 
																			२४ जेठ, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई बुद्धमय बनाउने अभियान अन्तर्गत भैरहवाका मुख्य सडकको डिभाइडरमा यो वर्ष पनि बुद्ध मूर्ति राख्न थालिएको छ ।
गतवर्ष सिद्धार्थनगर नगरपालिकाले बेलहिया बाइपास सडकदेखि सिद्धार्थ राजमार्ग खण्डको अञ्चलपुरसम्म १९ वटा बुद्ध मूर्ति राखिएको थियो ।
यसपटक भैरहवाको बुद्धचोकदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन अगाडिसम्म पनि १९ वटा मूर्ति राख्ने कामअघि शुरु भएको हो ।
पहेंलो रङले लेपन गरिएको धातुका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा राखेर नगरलाई बुद्धमय बनाउने अभियानलाई निरन्तरता दिइएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए ।
चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने नगर प्रमुख अधिकारीले जानकारी दिए ।
‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तर्गत यस वर्ष पनि मूर्ति राख्ने काम जारी छ, यसले नगरको सुन्दरता पनि बढाउने छ’–नगर प्रमुख अधिकारीले भने–‘लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट बुद्ध मूर्ति खरिद र राख्ने काम भएको हो ।’
पर्यटन कार्यालयले एमाले नेता भरत पोखरेलको अध्यक्षतामा बुद्ध मूर्ति उपभोक्ता समिति गठन गरेको थियो । समितिले काठमाडौंको पाटनमा बनेका मूर्ति ल्याएर ६ वटा जडान गरेको र बाँकी मूर्ति असारभित्रै जडान गर्ने अध्यक्ष पोखरेलले बताए ।
अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाको ४६ लाख रुपैयाँ र विभिन्न संघसंस्था तथा उद्योगी-व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति राखिएको थियो ।
सिद्धार्थनगर बुद्ध जन्मस्थल लुम्बिनी र स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकासंग जोडिएको स्थल भएकाले विश्वभर बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश फैलाउन नगरलाई बुद्धमय बनाउने अभियान थालिएको नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन् । सिद्धार्थनगर नगरपालिकाले बेलहियाबाट केही अगाडि डण्डा पुल नजिकै बुद्धत्व झल्किने विशाल प्रवेशद्वार समेत बनाउँदै छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4