Comments Add Comment

आइतबारदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा हप्तामा ५३ उडान, कहाँ थपियो ?

२५ असार, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान संख्या थप गरेको छ । यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान संख्या थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नयाँ निर्णयअनुसार अब सातामा कुल ५३ वटा उडान हुने छन् । यसअघि सातामा दुई दर्जन मात्र उडान गर्ने गरी  विभिन्न मुलुकमा उडान तालिका तय भएको थियो ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान मात्र हुनेछ । यसमध्ये एउटा उडान नेपाल एयरलाइन्स -बुधबार) र अर्को उडान एयर इण्डिया -सोमबार) गर्नेछन् ।

यूएईको दुबईमा नेपाल एयरलाइन्सले मंगलबार र बिहीबार, हिमालय एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार तथा फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक/एक उडान गर्ने भएका छन् ।

कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन एक/एक उडान गरि साताको सातै दिन जहाज उडाउने अनुमति पाएका छन् । दोहामा हिमालय एयरलाइन्सले सोमबार, बुधबार र शनिबार जहाज उडाउने छ ।

साउदी अरेबियाको दमाममा हिमालय एयरलाइन्सले आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि साताको चार उडान गर्ने अनुमति पाएको छ । मलेसियाको क्वालालाम्पुरमा नेपाल एयरलाइन्सले बुधबार र शनिबार गरि सातामा दुई उडान गर्नेछ ।

हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार जहाज उडाउने छ ।

जजिरा एयरवेजले कुवेतमा सोमबार, मंगलबार, बुधबार, बिहीबार र शनिबार गरि कुल पाँच उडान गर्नेछ ।  सलाम एयरले ओमानको मस्कटमा सोमबार, बुधबार र शनिबार गरी कुल तीन उडान गर्ने गरि अनुमति पाएको छ ।

एयर अरेबियाले आबुधाबीमा आइतबार र मंगलबारको उडान तालिका पाएको छ । सिंगापुर एयरको जहाज हरेक आइतबार काठमाडौं आउने छ ।

सरकारले अहिले हवाई उडान खुला गरेका गन्तब्यमा थप उडान आवश्यक भए त्यसको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

तर, कोरोना भाइरसको महामारीको अवस्था हेरी तोकिएको तालिकामा समेत थपघट भने हुन सक्ने प्राधिकरणको भनाइ छ । सबै वायुसेवा कम्पनीले तोकिएका स्वास्थ्य मापदण्ड र आवश्यक कागजातको निश्चित गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment