+
+

हरिवंशको ‘ए कालु भेना’देखि देवीको ‘ए नि बरै’सम्मः अरु कुन–कुन गीत आए ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १३:४४

पछिल्लो सात दिनमा झण्डै तीन दर्जन गीत सार्वजनिक भए । अघिल्ला साताहरुमा तीज गीतहरु बढी सार्वजनिक भैरहेका हुन्थे । यस साता भने तीज गीतहरु एकदमै न्यून आए । तीज आउन दुई साता पनि बाँकी नरहेकाले तीज गीतहरु सार्वजनिक हुने क्रम निकै कम भएको हो । अबका दिनमा नयाँ तीज गीतको छायाँकन नहुने निर्देशकहरु बताउँछन् ।

गतसाता सार्वजनिक गीत ‘चरी जेलैमा’ नै यससाता पनि सर्वाधिक चर्चामा रह्यो । यससाता सार्वजनिक गीतमध्ये केही सिमित गीतहरु मात्र चर्चामा रहे । गत शुक्रबारदेखि हिजो बिहीबारसम्म सार्वजनिक भएका गीतमध्ये १० गीतहरु यसप्रकार छन् ।

हरिवंशको ‘ए कालु भेना’

कलाकार हरिवंश आचार्यको शब्द, संगीत, स्वर र अभिनयमा बिहीबारमात्रै ‘ए कालु भेना’बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यसमा हरिवंश र मिलन नेवारको स्वर समावेश छ ।गम्भीर विष्टको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा हरिवंशका साथमा नाजिर हुसेन, आंचल शर्मा, आर्यन खरेल लगायतको अभिनय छ ।

गाउँघरको परिवेशमा मौलिक विषयमा यस गीतको अडियो र भिडियो बनेको छ । गीतले विदेश जानुभन्दा गाउँघरमै रमाउनु बेस भएको सन्देश दिएको छ । भिडियोको अन्तिममा भनिएको पनि छ, ‘नेपालीलाई काम खोज्न उडन नपरोस्, देश सम्झी कसैलाई नी रुन नपरोस् ।’

हरिवंशका गीतबाट स्रोता एवं दर्शकले अपेक्षा गर्ने सन्देश यसमा पाउन सकिन्छ । गज्जब टीभिको प्रस्तुतीमा नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । सार्वजनिक भएको २१ घण्टामा भिडियोले युट्युबमा १ लाख ८० हजार बढी भ्यूज पाएको छ ।

देवीको स्वर, सुरक्षाको अभिनयमा ‘ए नि बरै’

गायिका देवी घर्ती मगरको स्वरमा बुधबार ‘ए नि बरै’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा नेत्र अर्यालको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज छ ।

विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियो फिल्मी शैलीमा बनाईएको छ । भिडियोमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छिन् । उनको अभिनय जिवन्त लाग्छ । साथमा रमेश अधिकारी, रश्मी भट्ट, सनम कठायत, सरस्वती फूयाल, कृष्ण जोशी लगायतको अभिनय छ । आर्थिक रुपमा सबल नभएकै कारण शोषित हुनुपरेको महिलाको पीडालाई भिडियोमा उतारिएको छ । गीत र भिडियो मार्मिक लाग्छ ।

अभिनेत्री सुरक्षाले यस गीत र भिडियोलाई भनिनुपर्ने कथा भएको बताएकी छिन् । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यस गीतको भिडियोले राम्रो भ्यूज पाउँदै गएको छ ।

तिन दिन पुरा नहुँदै भिडियोलाई युट्युबमा ५ लाख ५५ हजार बढी पटक हेरिएको छ ।

प्रमोद खरेलको ‘ए माया’

गायक प्रमोद खरेलको स्वरमा बिहीबार साँझ ‘ए माया’बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा सुनिल बिसीको शब्द÷संगीत, विशाल निरौलाको म्युजिक एरेन्ज रहेको छ । यस गीतमा प्रेमीकाको परिवारले उसको विवाह अन्यन्त्र गर्ने फाइनल गरेपछि प्रेमीले ब्यक्त गर्ने भावनालाई प्रस्तुत गरिएको छ ।

विक्रम चौहानको निर्देशनमा तयार भिडियोमा विक्रम बुढाथोकी, उषा उप्रेती, राजन आलेको अभिनय छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यस भिडियोले युट्युबमा २० घण्टामा १ लाख ५० हजार बढी भ्यूज पाएको छ ।

‘द कार्टुन क्रु जुनियर’को ‘माया सरर’

‘द कार्टुन क्रु’को प्रस्तुतीमा ६ दिनअघि ‘माया सरर’ बोलको गीत सार्वजनिक गरिएको हो । जितेन लेप्चाको शब्द/संगीत, फणिन्द्र राईको एरेन्जमेन्टमा जितेन र सचिन रौनियारले गीतमा स्वर दिएका छन् । ‘कार्टुन कु्र’कै सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा तयार भिडियोमा कार्टुन क्रुका जुनियर कलाकारहरुको अभिनय छ । डान्सिङ विटको गीतलाई रमाईलो तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ ।

पवन सुस्लिङको छायाँकन रहेको भिडियोलाई सुरोज अधिकारीले सम्पादन गरेका हुन् । भिडियोले अहिलेसम्म युट्युबमा १३ लाख २५ बढी भ्यूज पाएको छ ।

किरण गजमेरको ‘पारौं कान्छि झ्याई झ्याई’

‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा बिहीबारमात्रै ‘पारौं कान्छि झ्याई झ्याई’बोलको गीत सार्वजनिक गरिएको हो । केदार उप्रेतीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, सहश शाक्यको एरेन्ज छ ।

एक विवाहको जमघटमा हुने नाचगानको प्रसंङ्गबाट भिडियो सुरु गरिएको छ । शिशिर खाती कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा शिशिर राणा, ओजस्वीराज थापा, आरजू बैजु, आईपी आचार्य लगायतको अभिनय छ । अभिनेता सलोन बस्नेत समेत अतिथि भूमिकामा प्रस्तुत छन् ।

संकल भुजेलको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई २३ घण्टामा १ लाख २५ हजार बढी पटक हेरिएको छ ।

तीज गीत ‘संगिनी’

‘संगिनी’ बोलको तीज गीत ६ दिनअगाडि सार्वजनिक भएको हो । यस गीतमा विशाल रायमाझी र प्रतिक्षा वाग्लेको स्वर सुन्न सकिन्छ । गीतमा विशालकै शब्द एवं संगीत, महेन्द्र भण्डारीको एरेन्ज छ ।

राजकुमार मगरको निर्देशनमा बनेको भिडियोमा एलिना रायमाझी, अल्फाज शाह, पुजन घिमिरे, कुशल अधिकारी लगायतको अभिनय छ । महेश महराले छायाँकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोले अहिलेसम्म ६ लाख ३० हजार बढी भ्यूज पाएको छ ।

वर्षा र सलोनको अभिनयमा ‘सम्झेर एक्लै’

वर्षा राउत र सलोन बस्नेतको अभिनयमा गत शुक्रबार ‘सम्झेर एक्लै’ बोलको गीत सार्वजनिक भएको हो । राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङको एरेन्जमा मेलिना मैनाली र एसडी योगीले यस गीतमा स्वर दिएका हुन् ।

गज्जब टीभी युट्युब च्यानलमा सार्वजनिक भिडियोलाई विवेक रसाईलीले निर्देशन गरेका हुन् ।भिडियोमा नवराज उप्रेतीको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन छ । यस भिडियोले युटयुबमा १ लाख ५५ हजार बढी भ्यूज पाएको छ ।

पल र पूजाको ‘ए साईली’

टाँसी लामाको स्वर रहेको ‘ए साईली’मा पल शाह र पूजा शर्माले अभिनय गरेका छन् । द डिभाइन म्युजिकमार्फत गत शुक्रबार यस गीत सार्वजनिक भएको हो । गीतमा उदाश लामाको शब्द/संगीत र फणिन्द्र राईको एरेन्ज छ । रामजी लामिछानेले गीतको भिडियोमा कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

भिडियोमा सौरभ लामाको छायाँकन, बाङडे प्रसादको सम्पादन छ । भिडियोलाई अहिलेसम्म युट्युबमा २ लाख ८२ हजार बढी पटक हेरिएको छ ।

पशुपतिको ‘दाजुभाई तीज’

पशुपति शर्मा, अर्जुन सापकोटा, राजु ढकाल र यज्ञ सापकोटाको स्वरमा ‘दाजुभाई तीज’बोलको गीत सार्वजनिक भएको हो । गीतमा अर्जुन सापकोटा र यज्ञ सापकोटाको शब्द, अर्जुन सापकोटाको संगीत, कृष्ण बिके भान्जाको एरेन्ज छ ।

मदन खड्काको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंमका साथमा विना विश्वकर्मा देखिएका छन् । भिडियोमा विरेन्द्र भट्टको छायाँकन, अनिल रानाको सम्पादन छ । ५ दिनअघि सार्वजनिक गीतले ३ लाख ९४ हजार बढी भ्यूज पाएको छ । अर्जुन सापकोटाको आफ्नै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो ।

तीज गीत ‘नाच मेरी माया’
पाँच दिन अगाडि ‘नाच मेरी माया’बोलको तीज गीत सार्वजनिक भएको हो । शिव अखेलीको शब्द, सूर्य खड्काको संगीत, विश्वास नेपालको एरेन्ज रहेको गीतमा सूर्य खड्का, सुनिता बुढा क्षेत्री र शिवलाल सापकोटाले स्वर दिएका छन् ।

भिडियोमा विजय पुन, अस्मिता रणपाल, जसना एसडी, सन्तोष शर्माको अभिनय छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोलाई राजेश घिमिरेले छायाँकन, दीपक विष्टले सम्पादन गरेका हुन् । युट्युबमा यस भिडियोले १ लाख १९ हजार बढी भ्यूज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?