख्यमन्त्री ज्यूले राजीनामा गर्नुको अर्को विकल्प छैन । तत्काल राजीनामा होस् भन्ने म जोडदार माग गर्दछु ।’

माधव पक्षका सांसदको काउन्टर

प्रदेशसभामा एमालेकै माधवकुमार नेपाल पक्षका सांसदले भने सरकारलाई दिएको समर्थन कायमै रहेको बताए । प्रदेशसभा सदस्य अमरबहादुर साउदले आफ्नै पार्टीका सांसदले आश्चर्यजनक अभिव्यक्ति दिएको बताए ।

‘सत्तापक्षकै केही माननीयज्यूबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको आश्चर्यजनक अभिव्यक्ति यहाँ सुन्यौँ,’ साउदले भने, सभामुखज्यू मार्फत म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, हामीले संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमा माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई यथावत राख्ने निर्णय भएको छ ।’

नेकपा एमालेको १० जेठमा बसेको स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता निर्णय गरेको थियो । तर १२ जेठमा बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल समर्थन कायमै राख्ने निर्णय गरेको थियो । संसदीय दलमा माधव नेपाल समूहको बहुमत भएकाले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

त्यसपछि एमालेले प्रदेश सरकारमा रहेका ३ मन्त्रीलाई राजीनामा दिन लगाएर ४ मन्त्री र ३ जना राज्यमन्त्री पठाएको थियो । पार्टी निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै ती मन्त्रीहरुलाई प्रदेश कमिटीले स्पष्टीकरण माग्दै कारवाही प्रक्रिया अगाडि बढाएको छ । संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेका छन् ।

शोक प्रस्ताव पारित

यसैबीच सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधनमा प्रदेशसभाबाट शोक प्रस्ताव पारित गरिएको छ । शुक्रबार बसेको बजेट अधिवेशनको पहिलो बैठकले शोक प्रस्ताव पारित गरेको हो । मल्लको गत जेठ १२ गते कोरोना भाइरसको संक्रमणबाट उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment