+
+

गण्डकीमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, सक्रिय संक्रमित घटे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १७:२९

६ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० देखि ८० वर्ष उमेर समूहका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा मृत्यु हुनेमा कास्कीका ३, स्याङ्जाका २, म्याग्दी र तनहुँका १/१ जना संक्रमित छन् । त्यसमध्ये म्याग्दीका ७८ वर्षीय संक्रमितको बेनी अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो भने बाँकीको पोखराका विभिन्न अस्पतालमा मृत्यु भएको निर्देशनालयका आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३९ पुगेको छ । पछिल्लो एक महिनायता गण्डकीमा संक्रमितको संख्यासँगै मृत्युदर पनि बढेपछि निषेधाज्ञामा कडाइ गरिएको छ भने विभिन्न जिल्लामा आंशिक लकडाउन शुरु भएको छ ।

वैशाखयता गण्डकी प्रदेशमा मात्रै १ हजार बढी संक्रमितको मृत्यु भएको छ । यो कोरोना महामारीको पहिलो लहरभन्दा झन्डै ६ गुणाले बढी हो । वैशाखदेखि आइतबारसम्म गण्डकीमा १ हजार ३२ जना संक्रमितले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ ।

घटे सक्रिय संक्रमित

निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार गण्डकीका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ । एक हप्ताअघिसम्म सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको थियो भने अस्पतालमा भर्ना भएकाहरुको संख्यासमेत उच्च थियो ।

तर, निर्देशनालयले आइतबार जारी गरेको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो तथ्यांकअनुसार गण्डकीमा ४ हजार ९ सय जना सक्रिय संक्रमित छन् । त्यसमध्ये ३७१ जना संक्रमित अझै अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घन्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६५३ जनाले कोरोना जितेका छन् । संक्रमितमध्ये सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा आइतबारसम्म २१ सय जना भन्दा बढी अझै सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितको संख्या घटे पनि अस्पतालमा उपचाररत गम्भीर प्रकृतिका संक्रमितको संख्या नघटेको निर्देशनालयले जनाएको छ । गम्भीर संक्रमितको संख्या बढेसँगै कोरोना उपचार गर्ने पोखराका दुई सरकारी अस्पताल भरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?