Comments Add Comment

प्रधानमन्त्रीलाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आज अपरान्ह  ४ बजे आह्वान गरिएको संसद अधिवेशनमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यक्रम तय गरिएको छ। त्यसैमा केन्द्रित भएर दलको बैठक बसेको र प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरिएको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिए ।

उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने दावी गरे । नेकपा माओवादी केन्द्रले नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको जनाएको छ । नेता यादवले भने, ‘माधव जीहरुलाई पनि सरकारमा आउने हो भने विशेष माया गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री देउवाले आजै आह्वान गरिएको संसद अधिवेशनमा विश्वासको मत लिने कार्यक्रम छ । माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउँदैनन् भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ ।

हाल माओवादी केन्द्रका सभामुखबाहेक ४८ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment