Comments Add Comment

डोलबर्गको दुई गोलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो ।

यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात पारेको हो । डेनमार्कले अब क्वाटरफाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

युसुफ पउलसेन घाइते भएपछि उनको स्थानमा पहिलो रोजाइमा खेलेका डोलबर्गले दुवै हाफमा एक/एक गोल गरे । यस्तै योकिम माहेले र मार्टिन ब्रेथवेइटले एक/एक गोल गरे।

खेलको २७औं मिनेटमा डोलबर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । उनले मिकेल डाम्सगार्डको पासमा गोल गरेका थिए ।

यस्तै दोस्रो हाफको सुरुमै डोलबर्गले गोल थपे । ४८औं मिनेटमा वेल्सका निको विलियम्सले गल्ती गरेपछि डोलबर्गले गोल गरेका थिए ।

८८औं मिनेटमा योकिम माएलेले गोल माथिएस जेनसेनको पासमा गोल गर्दै डेनमार्कलाई ३-० को अग्रता दिलाए । ८९औं मिनेटमा वेल्सका ह्यारी विल्सनले सिधै रातो कार्ड पाउँदै मैदान छाडेका थिए । विल्सनले डेनमार्कका माहेलेलाई फाउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए ।

इन्जुरी टाइममा ब्रेथवेइटले गोल गरेपछि डेनमार्कले फराकिलो जित हात पार्‍यो । ब्रेथवेइटको गोलले भिएआरको सहयोगमा मान्यता पाएको थियो।

डेनमार्क सन् २००४ पछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । त्यसपछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ मा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ मा छनोट हुन सकेको थिएन।

डेनमार्कले सन् १९९२ मा उपाधि जितेको थियो । त्यसयता पहिलो पटक नकआउट चरणमा डेनमार्कले गोल गरेको हो ।

उता गारेथ बेलको कप्तानीमा लागतार दोस्रो युरो खेलिरहेको वेल्स यस पटक भने अन्तिम १६ बाटै बाहिरिएको छ । पाँच वर्षअघि फ्रान्समा भएको युरोकपमार्फत डेब्यु गरेको वेल्स त्यतिबेला सेमिफाइनलसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment