Comments Add Comment

सैनामैना नगरपालिकाको बजेट १ अर्ब २२ करोड

१० असार, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ लागि १ अर्ब २२ करोड १९ लाख ४३ हजार ३४१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नवौं नगरसभाको तेस्रो वैठकमा सैनामैना नगरपालिका उपप्रमुख विना रानाले कोरोना जोखिम नियन्त्रण र न्यूनिकरण, अधुरा आयोजनालाई पूर्णता, कृषि, पूर्वाधार विकास, पर्यटन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ५१ करोड ४८ लाख ५५ हजार विनियोजन भएको छ भने पुँजीगततर्फ ७० करोड ७१ लख २८ हजार ३४१ रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी आगामी आर्थिक वर्षका लागि अनमुान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संघीय सरकारबाट अनुदान ९१ करोड ३८ लाख २ हजार, प्रदेश सरकारबाट ६ करोड ४१ लाख ३३ हजार ७ सय ४४, आन्तरिक स्रोतबाट आव २०७७/७८ बाट मौजदात बाँकी रकम सहित २४ करोड ४० लाख ७ हजार ५ सय ६७ रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।

कोरोना कोषमा १ करोड रुपैयाँ

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले बजेट छुट्याएको छ । प्रस्तुत बजेटमा कोभिड-१९ सँग जुध्नका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

त्यसैगरी स्वास्थ्य र सरसफाई क्षेत्रको लागि १० करोड ५० लाख ७२ हजार विनियोजन गरिएको छ । फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ ।

पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शय्याको आधारभुत अस्पतालको निर्माण सम्पन्न गर्न ५ करोड बजेट व्यवस्था गरिएको छ । त्यसैगरी कोभिडका कारण भौतिक रुपमा स्कुलबाट अध्ययन अध्यापन बन्द रहेकोले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न १० लाख विनियोजन गरिएको छ ।
ज्येष्ठ नागरिक, अपांग, महिला र बालबालिकाको क्षेत्रमा ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सालझण्डीस्थित वनकट्टी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गर्न ५ लाख, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ३ लाख, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रमको लागि २ लाख, हेलो आमा कार्यक्रम मार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गर्न १ लाख ५० हजार विनियोजन भएको छ ।

महिलासँग उपप्रमुख कार्यक्रम

महिलासँग उपप्रमुख कार्यक्रमबाट महिलाहरूको स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर र पाठेघरको मुखको क्यान्सर शिविर सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदानको उच्च मूल्यांकन गर्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गर्न १ लाख ४२ हजार विनियोजन भएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप जिम्मेवार र उत्तरदायी बनाउन कार्यसम्पादनको आधारमा प्रोत्साहन गर्न महिला स्वास्थ्य स्वयंसेविका अक्षय कोषमा १ लाख थप रकम विनियोजन भएको छ ।

एक शिक्षक एक ल्याप्टम कार्यक्रम

नगरपालिकाले एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालन गर्नका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शिक्षकलाई सूचना प्रविधि मैत्री बनाउका लागि प्रविधिमैत्री दक्ष शिक्षकहरुबाट अन्य शिक्षकहरुमा सीप हस्तान्तरण गर्ने व्यवस्था मिलाउन ९ लाख विनियोजन भएको छ ।

नमूना विद्यालय तथा विद्यालय पूर्वाधार कार्यक्रमका लागि ४ करोड १२ लाख रुपैयाँ विनियोजन भएको छ ।

हाल सञ्चालनमा रहेका शहरी स्वास्थ्य केन्द्रलाई व्यवस्थित गराउन १४ लाख ९६ हजार, सरसफाईमा उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई पुरस्कृत गर्ने तथा फोहोरमैला व्यवस्थापन कोषमा ५० लाख विनियोजन गरिएको छ ।

स्वास्थ्य र सरसफाइ क्षेत्रका लगि कुल १० करोड ५० लाख ७२ हजार रुपैयाँ विनियोजन भएको छ ।
सबै विद्यालयहरुलाई एकै किसिमको रंगरोगन गर्न १० लाख विनियोजन भएको छ । विद्यालयमा अध्ययनरत सवै छात्राहरुलाई आवश्यक पर्ने सेनेटरी प्याड निःशुल्क उपलव्ध गराउन ३७ लाख ५७ हजार बजेट व्यवस्थापन भएको छ । यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउन १ करोड ७७ लाख विनियोजन भएको छ ।

संस्कृति तथा पर्यटन क्षेत्रमा ६ करोड ४७ लाख छुट्याइएको छ ।

कृषि तथा पशु विकासतर्फ २ करोड ५६ लाख, १६ हजार रकम विनियोजन भएको छ ।
बजेटमा पर्रोहा परमेश्वर बोलबाध धाम मन्दिर निर्माणका १ करोड २ लाख र लागत साझेदारी सहित कूल ५ करोड ९२ लाख छुट्टाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment