Comments Add Comment

अर्जेन्टिनालाई च्याम्पियन बनाउने नायक स्कालोनी : २००६ मा मेस्सीसँगै खेलेका थिए विश्वकप

अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी र कप्तान मेस्सी । जसले २००६ मा सँगै विश्वकप खेलेका थिए।

२९ असार, काठमाडौं । अर्जेन्टिनाले आइतबार २८ वर्षे अन्तर्राष्ट्रिय उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा यो जेनेरेसनकै उत्कृष्ट खेलाडी लिओनल मेस्सीको चर्चा धेरै भयो । स्वभाविक पनि थियो । मेस्सीले राष्ट्रिय टिमका लागि यसअघि चार फाइनल हारिसकेका थिए । पाँचौ प्रयासमा सफल भए र १६ वर्षे अन्तर्राष्ट्रिय करियरमा पहिलो मुख्य उपाधि जिते ।

कोपा च्याम्पियन बनेसँगै स्पानिस क्लब बार्सिलोनामा सबै जित्ने अर्जेन्टिनामा केही नजित्ने भनेर मेस्सीलाई लाग्ने गरेको दाग अब हटेको छ।

मेस्सीसँगै तीन फाइनलमा पराजित भएका फरवार्ड सर्जियो अगुएरो र मिडफिल्डर एन्जल डि मारियाले पनि सिनियर टिमका लागि पहिलो उपाधि जिते । यस्तै डिफेण्डर निकोलास ओटामेन्टीले पनि यसअघि दुई कोपा फाइनल खेलेका थिए । उनले पनि पहिलो पटक जिते ।

अन्य युवा खेलाडीहरुले पनि पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जिते ।

अर्जेन्टिनालाई १९९३ पछि कोपा च्याम्पियन बनाउने क्रममा २८ वर्षीय गोलकिपर एमिलियानो मार्टिनेजको प्रदर्शन शानदार रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भएका उनले सेमिफाइनलमा कोलम्बियाविरुद्ध सुटआउटमा तीन पेनाल्टी रोके । कुल ६ खेल खेल्दा फाइनलसहित ४ खेलमा क्लिनसिट राखे ।

यस पटक अर्जेन्टिना टिम युनिटको रुपमा राम्रो खेल्दै उपाधि जित्यो ।

१९९३ मा कोपा जितेपछि अर्जेन्टिनाले चार पटक कोपा, एक पटक फिफा विश्वकप र दुई पटक कन्फेडेरेसन कपको फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन । तर यस पटक भने अर्जेन्टिनाले फाइनलमा ब्राजिललाई उसैको मैदानमा हराएर उपाधि जित्यो ।

अर्जेन्टिनाको जितको नायक

अर्जेन्टिनाले उपाधि जित्दा स्वभाविक रुपमा मेस्सीको चर्चा भयो । उनले प्रतियोगितामा लुइस डियाजंगै सर्वाधिक ४ गोल गरे । साथै मेस्सीले उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड पनि जिते ।

अर्जेन्टिनालाई कोपा च्याम्पियन बनाउन पर्दा पछाडिका नायकका रुपमा थिए लिओनल स्कालोनी ।

अर्जेन्टिनाका पूर्वखेलाडी समेत रहेका स्कालेनीले २०१८ देखि अर्जेन्टिनाको प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१९ मा उनको पहिलो कोपामा अर्जेन्टिनामा सेमिफाइनलमा ब्राजिलसँग पराजित हुँदै बाहिरिएको थियो । दुई वर्षपछि त्यही ब्राजिललाई फाइनल हराएर उपाधि जित्न सक्षम टिम स्कालेनीले नै बनाए ।

सन् २०१८ मा होजे साम्पाओलीको सहायकको रुपमा स्कालोनी स्पानिस क्लब सेभियामा अनुबन्ध भए । २०१७ मा साम्ओली अर्जन्टिनाको प्रशिक्षक बनेपछि स्कालोनी पनि सँगै सहायकको रुपमा रहे ।

तर सन् २०१८ मा रुसमा भएको विश्वकपको अन्तिम १६ बाटै बाहिरिएपछि होजे साम्पाओलीले टिम छाडे । त्यसपछि स्कालोनी कार्यवाहक प्रशिक्षक चयन भए । उनीसँगै पाब्लो अइमार पनि टिममा थिए ।

स्कालोनीको कार्यवाहक प्रशिक्षकको रुपमा ६ खेलको प्रशिक्षण सम्हाले । त्यसपछि अर्जेन्टाइन फुटबल संघले उनलाई २०१९ को कोपा अमेरिकासम्मका लागि अर्जेन्टिनाको स्थायी प्रशिक्षकको रुपमा नियुक्त गर्‍यो ।

२०१९ को कोपामा अर्जेन्टिना तेस्रो भयो । तर स्कालोनी प्रशिक्षकमा निरन्तर रहे ।

अहिले च्याम्पियन बन्दा पनि स्कालोनीसँगै पूर्व खेलाडीहरु पाब्लो अइमार रोबर्टो आयला वाल्टर सामुएल कोचिङ स्टाफमा थिए ।  खेलाडीको रुपमा उनीहरुले महत्वपूर्ण उपाधि जित्न नसके पनि प्रशिक्षकको रुपमा जिते ।

स्कालेनीले अन्तिमपटक सन् २००६ को विश्वकप खेलेका थिए । जहाँ अर्जेन्टिना क्वाटरफाइनलमा जर्मनीसँग पेनाल्टीसुटआउटमा पराजित हुँदै बाहिरिएको थियो ।

अहिलेको च्याम्पियन टिम बनाउने आधार स्कालेनीले पहिले नै शुरु गरिसकेका थिए । २०१९ को कोपा सेमिफाइनलमा ब्राजिलसँग हारेपछि अर्जेन्टिनाले अहिले च्याम्पियन बन्दासम्म २० खेलमा अपराजित छ ।

अन्तिम खेल ब्राजिलसँग हारेको अर्जेन्टिनाले त्यही ब्राजिललाई २ पटक हराइसकेको छ । २०१९ को नोभेम्बरमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो । त्यसपछि १३ खेलसम्म अपराजित रहेको ब्राजिलको यात्रा अर्जेन्टिनाले यस पटक कोपा फाइनलमा ब्रेक गरिदियो ।

स्कालोनी प्रशिक्षक बनेपछि अर्जेन्टिनाले ३४ खेल खेलेकोमा २० खेल जितेको छ । यस्तै १० खेल बराबरी गर्दा जम्मा ४ खेलमा मात्र पराजित भएको छ । स्कालोनीले सम्हालेपछि अर्जेन्टिना मैत्रीपूर्ण खेलमा ब्राजिल र भेनेजुएलासंग पराजित भएको थियो । यस्तै २०१९ को कोपामा कोलम्बिया र ब्राजिलसँग पराजित भएको थियो ।

अर्जेन्टिनालाई २८ वर्षपछि पहिलो उपाधि दिलाएका स्कालोनीले यो ठूलो उपाधि भएको बताएका थिए ।

टिम मेटदेखि च्याम्पियनसम्म

लिओनल स्कालेनीले प्रशिक्षकको रुपमा र लिओनल मेस्सीले खेलाडीको रुपमा पहिलो मुख्य उपाधि जिते । तर धेरैलाई थाहा नहोला यी दुई कुनै बेला राष्ट्रिय टिममा टिममेट नै थिए । अर्जेन्टिनाका लागि सँगै समेत खेले ।

रमाइलो तथ्य के छ भने अहिलेका सुपरस्टार तथा अर्जेन्टिनाका कप्तान मेस्सीले पहिलो पटक त्यही विश्वकप खेलेका थिए जुन स्कालोनीको अन्तिम थियो । २००६ को विश्वकपमा यी दुई अर्जेन्टिनी टिममा खेलाडी थिए ।

अनी अर्को रमाइलो के छ भने त्यो विश्वकपमा स्कालेनी र मेस्सीले सँगै खेल्ने अवसर समेत पाए । मेक्सिको विरुद्ध प्रिक्वाटरफाइनलमा स्कालोनीले पहिलो रोजाइमा खेल्दै पूरा समय मैदानमा बिताएका थिए । मेस्सी भने ८४औं मिनेटमा ह्याभिएर साभिओलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment