२१ असार, चितवन । राप्ती नगरपालिका-३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।
युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् ।
राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।
प्रतिक्रिया 4