Comments Add Comment

सुर्खेतमा जारी निषेधाज्ञा १५ साउनसम्म थपियो, परीक्षा सञ्चालन गर्न पाइने

सुर्खेत उपत्यका । फाइल फोटो

८ साउन, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । थपिएको निषेधाज्ञाको अवधिमा पुस्तकालय सञ्चालन गर्न अनुमति नदिएको प्रशासनले परीक्षा भने सञ्चालन गर्न सकिने बताएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘पछिलो समय जिल्लामा कोरोना संक्रमितको दर स्थिर छ, अझैपनि जोखिम कायमै छ, पहिलेको भन्दा केही खुकुलो बनाएर साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ,’ प्रजिअ रिजालले भने ।

प्रजिअ रिजालका अनुसार कोभिड–१९ सम्वन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्लामा सबै तहका परिक्षा सञ्चालन गर्न सकिने छ ।

तर, जनस्वास्थ्यविज्ञहरुले भने कोरोना महामारीको जोखिम कायमै रहेकाले भीडभाड नगर्न भनिरहेका छन् । यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम झनै बढ्न सक्ने देखिन्छ ।

यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि २ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि साँझ ६ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।

होटल, रेष्टुरेन्ट र खाजा पसल भने कुल क्षमताको ५० प्रतिसत नबढ्ने गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित खोल्न पाइने प्रशासन जनाएको छ । सैलुन, व्युटी पार्लर, जिमखाना, पुस्तकालय भने पूर्णरुपमा बन्द हुनेछन् ।

प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरमा दैनिकजसो सयौं मान्छेको आवत–जावत भइरहेको हुन्छ । प्रशासनले २५ जनाभन्दा बढी व्यक्तिहरु सामेल भएर कार्यक्रमहरु सञ्चालन गर्न नपाइने भनिरहेको छ । तर, सरकारी तवरबाट नै यस्ता गतिविधिहरु वीरेन्द्रनगरका ठुला होटेलहरुमा दैनिकजसो भइरहन्छन् ।

बजारमा प्रशासनको निर्देशनअनुसार कुनै स्वास्थ्यका मापदण्ड अपनाइएको देखिदैन । केही समय अघिसम्म कोरोनाका बिरामी ह्वात्तै घटेको प्रदेश अस्पतालमा पुनः जटिल खालका कोरोनाका बिरामीहरु भर्ना हुन थालेको अस्पतालले बताएको छ ।

सुर्खेतमा वैशाख १५ गतेयता निषेधाज्ञा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment