Comments Add Comment

मकैमा फौजी किराको प्रकोपले बैतडीका किसान चिन्तित

फाइल तस्वीर

३० जेठ, बैतडी । मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन् । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले लगाएको मकैमा उक्त प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेपछि किसानहरु हैरान भएका छन् । गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएको थियो ।

फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छरेको सुर्नया गाउँपालिका-५ का किसान अजवबहादुर चन्दले बताए । उनले भने, ‘एकपटक उम्रेको मकै किराले सखाप पार्‍यो, अहिले दोस्रोपटक छरेका छौं, यहाँका सबैजसो किसानले त्यस्तै गरेका छन् ।’

दशरथचन्द नगरपालिका-१ गुरुखोलाका किसानले खेतमा लगाएको मकैमा पनि यस्तै प्रकोप देखिएको छ । स्थानीय किसान अम्बादत्त बडुका अनुसार किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ ।

खेतमा लगाएको मकैमा फौजी किराको प्रकोपले मकैबाली नष्ट हुन थालेपछि यहाँका किसान समस्यामा परेका छन् । मकैबालीमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका पञ्चेश्वर गाउँपालिका-२ का देवबहादुर चन्दले बताए । मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा हस आउने देखिएको छ ।

जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो आएको ज्ञान केन्द्रका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए । उनले भने, ‘फौजी किरा रातिको समयमा बढी सक्रिय हुने गरेको छ, फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्छ ।’ बैतडीमा १३ हजार हेक्टर क्षेत्रफल जमीनमा मकै खेती गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment