Comments Add Comment

सिन्धुपाल्चोक पुगेर फर्किए कलाकार, बाढी प्रभावितलाई पक्की घर बनाइदिने

असार १ गते आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, दनुवारबस्ती लगायतका स्थान सर्वाधिक प्रभावित बने । अधिकांशको घर समेत बाढीले बगायो । यसपछि, यी बस्तीहरुमा खाद्यान्न र लत्ताकपडाको सहयोग उपलब्ध गराउन कलाकारहरु पनि पुगे । बाढी प्रभावित बासिन्दाहरुले भने आफूहरुलाई खाद्यान्न भन्दा पनि घर नै चाहिएको बताउँदै आएका थिए ।

बाढी गएको केही समयपछि कलाकर्मीहरुले ‘सिन्धु सहयोग कोष’ गठन गर्दै आर्थिक सहयोग जुटाउन थालेका थिए । यो कोषमा कलाकारहरुले नै ३२ लाख रुपैयाँ जम्मा गरिसकेका छन् ।

यसैविच, अब यो कोषबाट कलाकर्मीहरुले घर निर्माणको काम सुरु गर्ने भएका छन् । ‘सिन्धु सहयोग कोष’को टिम सिन्धुपाल्चोक पुगेर फर्किएको छ । कलाकर्मीहरुको टिमले दनुवारबस्तीमा घर निर्माणको सुरुवात गर्ने बताएको छ । यो कोषका संयोजक कृष्ण मल्लले अनलाइनखबरसँग भने–‘हामीले अहिले नै कतिवटा घर बनाउने भन्ने बिषयमा निर्णय गरिसकेका छैनौं । दनुवारबस्ती र हेलम्बुमा पुगेर फर्किएका छौं । दनुवारबस्तीमा १९ वटा घर रहेछ । पहिलो चरणमा दनुवारबस्तीमा नै घर बनाउने बिषयमा कुरा भैरहेको छ ।’

यसपछि भने अन्य ठाउँमा पनि घर बनाउने बिषयमा कुरा हुने मल्लको भनाई छ । उनले भने–‘हामीले २ तलाको पक्की घर नै बनाउने हो । एउटा घर बनाउन करिब १० लाख रुपैयाँ लाग्छ कि भन्ने अनुमान छ । स्थानिय सरकारले जग्गा उपलब्ध गराएपछि घर बनाउन सुरु गर्छौ ।’

अहिलेसम्म कलाकारहरुबाट मात्र रकम उठाएपनि अब सिन्धुपाल्चोककै व्यापारीहरुसँग पनि बसेर छलफल गर्ने मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment