Comments Add Comment

बीपी प्रतिष्ठान आन्दोलन : दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द

फाइल तस्वीर

१ साउन, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सुधारको माग गर्दै एक महिनादेखि आन्दोलनरत् चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले दुई घण्टा आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका छन् ।

प्रतिष्ठानमा सुधारको माग गर्दै असार १ गतेबाट आन्दोलन शुरु गरेका उनीहरुले शुक्रबारदेखि दुई घण्टा आकस्मिक बाहेकका सेवा बन्द गर्न थालेका हुन् ।

शुक्रबार बिहान ८ देखि १० बजेसम्म आन्दोलनरत् कर्मचारी, चिकित्सक र विद्यार्थीले काम नगरेको प्रतिष्ठान शुद्धीकरण अभियान संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । आकस्मिक सेवा, कोभिड उपचार र परीक्षा नरोकिने र माग सम्बोधन नभएसम्म दुई घण्टा अन्य सेवा बन्द गर्ने काम उनले बताए ।

उनीहरु प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, वर्तमान पदाधिकारीको बर्हिगमन, भ्रष्ट्राचार र आर्थिक अनियमितता रोक्न फास्ट ट्रयाकबाट छानबिनलगायत माग राखेर आन्दोलनमा छन् ।

आन्दोलनरत् पक्षले गत असार १५ गते प्रतिष्ठानका पदाधिकारीसँग छलफल गरेका थिए । तर छलफलमा उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी मदिरा सेवन गरेर पुगेपछि वार्ता भाँडिएको थियो । वार्ताका लागि कुलपति समेत रहेका प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने उनीहरुको माग छ ।

प्रतिष्ठानका उपकुलपति गिरीले बिहीबार आन्दोलनरत् कर्मचारी, चिकित्सक र विद्यार्थीलाई वार्तामा बोलाएका थिए । तर संघर्ष समितिले उपकलुपतिसँग वार्तामा नबस्ने बताएको छ ।

संघर्ष समितिका संयोजक डा. रिमालले उपकुलपति गिरीसँग वार्ता आह्वान गर्ने नैतिक हैसियत नै नरहेको जिकिर गरे । आन्दोलनमा रहेकाहरुलाई सम्बोधन गर्दै ६ पेज लामो पत्र लेखेका प्रतिष्ठानका उपकलुपति गिरीले बिहीबार वार्ताको अपील गरेका थिए ।

उनले गरेको सार्वजनिक अपीलमा प्रतिष्ठानमा रहेको २७ वर्ष पुरानो फोहोर फाल्ने क्रममा आफूलाई पनि छिटा लागेको दाबी गर्दै प्रतिष्ठान सुधार गर्ने बताएका छन् ।

संघर्ष समितिका संयोजक रिमाल बैठक हलमा मदिरा सेवन गरेर आएदेखि नै उपकुलपतिले छलफल गर्ने नैतिक हैसियत गुमाएको बताए । ‘हाम्रो माग पदाधिकारीहरुको बर्हिगमन हो,’ उनले भने, ‘६ पेज लामो अपीलभन्दा प्रश्न उठेको प्राध्यापक उपाधि र मापसेको विषयमा माफी मागे हुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment