Comments Add Comment

पेनाल्टीमा चुकेपछि स्पेनको लगातार दोस्रो बराबरी

६ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र पोलयाण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा स्पेनले पहिले अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा र पेनाल्टीमा गोल गर्न नसक्दा पोल्याण्डसँग अङ्क बाँड्नु परेको हो । स्पेनले सन् १९९६ पछि युरोकपमा सुरुआती दुई खेल जित्न नसकेकाे याे पहिलाे पटक हाे ।

समूहमा स्पेनको यो लगातार दोस्रो बराबरी हो । पोल्याण्डले भने पहिलो १ अंक जोड्यो । यसअघि स्पेनले स्वीडेनसँग गोलरहित बराबरी खेलेको थियो भने पोल्याण्ड स्लोभाकियासँग पराजित भएको थियो ।

सेभियामा भएको खेलको २५औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा स्पेनले अग्रता कायम राख्यो । तर दोस्रो हाफमा पोल्याण्डले बराबरी गोल फर्कायो । ५४औं मिनेटमा पोलिस कप्तान रोवर्ट लेवान्डोस्कीले कमिल जोविएकको पासमा बराबरी गोल गरे ।

५८औं मिनेटमा स्पेनले पुन: अग्रता लिने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । पोल्याण्डका जाकुब मेडरले जेरार्ड मवरेनोलाई फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो तर मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेको थियो ।

लगातार दोस्रो बराबरीपछि तीन पटकको विजेता स्पेन २ अङ्कसहित समूह इ को तेस्रो स्थानमा छ । पोल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा छ । ४ अङ्क जोडेको स्वीडेन पहिलो र ३ अंकसहित स्लोभाकिया दोस्रो स्थानमा छ ।

अब अन्तिम खेलमा स्वीडेनले पोल्याण्ड तथा स्पेनले सलोभाकियासँग खेल्नेछ । स्पेनलाई नकआउट राउण्डा पुग्न स्लोभाकियालाई हराउनैपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment