+
+

मुख्य प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन छानबिन समितिको सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १८:१७

९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई विवाद सृजना हुने कुनै पनि गतिविधि नगर्न सचेत गराउन सिफारिस गरेको छ ।

राखेपलाई बुधबार प्रतिवेदन बुझाउँदै छानबिन समितिले मुख्य प्रशिक्षक अल्मुताइरीले अखिल नेपाल फुटबल ९संघ० एन्फासँग गरेको सम्झौता अनुसारका कार्य मात्र गर्नुपर्ने र विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगराउन सचेत गराउन सिफारिस गरेको हो ।

यस्तै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार तथा अन्य कसैप्रति लक्षित गरी धारणा राख्न पनि अल्मुताइरीलाई रोक लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

‘फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघसँग गरेको सम्झौता बमोजिमका कार्य मात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सृजना हुने खालका कुनै पनि गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा कोही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै परिषद्बाट सचेत गराउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

यसैगरी मुख्य प्रशिक्षक अल्मुताइरीले विवादास्पद राजीनामा सम्बन्धी पोष्टलाई आफ्नो फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने पनि छानबिन समितिले भनेको छ ।

कुनै पनि सञ्चारकर्मीले कुनै खेल प्रशिक्षकसँग अन्तर्वार्ता लिनु परेमा एन्फाका सूचना अधिकारी वा व्यवस्थापकसँग अनुमति लिएर मात्रै सम्पर्क गर्ने व्यवस्था मिलाउन पनि समितिले सुझाव दिएको छ ।

छानबिन समितिले एन्फाका सम्पूर्ण पदाधिकारी, अफिसियल, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर कार्य गर्नुपर्ने पनि औंल्याएको छ । खेल क्षेत्रलाई धुमपान रमध्यपान निषेधित क्षेत्र बनाउनद्यै सोही बमोजिमका कार्य अगाडि बढाउन पनि समितिले सुझाव दिएको छ ।

यसैगरी मुख्य प्रशिक्षक अल्मुताइरी र पत्रकार विभा थापाबीचको विवाद समाधानका लागि सात दिनभित्र दुवै पक्षलाई बोलाएर समाधान निकाल्न पनि समितिको प्रतिवेदनमा भनिएको छ ।

फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीले गत साउन १० गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए ।

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका थिए । त्यसपछि उत्पन्न विवादले उग्र रुप लिंदै गएपछि राष्ट्रिय खेलकुद परिषद्ले सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

कुवेती प्रो–लाइसेन्स प्राप्त अल्मुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् ।

प्रतिवेदन बुझेपछि सचिव सिलवालले भने- अध्ययन गरेपछि यथार्थ भन्न सकिन्छ

९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघभित्रको विवाद समाधानका लागि गठित ‘विवाद समाधान छानबिन समिति’ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र यसको यथार्थ बताउन सक्ने बताए ।

समितिले बुझाएको प्रतिवेदनमा एन्फालाई आफ्नो समस्या आफैं समाधान गर्न सल्लाह र सुझाव दिइएको छ ।

छानबिन समितिले राखेपलाई बुझाएको प्रतिवेदन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?