+
+

शेरबहादुर सरकारको एक महीने कार्यकालको शल्यक्रिया

डा. राजु अधिकारी डा. राजु अधिकारी
२०७८ भदौ ३ गते १२:३२

प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवा बसेको एक महीनाभन्दा बढी भयो। सामान्यत: सरकारले काम सम्हालेको एक सय दिनलाई यसको ‘हनिमुन’ समय भनेर त्यो मान्दा पहिले सरकारको मूल्याङ्कन गरिंदैन । तर शेरबहादुर देउवाको सरकारले एक महीनामा सरकारलाई पूर्णता मात्र दिन नसकेको हैन, धेरै अलोकप्रिय कामहरू पनि गरिसकेको छ । त्यसैले एक महीनामै यो सरकारको मूल्याङ्कन गर्दा पनि न्यायसङ्गत नै हुन जान्छ ।

२०७४ सालको आम निर्वाचनमा नराम्ररी पराजित भएपछि चार वर्ष पनि नपुग्दै फेरि प्रधानमन्त्रीको कुर्सीमा विराजमान बन्ने कल्पना देउवाले शायद सपनामा पनि गरेका थिएनन् होला । तर उनका ज्योतिषीले भने जस्तै धेरैपटक प्रधानमन्त्री बन्ने कुरा शायद प्रारब्धमै लेखेर आएका देउवालाई ठूलै चिठ्ठा पर्‍यो र उनी अप्रत्यासित रूपमा पाँचौं पटक प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन पुगे ।

त्यसो त यो सरकार देउवाको नियन्त्रणमा छैन, उनी त कठपुतली मात्र हुन् भन्ने तथ्य घाम जस्तै छर्लङ्ग छ । प्रष्ट शब्दमा भन्नुपर्दा यो सरकार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको सरकार हो । सरकारका हरेक कामकारबाही र निर्णयमा माधव नेपाल र प्रचण्ड हावी हुने गरेका छन् । यो उनीहरूको बानी नै हो । उनीहरूले ओली सरकारलाई पनि त्यसरी नै चलाउन खोज्दा ओलीले मानेनन् र ओली सरकारले पनि सत्ताच्यूतको नियति भोग्यो ।

माधव नेपाल र प्रचण्डले त्यही अभ्यास देउवा सरकारमा पनि गर्न शुरु गरिसकेका छन् । शेरबहादुर देउवा माधव नेपाल र प्रचण्डको राजनीतिको गोटी बनेर सत्तारोहण गरेर प्रधानमन्त्रीको कुर्सीमा बन्धक बनाइएका छन् । बाहिरबाट देख्दा उनी प्रधानमन्त्रीको कुर्सीमा शानपूर्वक बसेका देखिएलान् तर उनका हातपाउहरू अदृश्य डोरीहरूले बाँधिएका छन् ।

उनी न त त्यो कुर्सीबाट उठ्न सक्छन् न त त्यसको विरोध नै गर्न सक्छन् । उनी अमूक छन्, असहाय र निरीह छन् । तर त्यसो भन्दैमा सबै दोष प्रचण्ड र माधव नेपाललाई लगाएर उनी आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन । सरकारको नेतृत्व गरिसकेपछि त्यसको सफलता या असफलताको जिम्मेवार प्रधानमन्त्री नै हुनुपर्छ ।

प्रधानमन्त्रीको रूपमा देउवाको ‘ट्र्याक रेकर्ड’ राम्रो छैन । विगतमा चारपटक प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका उनका कम्तीमा पनि तीन कार्यकालहरू द्वन्द्व, भ्रष्टाचार, कुशासन र बेथितिका पर्यायवाची बने । उनी पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री हुँदा माओवादीले सरकार विरुद्ध सशस्त्र युद्ध शुरु गर्‍यो र देश दशवर्षे गृहयुद्धमा होमियो। २०५८ मा उनी दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले आफ्नो दल मात्र विभाजन गरेनन्, संसद किनबेच जस्तो घृणित अभ्यास नेपाली राजनीतिमा शुरु गरे अनि देशमा संकटकाल पनि लगाए ।

तेस्रोपटक २०६१ मा प्रधानमन्त्री बन्दा उनले अक्षमको पगरी मात्र लगाएनन्, उनीबाटै राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर निरंकुश शासन शुरु गरे । उनको चौथो कार्यकाल पहिलेको जस्तो विवादास्पद नरहे पनि सन्तोषजनक चाहिं रहेन । चौथो कार्यकालमा उनले सिद्धान्तमा आफ्नो सबभन्दा ठूलो दुश्मन माओवादीसँग सहकार्य मात्र गरेनन्, स्थानीय र राष्ट्रिय निर्वाचनमा नेपाली काङ्ग्रेसलाई कमजोर दल बनाए ।

बाहिरबाट देख्दा प्रधानमन्त्रीको कुर्सीमा शानपूर्वक बसेका देखिएलान् तर उनका हातपाउहरू अदृश्य डोरीले बाँधिएका छन् । उनी न त त्यो कुर्सीबाट उठ्न न त्यसको विरोध नै गर्न सक्छन् । उनी अमूक, असहाय र निरीह छन् ।

समस्याका चाङबीच प्रधानमन्त्री देउवाको पाँचौं पटक सत्तारोहण भएको छ । यस्तो अवस्थामा देउवाको यो सरकारबाट जनताले खासै कुनै अपेक्षा गरेका छैनन् । यो सन्दर्भमा आइन्सटाइनको एउटा चर्चित भनाइ उल्लेख गर्नु सान्दर्भिक हुन जान्छ- एउटै काम गरिरहने तर फरक नतिजा खोज्ने भनेको मूर्खता हो ।

देउवाको सन्दर्भ पनि ठ्याक्कै त्यस्तै हो । पहिले चार चारपटक असफल भैसकेका देउवाले यो पटक पहिलेको भन्दा फरक नतिजा देलान् भनेर अपेक्षा गर्नु मूर्खता बाहेक केही हैन ।

आइन्सटाइनको भनाइलाई गलत सावित गर्ने गरी देउवाले विगतमा बिग्रेको आफ्नो छवि यो कार्यकालमा सुधार्न चाहे पनि आफ्नै दलभित्र र सत्ता गठबन्धनका समस्याहरूले गर्दा उनी केही गर्न सक्ने स्थितिमा छैनन् ।

त्यसो त यो एक महीनामा देउवा सरकारले कुनै पनि राम्रा कामहरू नगरेको भने हैन। तर सरकारको मूल्याङ्कन गर्दा सरकारले कति राम्रा कामहरू गर्‍यो भन्दा पनि कति नराम्रो काम गर्‍यो भन्नेमा बढी केन्द्रित हुने गरिन्छ । किनभने राम्रो काम गर्नको लागि जनताले उनीहरूलाई सरकारमा पठाएका हुन्छन् र सरकारमा जानेहरू पनि सबै राम्रा काम गर्ने वाचासहित गएका हुन्छन् ।

त्यसैले यो लेख पनि उनले यो अवधिमा गरेका राम्रा कामहरूलाई उल्लेख नगरी नराम्रा कामहरूमा केन्द्रित गरिएको छ । यसो भन्दैमा उनले गरेका केही सकारात्मक कामहरूको नजरअन्दाज गरिएको भने हैन । तर देउवा सरकारले गरेका नगण्य सकारात्मक कामको तुलनामा यसले गरेका अलोकप्रिय कामहरुको सूची निकै लामो बन्न पुग्छ । यो सरकारको आफ्नो असफलता पुष्टि गर्न बल पुग्ने केही महत्वपूर्ण कामहरूको सूची बनाउँदा निम्न बमोजिम कामहरू देखिन्छन् :

  •  प्रधानमन्त्री बन्ने वित्तिकै उनले भ्रष्टाचारको मुद्दा खेपिरहेका विजय गच्छदारलाई धरौटीमा छोड्न लगाए।
  •  उनले सत्ता सम्हालेको एक महीना भन्दा बढी बितिसक्यो तर पनि सरकारले पूर्णता पाउन सकेको छैन । पाँचजनाको मन्त्रिमण्डलले सरकार धानेको छ। नेपालको इतिहासमा सबभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएर रेकर्ड राखेका देउवाले पाँच जना मन्त्रीले एक महीनाभन्दा बढी सरकार चलाएर अर्को रेकर्ड राखेका छन् । यति लामो समयसम्म सरकारलाई पूर्णता दिन नसक्नु सरकारको चरम अक्षमता हो ।
  •  महाकाली नदीमा तुइनबाट नदी तर्न लागेका नेपाली युवालाई भारतीय सीमा सुरक्षा बलले तुइन काटेर महाकाली नदीमा खसाल्यो । ती युवाको स्थिति अहिलेसम्म अज्ञात छ । निरीक्षण टोलीले भारतीय सीमा सुरक्षा बलले लौरो तानेर तुइन खसालेको निष्कर्ष पनि सार्वजनिक भैसकेको छ । तर सरकारले भारतसमक्ष आफ्नो आधिकारिक धारणा र विरोध समेत राख्न नसकेर निरीहता प्रदर्शन गरेको छ ।
  •  तत्कालीन प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा आधिकारिक रूपमै त्यसको चर्को विरोध गरेका देउवाले प्रचण्ड र माधव नेपालको आदेशमा ओलीले ल्याएको भन्दा पनि खुकुलो अध्यादेश ल्याएर आफ्नै नाक काटेका छन् । राजनीतिमा योभन्दा लज्जास्पद कार्यहरू धेरै कम हुने गर्छन् ।
  •  स्वास्थ्य क्षेत्रका व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर उनले सोझै दूधको रखवालामा बिरालोलाई राखेका छन् ।

यी त केही सरकारको असफलता पुष्टि गर्ने प्रतिनिधिमूलक कामहरू मात्र हुन् । समग्रमा सरकारले जन चाहनामा तुषारापात गर्न शुरु गरिसकेको छ।
यदि बीचमा कुनै ठूलो राजनैतिक घटना भएन भने यो गठबन्धन सरकारले अर्को आम निर्वाचन भएर नयाँ जनादेश प्राप्त सरकार गठन नहुँदासम्म काम गर्न पाउनेछ । त्यो समय भनेको लगभग डेढ वर्षको समय हो । काम गर्न चाहने सरकारको लागि डेढ वर्षको समय लामो समय हो ।

सरकारले चाह्यो भने यो समय भित्र धेरै राम्रा र जनप्रिय काम गर्न सक्छ । तर यो सरकारले एक महीनाभित्र गरेको काम हेर्दा देउवा सरकारको मूल्याङ्कन गर्न डेढ वर्षको समय हैन एक सय दिन पनि पर्खनु नपर्ने भएको छ । एक महीनामै यो सरकारले आफ्नो वास्तविक रूप र क्षमता प्रदर्शन गरिसकेको छ । यस अर्थमा अहिले नै यो सरकारलाई असफल भन्दा पनि सरकारप्रति अन्याय नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?