Comments Add Comment

एसईईको नतिजा साउन मसान्तभित्र दिने तयारी

३१ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

‘अहिलेसम्मको हाम्रो तयारी साउन मसान्तभित्र परीक्षाफल प्रकाशित गर्ने हो । साउन पहिलो हप्ताभित्र सबै जिल्लाबाट मूल्यांकन नतिजा प्राप्त भयो भने सकिन्छ’ उनले भने ।
उनका अनुसार हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको छ । बाढी पहिरो, निषेधाज्ञा, विद्यालयले पठाएको नतिजामा समस्या देखिएको कारण देखाएर धेरैजसो जिल्लाले परीक्षा नियन्त्रण कार्यालयमा रिपोर्ट पठाएका छैनन् ।

कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८ अनुसार विद्यार्थीको मूल्यांकन नतिजाको हार्डकपी र सफ्टकपी विद्यालयले असार २० भित्र जिल्ला शिक्षा विकास समन्वय इकाइलाई दिनुपर्ने थियो । त्यसपछि इकाइले असार मसान्तभित्र परीक्षण नियन्त्रण कार्यालयमा बुझाउने व्यवस्था थियो ।

गत जेठ १३ गतेदेखि तय भएको माध्यमिक शिक्षा परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने कार्यविधि बनाएको थियो ।

यस वर्षको एसईईको मूल्यांकन गर्दा विषय शिक्षकले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मकको लागि २५ प्रतिशत अंक दिन पाउनेछन् ।

प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र निर्णयात्मक ७५ प्रतिशत मूल्यांकन आधार तोकिएको छ । विषय शिक्षकले कार्यविधिले तोके अनुसार गरेको मूल्यांकन विद्यालयकै मूल्यांकन समितिलाई पेश गर्नुपर्छ ।

मूल्यांकन समितिले रुजु गरी जिल्ला शिक्षा समन्वय इकाइमा पठाउँछ र जिल्ला समन्वय इकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment