Comments Add Comment

निषेधाज्ञामा दोहोरी मोडलको दिनचर्याः कोही पुस्तक पढ्दै, कोही गीत तयार गर्दै

अवस्था सामान्य हुन्थ्यो भने लोकदोहोरी मोडलहरु यतिबेला अझ बढी ब्यस्त हुन्थ्ये । किनकी, तीज गीतका भिडियोहरुको धमाधम छायांकनको समय हो यो । तर, कोरोना भाइरस संक्रमणका कारण यतिबेला उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाका कारण अन्य व्यक्तिहरुजस्तै मोडलहरु घरभित्रै बस्नुपरेको छ । घरभित्र बस्दा कोही मोडलहरु गीत सिर्जनातर्फ लागेका छन् । कोही आफ्ना पुराना म्युजिक भिडियोहरु हेरेर दिन बिताईरहेका छन् । यद्यपी, अधिकांश मोडलले म्युजिक भिडियो सुटिङलाई भने निकै ‘मिस’ गरिरहेको बताउँछन् ।

मोडल तथा गायक दुर्गेश थापा केही दिन कोरोना संक्रमितहरुका लागि अक्सिजन वितरणमा सक्रिय रुपमा लागे । पछिल्ला दिनहरुमा भने उनी घरमै बसेर तीज गीतको तयारी गरिरहेका छन् । गतवर्ष ‘बीच्च बीच्चमा २ र ३’ तीज गीत ल्याएका दुर्गेश यसवर्ष तीज गीत ‘बीच्च बीच्चमा ४’ र ‘बीच्च बीच्चमा ५’ ल्याउने तयारी गरिरहेको बताउँछन् ।

यीसँगै अर्को एउटा तीज गीतको पनि तयारी गरिरहेको उनले सुनाए । अवस्था सहज भएपछि तीज गीत रेकर्डिङ र छायांकन गर्ने दुर्गेशको योजना छ । असारदेखि रेकर्डिङ र छायांकनका लागि माहोल बन्नेमा उनी आशावादी छन् । यद्यपी छायांकनका लागि माहोल नबने लिरिकल भिडियो सार्वजनिक गर्ने दुर्गेश बताउँछन् ।

अहिले फुर्सदको समयमा आफूले एरेञ्जको काम सिकिरहेको दुर्गेशले बताए । ‘अहिले घरमा बसेर अनलाईनमा एरेन्जको काम सिकिरहेको छु’ उनले भने, ‘आफ्नो गीतमा कस्तो खालको म्युजिक सिर्जना गर्ने भनेर सिकिरहेको छु । नयाँ नयाँ म्युजिक सिर्जना गरिरहेको छु ।’ सामान्य अवस्थामा उनको दैनिकी सुटिङ र स्टेज कार्यक्रममा बढी बित्ने गर्दथ्यो । अहिले घरमा बसिरहँदा सुटिङ र स्टेज कार्यक्रम भने निकै ‘मिस’ भईरहेको उनले बताए ।

दुर्गेश पाँच महिना अघिमात्रै बाबु बनेको हुन् । अहिले छोरासँग पनि समय बिताईरहेको उनले बताए ।

मोडल अञ्जली अधिकारी निषेधाज्ञासँगै गृहजिल्ला बर्दियामा छिन् । निषेधाज्ञाको दुई दिनअघि उनी घर पुगेकी हुन् । त्यहाँ परिवारसँग समय बितिरहेको अञ्जलीले बताइन् ।
‘परिवारको साथमा समय बितिरहेको छ’ उनले भनिन्, ‘केही समय मोबाइल चलाउने, कितावहरु पढ्ने, चलचित्रहरु हेर्ने, गीतहरु सुन्ने, टिकटक हेर्ने गरिरहेकी हुन्छु ।’ उनले भनिन् ।

निषेधाज्ञाको समयमा करिअर सुरुवातीका म्युजिक भिडियो एवं तस्वीरहरु समेत हेर्ने गरेर दिन बिताईरहेको अञ्जलीले बताइन् । ती दिनहरुलाई फर्केर हेर्दा छुट्टै आनन्द आउने उनले सुनाइन् ।

सामान्य अवस्थामा उनी निकै व्यस्त हुने मोडल हुन् । अझ यतिबेला त तीज गीतमै उनलाई भ्याइनभ्याई हुन्थ्यो । गतवर्ष लकडाउन खुकुलो भएपछि उनले एक दर्जन बढी तीज गीतमा अभिनय गरेकी थिइन् । यसवर्ष पनि असारदेखि सहज हुनेमा आशावादी छिन् । तीज गीतमा काम गर्नेबारे पनि कुरा भईरहेको अञ्जलीले बताईन् । ‘यो समय सुटिङमा बढी व्यस्त भइन्थ्यो । तीजको आसपासमा स्टेज कार्यक्रहरु पनि धेरै हुन्थे । यसरी खाली बस्दा सुटिङ र स्टेज कार्यक्रम निकै ‘मिस’ हुने रहेछ’ उनले भनिन् ‘असारदेखि सहज हुने कुराहरु आईरहेको छ । हेरौं, त्यसपछि काम गर्न पाइन्छ कि !’

मोडल बिमल अधिकारीले भने निषेधाज्ञाको समयलाई गीत सिर्जनामा लगाए । निषेधाज्ञाको समयमा उनले पाँच वटा गीतको काम पूरा गरे ।

चारवटा गीतमध्ये कुनैमा शब्द लेखे भने कुनैमा संगीत भरे । ति गीत रेकर्डिङ भईसकेको उनले बताए । एउटा गीतको भने सुरक्षा सावधानी अपनाउँदै छायांकन समेत गरे ।
‘अरुबेला सुटिङमा बढी व्यस्त हुन्थे । अहिले खाली समयलाई सिर्जनामा पनि लगाएँ’ उनले भने, ‘स्टुडियोमा धेरै भीडभाड हुनु भएन । त्यसैले चारवटा गीत रेकर्डिङ गरेर तयारी अवस्थामा छन् ।’

अहिले काठमाडौंमा घर निर्माण गरिरहेको हुनाले अधिकांश समय भने घरकै काममा बित्ने विमलले बताए ।

सामान्य अवस्थामा उनी म्युजिक भिडियोमा व्यस्त हुने मोडल हुन् । अहिले लामो समयदेखि सुटिङ गर्न नपाउँदा गाह्रो भने महशुस हुने उनले अनुभव सुनाए ।

‘बाहिर हिडिरहने मानिस घरभित्र बसिरहँदा गाह्रो हुने रहेछ । सुटिङ पनि एकदमै ‘मिस’ गरिरहेको छु’ उनी भन्छन्, ‘तर अहिलेको माहोल नै यस्तै छ । अहिले आफू सुरक्षित हुनु नै महत्वपूर्ण हो ।’

असारबाट भने अवस्था सहज हुन्छ कि भन्ने कुरामा आशावादी रहेको विमलले बताए । सोही अनुसार केही तीज गीतको काम गर्नका लागि कुरा भईरहेको विमल बताउँछन् । ‘असारको दोस्रो सातादेखि बिस्तारै माहोल सहज हुन्छ कि भन्ने लागिरहेको छ । सोहीअनुसार तीज गीतको आन्तरिक तयारीमा पनि छौं’ विमलले बताए ।

लोकदोहोरी गीतमा व्यस्त मोडलमा पर्छिन् सारिका केसी । अवस्था सहज हुन्थ्यो त दैनिकजसो उनी सुटिङमा व्यस्त हुन्थिन् । तर, निषेधाज्ञाका कारण सारिका घरमै परिवारसँग समय बिताईरहेकी छिन् ।

‘घरमा यत्तिकै समय बिताईरहेको छु’ उनले हिजोआजको दैनिकीबारे भनिन्–‘चलचित्र हेर्यो, टिकटक हेर्यो, फेसबुक चलायो त्यसरी नै बितिरहेको छ ।’

घरमा बसिरहँदा सुटिङलाई भने धेरै ‘मिस’ गरिरहेको बताउँछिन् सारिका । ‘काम नगरि बस्दा सुटिङ त एकदमै ‘मिस’ हुन्छ नी’ उनी भन्छिन्, ‘तर हामीलाई मात्र होइन्, सबैजना समस्यामा हुनुहुन्छ ।’

सामान्य अवस्थामा यतिबेला तीज गीतमा काम गर्न सुरु गरिसकेकी हुन्थिन् । यसवर्ष कोरोनाका कारण तीज गीतको छायांकनको काम सुरु हुन सकिरहेको छैन् । सारिका पनि असारदेखि तीज गीतको काम सुरु हुनेमा आशावादी छिन् ।

‘असारदेखि विस्तारै सहज हुन्छ कि भन्ने अपेक्षा छ । केही ब्यक्तिहरुसँग तीज गीतमा काम गर्नेबारे कुरा पनि भईरहेको छ’ उनले भनिन् ‘सहज भयो भने असारदेखि छायांकन शुरु होला ! हेरौं, के हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुशील नेपाल

ट्रेन्डिङ

Advertisment