
६ असार, काठमाडौं । इजरायलले इरानको राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम राइसीको विषयमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यानाकर्षण गर्नुपर्ने बताएको छ । इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लाइओर हाइयातले राइसी इरानको इतिहासको सबैभन्दा अतिवादी राष्ट्रपति भएको बताएका छन् । नयाँ राष्ट्रपतिले इरानको न्युक्लियर गतिविधि बढाउन सक्ने उनको आशंका छ ।
शनिबार इब्राहिम राइसीलाई इरानको राष्ट्रपतीय निर्वाचनको विजेताको रुपमा घोषणा गरिएको थियो । यसअघि नै यो निर्वाचनमा राइसीको जित हुन सक्ने अपेक्षा गरिएको थियो ।
इब्राहिमले आगामी अगष्ट महिनामा आफ्नो पदभार ग्रहण गर्नेछन् । उनी इरानको वरिष्ठ न्यायाधीश पनि हुन् र उनी रुढीवादी सोच राख्नेमध्येका एक पनि हुन् । उनलाई यसअघि नै अमेरिकाले प्रतिबन्ध लगाइसकेको छ । उनी यसअघि राजनीतिक बन्दीहरुलाई मृत्युदण्ड दिएको मुद्दामा जोडिएका छन् ।
निर्वाचनमा जित हात पारेसँगै इब्राहिमले सरकारप्रति आम मानिसको विश्वास फर्काउने प्रतिबद्धता जनाएका छन् । साथै उनले आफू समग्र मुलुकको नेता बन्ने दाबी गरेका छन् ।
इजरायल र इरानबीच लामो समययता छायाँ युद्ध चल्दै आएको छ । जसका कारण विभिन्न विषयमा दुई मुलुकबीच तनाव उत्पन्न हुने गरेको छ । यी दुई मुलकबीच विशेषगरी न्युक्लियर कार्यक्रमको विषयलाई लिएर विवाद उत्पन्न हुने गरेको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4