+
+
Shares

देउवाको पक्षमा संस्थापन समूह एक ढिक्का

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २६ गते २३:०१

२६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले पार्टी सभापतिमा शेरबहादुर देउवाको पक्षमा अभियान थालेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरु शनिबार मध्यबानेश्वरस्थित आनन्द पार्टी भेन्यूमा भेला भएका थिए, जहाँ देउवालाई कसरी जिताउन सकिन्छ भनेर छलफल भएको छ ।

भदौ १६–१९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने कार्यतालिका अनुमोदन भएकै दोस्रो दिन केन्द्रीय सदस्यहरुलाई बोलाएर सभापतिमा दोहोरिने औपचारिक जानकारी गराएका थिए । लगातार दुई दिन प्रदेशगत रुपमा आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरेका उनले महाधिवेशनको तयारीमा जुट्न निर्देशन समेत दिएका थिए ।

शनिबार भएको छलफल सभापति देउवालाई महाधिवेशनबाट कसरी विजयी गराउने भन्नेमा केन्द्रीत रहेको केन्द्रीय सदस्य वीरबहादुर बलायरले जानकारी दिए । ‘पार्टी सभापतिले पहिलो कार्यकालमा सोचे अनुसार पार्टीलाई अगाडि बढाउन सकिन । अब दोस्रो कार्यकालमा देशकै ठूलो र बलियो पार्टी बनाउँछु भन्नुभएको छ,’ बलायरले अनलाइनखबरसँग भने, ‘संस्थापन समूह देउवाको उम्मेदवारीप्रति एक ठाउँमा छ ।’

छलफलमा केन्द्रीय पदाधिकारी र क्रियाशील सदस्यता छानविन समितिमा रहेका नेताहरुलाई भने बोलाइएको थिएन । सहभागीहरुलाई सम्बोधन गर्दै नेता बालकृष्ण खाणले कांग्रेसका लागि मात्र नभई मुलुककै लागि देउवाको नेतृत्व आवश्यक रहेको बताए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले देउवाको नेतृत्व खोजेको उनको तर्क थियो । ‘देशले नै देउवाजीको नेतृत्व खोजेको छ यस्तो बेलामा कांग्रेसमा पनि उहाँकै नेतृत्व आउन हामी सबैका लागि सुखद नै हुन्छ,’ नेता खाणले भने, ‘१४औं महाधिवेशनमा देउवाजीलाई सकेसम्म सर्वसम्मत, नभए मित्रवत् प्रतिस्पर्धाबाट जिताउँछौं ।’

संस्थापन समूहमा रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तर छलफलमा सहभागी नेताहरुले एक ढिक्का बनाएर देउवालाई जिताउनुपर्ने बताएका छन् ।

छलफलमा केन्द्रीय सदस्य खाण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङदाम्बे, महेश चौरासिया, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, डा. डिला संग्रौला, पार्वती डिसी चौधरी, महेन्द्र यादव, अजय चौरासिया, किरण गिरी लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?