Comments Add Comment

त्रिपाठीले भने : वरीयता नमिलेकाले मन्त्रिपरिषदबाट बाहिरिएँ

२१ जेठ, काठमाडौं । सरकारबाट बाहिरिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद विस्तार हुँदा आफ्नो वरीयता नमिलेकाले बाहिरिएको बताएका छन् ।

मन्त्रालयबाट बाहिरिएपछि पत्रकारसँग कुरा गर्दै उनले वरीयता नमिलेकाले बाहिरिएको प्रतिक्रिया दिएका हुन् । ‘वरीयता नमिलेको कारण म आफैं हटेको हुँ योबारे धेरै बोल्न चाहन्नँ’ उनले भने ।

उनले आफू मन्त्रीबाट बाहिरिए पनि भारतबाट रोकिएको कोरोनाभाइरस विरुद्धको खोप दुई साताभित्रै आइपुग्ने बताएका छन् ।

उनले सरकारबाट विदा हुँदै गर्दा बाँकी खोप ल्याउने जिम्मेवारी पूरा गरेको बताए । ‘खरीद गरेको खोप पठाउन पहल गरिरहेको थिएँ, अबको दुई हप्तामा पठाउने कुरा भएको छ’ त्रिपाठीले भने ।

चीनबाट २० लाख डोज खोप खरीदको वार्ता अन्तिम चरणमा पुगेको समेत त्रिपाठीले बताए ।

कोभिसिल्ड खोप निर्माता सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरीद सम्झौता भइसकेको २० लाख डोजमध्ये १० लाख डोज खोप अहिले पनि आउन बाँकी छ । त्यो सँगसँगै अन्य खोप र स्वास्थ्य सामग्री दिन भारत सकारात्मक भएको त्रिपाठीले बताए ।

स्वास्थ्य मन्त्रालयमा सिस्टम बसाएकाले अब आउने मन्त्रीलाई काम गर्न गाह्रो नहुने समेत उनले बताए । विकराल अवस्थामा खोप ल्याउनेदेखि अन्य काम गरेको बताउँदै उनले भने, ‘स्वास्थ्यमा एक खालको सिस्टम बसेको अवस्था छ । अब आउने मन्त्रीज्यूलाई त्यो समस्या नहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment