Comments Add Comment

अमेरिकाका एक कोरोना संक्रमित २०३ दिनपछि अस्पतालबाट डिस्चार्ज

२०३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका सिन हन्ट (बायाँ) र उनकी पत्नी

१३ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएपछि अस्पताल भर्ना भएका अमेरिकाका एक व्यक्ति २०३ दिनपछि डिस्चार्ज भएका छन् । सिन हन्ट नाम गरेका ती व्यक्तिको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । ५८ वर्षीय हन्टले अस्पतालमा उपचारको क्रममा आधाभन्दा धेरै समय आईसीयूमा बिताएका थिए ।

गत जनवरीमा बिरामी परेपछि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण देखिनुभन्दा पहिला मधुमेह र प्यांक्रियाटिटिजको समस्या देखिएको थियो ।

अस्पतालमा सबैभन्दा लामो समय बस्ने बिरामी रहेका हन्टलाई परिवारले आशा मारिसकेका थिए । तीनपटक उनीहरु अन्तिम बिदाइको लागि अस्पताल आएका थिए । पेशाले शिक्षक हन्टलाई भेन्टिलेटरमा राखिएको थियो र डाक्टरहरुलाई पनि अब उनी बाँच्छन् भन्ने लागेको थिएन ।

हन्टले पनि आफूलाई अब धेरै सय समय बाँचिदैन भन्ने लागेको बताएका थिए । उनलाई डाक्टरहरुले पनि अब लामो समय बाँच्न नसक्ने बताइसकेका थिए । प्यांक्रियाटिटिजको उपचारको क्रममा सातपटक उनको अपरेसन गरिएको थियो । शरीरका धेरै अंगहरुले काम गर्न छाडिसकेको र दुईवटा रोग एकै समय लागेकाले उनको बाँच्ने सम्भावना निकै कम देखिएको उपचारमा संलग्न डाक्टर भास्कर कुमार बताउँछन् । तर, डाक्टरहरुले आफ्नो तर्फबाट प्रयास भने जारी राखे ।

शुक्रबार अस्पतालबाट डिस्चार्ज भएपछि हन्टले मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरे । ‘यो रोग लाग्ने जोखिम निकै कम हुनु निकै ठूलो कुरा हो,’ उनले भने, ‘तपाईंले आफ्नो  र आफ्ना प्रिय मान्छेहरुलाई सुरक्षित गर्न खोप लगाउनुपर्छ । यो धेरै ठूलो कुरा हो ।’

अहिले हन्टलाई हिँड्नको लागि कसैको सहारा चाहिन्छ । छिट्टै नै पहिले जसरी नै हिँड्न सक्ने उनले विश्वास लिएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment