Comments Add Comment

जंगली हात्तीको आक्रमणबाट झापामा एक जना घाइते

फाइल तस्वीर

१४ असार, झापा । भारतबाट आएको जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–३ की एक महिला घाइते भएकी छन् । घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

खुट्टा र टाउकोमा चोट लागेकी मेचेको विर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

गएराति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ वटा हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले बताए । बाहुनडाँगी छिरेका १६ हात्तीमध्ये १४ मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन् । दुईवटा हात्ती मेचीनगर–२ स्थित देवीगञ्जमा स्थानीयवासी हरि चम्लागाईं र नरेन्द्र न्यौपानेको चिया बगानमा रहेका छन् ।

गाउँको बीचमा रहेको चिया बगानमा हात्ती छिरेपछि स्थानीयवासी त्रसित बनेका छन् । मानवीय क्षति हुन नदिनका लागि डिभिजन वन कार्यालयका सुवेदार रामप्रसाद यादवको नेतृत्वमा टोली खटाइएको छ । हात्तीलाई गाउँ पस्न नदिन वनको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गस्ती गरिरहेका छन् ।

मास्केका अनुसार दिनभर चियाबगानमा रहेका हात्तीलाई साँझ परेपछि भारततिरै सुरक्षित तरिकाले लखेट्ने योजना छ । बाहुनडाँगीमा एक महिनादेखि भारतबाट हूल बाँधेर आउने हात्तीले आतंक मच्चाउन थालेको स्थानीय हात्ती संरक्षणकर्मी शंकर लुइँटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment