Comments Add Comment

उपत्यकाका सीडीओको बैठक : खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी

३० जेठ, काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न आइतबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले संयुक्त बैठकबाट निषेधाज्ञाको विषयमा टुंगो लगाइने अनलाइनखबरलाई बताए ।

कोरोना संक्रमणको दर घटे पनि जोखिम घटिनसकेको भन्दै एक साता निषेधाज्ञा थप्ने प्रमुख जिल्ला अधिकारीहरुको तयारी छ । तर निषेधाज्ञाका प्रावधानहरुलाई चाहिँ खुकुलो बनाउने विषयमा छलफल भइरहेको छ ।

‘जनजीवनलाई सहज बनाउँदै लानुपर्ने’ भएकाले निश्चित क्षेत्रलाई खोल्दै लैजाने प्रमुख जिल्ला अधिकारीहरुले तयारी गरेका हुन् । गृह प्रशासनले असार पहिलो साताबाट सवारीसाधनसमेत जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिने तयारी गरेको थियो । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले त्यसमा असहमति जनाएका छन् ।

‘हुन त छलफल सकिएको छैन, यद्यपि यातायातको विषयमा कुनै निर्णय नहोला,’ काठमाडौंका सीडीओ पराजुलीले भने । तर खाद्यान्नका पसल खोल्ने समय बढाउने विषयमा सीडीओहरु एकमत छन् । त्यस्तै, अन्य व्यवसायलाई पनि बार अनुसार खोल्न दिने विषयमा छलफल भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार कृषि सम्बन्धी कार्यलाई सहजीकरण गरिदिने तयारी छ । ‘मल, बिउबिजन ल्याउनुपर्ने समय छ, ती क्षेत्रहरुलाई सहजीकरण हुनेछ,’ दाहालले भने ।

गृहमन्त्री खगराज अधिकारीले केही दिनअघि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै विकास निर्माणका गतिविधिलाई अघि बढाउन सहजीकरण गर्न निर्देशन दिइसकेका छन् ।

काठमाडौं उपत्यकामा प्रशासनले निषेधाज्ञा लगाएको डेढ महीना नाघिसकेको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबारबाट सकिंदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment