Comments Add Comment

जेफ बेजोससँग अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक को हुन् ?

१८ वर्षका ओलिभर डायमेन संसारमै सबैभन्दा कम उमेरमा अन्तरिक्षमा जाने व्यक्ति बन्दैछन् । उनी आगामी जुलाई २० मा अमेजनका निवर्तमान सीईओ जेफ बेजोससँग उनको कम्पनीको पहिलो मानवीय उडानमार्फत् अन्तरिक्षमा जानेछन् र सबैभन्दा कम उमेरका अन्तरिक्ष पर्यटक बन्नेछन् ।

वास्तवमा ओलिभर डायमेनलाई यो अद्धितीय मौका एक अज्ञात व्यक्तिका कारण प्राप्त भएको हो । ती व्यक्तिले बेजोससँगै अन्तरिक्ष यात्रामा जानका लागि २ करोड ८० लाख अमेरिकी डलरमा अन्तरिक्षयानको टिकट खरीद गरेका थिए ।

जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनका अनुसार २ करोड ८० लाख डलरमा टिकट खरीद गर्ने ती व्यक्तिको समयको अभावका कारण अन्तरिक्ष यात्रामा जान नसक्ने भएपछि उनको ठाउँमा १८ वर्षे युवा डायमेनले ऐतिहासिक मौका पाए ।

स्मरण रहोस् ओलिभर डायमेन नामका ती युवा वित्तिय कम्पनी सोमरसेट क्यापिटल पार्टनर्सका सीईओ जोएस डायमेनका छोरा हुन् ।

ब्लू ओरिजिनका अनुसार जोएस डायमेनले दोश्रो उडानका लागि सिट बुक गराएका थिए त पहिलो विजेताले आफ्नो नाम फिर्ता लिएसँगै उनलाई मौका दिइएको हो । सुरुमै आफ्नो पालो आएपछि जोएसले आफ्नो साटो आफ्ना छोरालाई अन्तरिक्षमा पठाउने निर्णय गरे ।

ब्लू ओरिजनले जनाए अनुसार ओलिभर डायमेन भौतिकशास्त्रका विद्यार्थी हुन् ।

ओलिभरसँगै यस अन्तरिक्षयात्रामा ८२ वर्षीया वाली फंक पनि सहभागी हुनेछिन् । सो उडानसँगै वाली पनि अन्तरिक्षमा पुग्ने संसारकै सबैभन्दा वृद्ध व्यक्ति बन्नेछिन् ।

त्यसैले जेफ बेजोसको उक्त अन्तरिक्ष उडान किर्तिमानले भरिएको हुनेछ । जहाँ संसारकै सबैभन्दा कम उमेरका र सबैभन्दा पाको उमेरका व्यक्ति अन्तरिक्षमा पुग्नेछन् ।

उनीहरु तिनजना बाहेक न्यू शेर्फड रकेटको उक्त उडानमा जेफ बेजोसका भाइ पनि सँगै हुनेछन् ।

अन्तरिक्ष यात्राका क्रममा भएको टिकट लिलामीका क्रममा २ करोड ८० लाख डलरमा टिकट बिक्रि भएको बताइएपनि टिकट विजेताको नाम कम्पनीले हालसम्म सार्वजनिक गरेको छैन । उडानको मिति निकै नजिक आइसक्दा अन्ततः ती विजेता समय अभावका कारण उडानमा जान नसक्ने भएकोले उनको ठाउँमा एक युवकलाई उडाइने ब्लू ओरिजिनले घोषणा गरेपछि धेरै मानिस अचम्ममा परेका छन् ।

खिर त्यति महंगोमा टिकट खरीद गर्ने व्यक्ति कुन व्यस्तताले गर्दा उडान रद्द गरी नाम फिर्ता लिए ? भन्ने कुराको प्रष्ट जानकारी पनि कम्पनीले दिएको छैन । साथै ओलिभर

डायमेनको उडान टिकटका लागि उनका बुवा जोएस डायमेनले कति रकम तिरेका हुन् भन्ने पनि ब्लू ओरिजिनले खुलाएको छैन ।

कम्पनीले भनेको छ- यो उडानबाट ओलिभरको त्यो सपना पूरा हुनेछ जुन उनले चार वर्षको उमेरदेखि अन्तरिक्ष, चन्द्रमा र रकेटहरुलाई लिएर देख्ने गर्दथे ।

ब्लू ओरिजिनको योजना आफ्ना यात्रुहरुलाई पृथ्वीको सतहबाट १ सय किलोमिटर भन्दा माथि लैजाने हो जहाँ यात्रुहरुले माइक्रोग्राभिटीको अनुभव गर्न सक्नेछन् । माइक्रोग्राभिटीमा गुरुत्वाकर्षण निकै कमजोर हुन्छ र मानिसहरुले झण्डै तौल वीहिनताको अनुभव गर्न सक्दछन् ।

उक्त यात्रा झण्डै १० मिनेटमा पूरा हुने अपेक्षा गरिएको छ र यात्रुहरु प्याराशूटबाट पृथ्वीमा अवतरण गर्नेछन् ।

जेफ बेजोस संसारका सबैभन्दा धनी व्यक्ति हुन् । उनले सन् २००० मा ब्लू ओरिजिन नामक अन्तरिक्ष कम्पनी स्थापना गरेका थिए ।

अघिल्लो महिना उनले आफ्नो कम्पनीले निर्माण गरेको रकेटबाट अन्तरिक्ष यात्रामा निस्किने घोषणा गरेका थिए ।

जेफ बेजोसको यो उडानसँगै उनी आफ्नै लगानीको रकेटमार्फत् अन्तरिक्षमा पुग्ने दोश्रो अर्बपति बन्नेछन् । स्मरण रहोस् भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नो कम्पनीको रकेट जहाजमार्फत् गत हप्ता सफलतापूर्वक अन्तरिक्षमा पुगेर फर्किएका थिए ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment