+
+

पोखरामा धुवाँको मुस्लो फाल्दै हुँइकिन्छन् गाडी, ३५ वटाको प्रदूषण जाँच्दा ३० वटा फेल

अमृत सुवेदी अमृत सुवेदी
२०८१ वैशाख १९ गते २०:५२

१९ वैशाख, पोखरा । पोखराका पैदलयात्रु महेश आले जब नयाँ बजारबाट पृथ्वीचोक बसस्टपनेर पुगेका थिए, एउटा लेखनाथ माइक्रो बसले कालो न कालो धुवाँको मुस्लो निकाल्दै अगाडि बढ्यो । सडक छेउमै हिँडिरहेका आलेलाई धुँवाले बिरामी नै बनायो ।

‘पोखराको सडकमा पैदल यात्रुलाई हिँड्न धुँवाको मुस्लो फाल्ने बसले अत्याचार नै गर्छ’, आल आक्रोश पोख्छन, ‘हेर्दा हरिया बसले कालो न कालो धुँवा पुत्याउँदा हिँडिसक्नु हुँदैन ।  पर्यटकीय राजधानी घोषित पोखरामा यो समस्या कहिल्यै हटेन ।’

पोखराको न्युरोडमा सिटी बसले अत्याधिक कालो धुँवा पुत्याउँदै विपी चोकतिर लाग्छ । बसको पछि गइरहेका स्कुटर र मोटरसाइकल चालक धुँवाभित्र हराउँछन् । ग १ ख ८१२४ नम्बरको नम्बरको यो बसले कालो धुँवाको मुस्लो फालेको फोटो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले पछ्याउँछ र ७ हजार रुपैयाँ जरिवाना गराएर सर्भिसिङमा पठाउँछ ।

वातावरणदेखि मानव स्वास्थ्यमा पनि गम्भीर असर गर्ने गाडीको धुँवाकै कारण नागरिकलाई सास्ती त छँदै छ, पोखराकै बद्नाम गराएको मीना गुरुङ बताउँछिन् । सरकारले नियमन गर्न नसक्दा पोखरामा सार्वजनिक सवारी साधनको मनोमानी चलेको उनको निश्कर्ष छ ।

यी त उदाहरणमात्र हुन्, पोखराको सडकमा धुँवाको मुस्लो निकाल्दै हुँइकिने बसको आतंक नै देखिएको छ । अन्य मेसिनरी जाँच गरेर पोखरा तथा लेखनाथ सिटी बस र माइक्रो बसको प्रदूषण जाँचपास हुँदा पनि पोखरामा सार्वजनिक सवारी साधनले कालो मुस्लो फाल्न छोडेका छैनन् ।

गण्डकी प्रदेश, ट्राफिक प्रहरी र नियमनकारी निकायकै कमजोरीमा टेकेर व्यवसायीले यस्ता गाडी पोखरामा निर्वाध गुडाइरहेका छन् । प्रदूषण मापन गर्ने मेसिनको अभावमा पोखरामा आँखाले हेरेर जाँचपास गर्दा धेरै समस्या निम्तिएको यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालले बताए ।

‘पहिले हामीसँग प्रदुषण मापन गर्ने २ वटा मेसिनमात्र थिए र त्यसले डिजेलका गाडीको मात्र प्रदूषण मापन हुन्थ्यो । तर, त्यही मेसिन पनि बिग्रिँदा प्रदूषण जाँचपास औपचारिकतामा मात्र सीमित हुन पुगेको थियो’, रिज्यालले भने, ‘त्यसकै असरले अहिले पोखरामा कालो मुस्लो फाल्ने गाडी प्रशस्त देखिएका छन् ।’

अत्याधिक कालो धुँवाको मुस्लो फाल्ने गाडीलाई अब भने कानुनी दायरामा ल्याउने र रुट परमिट खारेज गर्नेसम्म कारबाही गर्ने रिज्यालको भनाइ छ । पोखरामा मात्र अहिलेसम्म निजी सार्वजनिक गरेर ३ लाख ५२ हजार गाडी दर्ता भएका छन् । बाहिर दर्ता भएका पोखरामा चल्ने र यहाँ दर्ता भएर बाहिर जाने गरी करिब ३ लाख गाडी दैनिकविशेषग पोखरामा गुड्ने सरकारी तथ्यांक छ ।

ती गाडीमध्ये अधिकांश सार्वजनिक गाडीले कालो धुँवा फाल्ने गरेका छन् । त्यसमध्ये पनि पोखरा र लेखनाथका सिटी बसले अत्याधिक धुँवा फाल्ने र पटक पटक सर्भिसिङ गरेर ठिक गर्न चेतावनी दिँदा पनि व्यवसायीले अटेरी गर्ने गरेका छन् ।

यातायात कार्यालय, जिल्ला प्रशासन, प्रहरी, महानगरसहित मिलेर अब पोखरामा पटक पटक कालो धुँवा फाल्ने गाडीको प्रदुषण जाँचपास नगर्ने, नवीकरण नै नगरिदिने र रुट परमिट नै खारेज गरिदिनेसम्मको कारबाहीको तयारी भएको यातायात प्रमुख रिज्यालको भनाइ थियो ।

अहिले पोखरामा डिजेल र पेट्रोलबाट चल्ने दुबै खाले गाडीको प्रदुषण मापन गर्ने २ वटा मेसिन खरिद भएको छ । ती मेसिनबाट अब नियमित प्रदुषण मापन गरि जिल्ला ट्राफिक प्रहरी प्रमुख भानु शर्माले बताए ।

प्रदुषण मापन मेसिनले ३० भन्दा कम देखायो भने पास हुने र त्योमाथि फेल हुने उनको भनाइ छ । पोखरामा कालो धुँवा फाल्ने गाडीको प्रदुषण मापन ‘स्मोक डेनसिटी’ ८०/९० सम्म देखिएको यातायात प्रमुख रिज्यालले बताए ।

३५ वटा गाडीको प्रदूषण जाँच्दा ३० वटा फेल

यातायात कार्यालय, ट्राफिक, महानगरसहितको टोलीले बुधबार गरेको मापनमा अधिकांश गाडी नियमित सर्भिसिङ नगरेकै कारण कालो धुँवा फाल्ने गरेको पाइएको छ । पोखरामा बुधबार ३५ वटा गाडीको प्रदुषण मापन गर्दा ३० वटा फेल भएको रिज्यालले बताए ।

‘त्यस सवारी साधनको कागजपत्र लिएर सर्भिसिङ गरेर ठिक बनाएर आउन निर्देशन दिएका छौं । एउटै गाडीले पटक पटक गल्ती दोहोर्‍यायो भने जफतसमेत गर्ने चेतावनी दिएका छौं,’ रिज्यालले भने ।

एकै ठाउँमा ठूला सवारी साधनको नियमित प्रदुषण मापनका लागि पार्किङको समस्या पनि पर्ने भएकाले अब पोखराका विभिन्न ठाउँमा जाँच गरिने तयारी कार्यालयले गरेको छ । यसअघि मापनै नगरी जाँचपास दिने गरिएका कारण अहिले समस्या आएर र अब भने त्यो हटाइने रिज्यालको भनाइ छ ।

अहिले चार्जमा राखेरमात्र प्रदूषण मापन गर्न मिल्ने मेसिन आएको तर अब हातहातमै लिएर जाँच गर्ने मेसिन ल्याउने तयारी गरेको उनले जानकारी दिए । २० वर्षभन्दा पुराना गाडीको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

व्यवसायीले तेलको अशुद्धता र पार्टसहरुमा समस्या आएकाले बढी धुँवा फालेको दाबी गर्छन् । बसलाई कारबाही गरेरमात्र पनि समस्या समाधान नहुने र तेलको गुणस्तरसमेत मापन गर्नुपर्ने व्यवसायी सागर क्षेत्रीले बताए ।

अब स्टकमा रहेका नयाँ सवारी साधनको पनि सोरुममै गएर पनि प्रदूषण जाँच गर्ने रिज्यालले बताए । कागजमा जाँचपास तुरुस्त हुने तर कालो धुँवाको मुस्लो फाल्ने परिपाटी अहिलेसम्म देखिएको भए पनि अब त्यस्तो नहुने ट्राफिक प्रमुख शर्माको भनाइ थियो । समयमै सर्भिसिङमात्रै गरिदिने हो भने पनि धेरै मात्रामा प्रदूषण नियन्त्रणमा आउने उनको भनाइ छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?