+
+
Shares
आत्मकथा :

बिहेलगत्तै सुशीला कार्की पञ्चायतको जेलमा

दुर्गाजीले जेल जीवनमा भोगेका मानसिक र शारीरिक यातनाका कारण उहाँ अस्थिर हुनुहुन्थ्यो । लगभग छ–सात महिनासम्म दुर्गाजी बेखबर हुनुभयो । त्यस्तो प्रतिकूल समयमा पनि म कत्ति विचलित भइनँ । आफ्नो वकालती काम र घर–व्यवहारलाई सकेसम्म राम्रो बनाउने कोशिश गरिरहेँ ।

सुशीला कार्की सुशीला कार्की
२०८२ भदौ २८ गते २२:१७

हाम्रो बिहे त भयो तर मेरो श्रीमान् अर्थात दुर्गा सुवेदीजी घर–व्यवहार चलाउने व्यवहारिक मान्छे हुनुहुन्थेन । उहाँ बाहिर–बाहिर घुम्न रुचाउने स्वभावको हुनुहुन्थ्यो । हाम्रो बिहे भएको केही समय नबित्दै मुलुक जनअन्दोलनतर्फ उन्मुख भैसकेको थियो । बिहेको ३ महिनापछि दशैँ आयो ।

दशैंको टीकाटालोपश्चात् दुर्गाजी एकाएक बेपत्ता हुनुभयो । घरी काठमाडौं, घरी भारतका विभिन्न ठाउँमा रहेको खबर आउँथ्यो । राजनीतिक जीवन बाँचिरहेको मान्छेलाई घर फर्कन करकाप पनि गरिनँ मैले । घर फर्क भन्ने अनुकूल समय पनि थिएन ।

हाम्रा दुई घर थिए, धरान वडा नं. १६ घोपा र विराटनगर वडा नं. ११ मधुमारामा । दुई ठाउँका घरलाई हेर्ने जिम्मा मेरै थियो । देश राजनीतिक गतिविधिले तातेको थियो । म विराटनगरको घरमै बस्न थालेँ । घरमा सहयोगीको रूपमा काम गर्न दुर्गाजीले एक जना सतार भाइलाई राख्नुभएको थियो । उनको नाम टुटु थियो । उनै टुटुलाई धरानको घर हेर्ने जिम्मा लगाएँ । त्यसपछिको लामो समयसम्म दुर्गाजी सम्पर्कविहीन हुनुभयो । दुर्गाजीले लामो समयसम्म जेल जीवन भोगेकाले फेरि जेल नपरे हुन्थ्यो भन्ने मलाई लाग्थ्यो ।

दुर्गाजीले जेल जीवनमा भोगेका मानसिक र शारीरिक यातनाका कारण उहाँ अस्थिर हुनुहुन्थ्यो । लगभग छ–सात महिनासम्म दुर्गाजी बेखबर हुनुभयो । त्यस्तो प्रतिकूल समयमा पनि म कत्ति विचलित भइनँ । आफ्नो वकालती काम र घर–व्यवहारलाई सकेसम्म राम्रो बनाउने कोशिश गरिरहेँ ।

२०४६ फागुन ७ मा आन्दोलनले नयाँ स्वरूप लियो । विराटनगरमा आन्दोलन चर्कियो । हामी कानून व्यवसायी पनि स्वतन्त्रताका लागि के गर्न सकिन्छ भनी छलफल र भेला गर्न थाल्यौँ । देवी घिमिरे, योगेन्द्र न्यौपाने, ईश्वर पौडेल, शान्तिराम भण्डारी र मैले धरानमा योगेन्द्रजीको घरमा बसी छलफल अघि बढायौँ ।

तत्कालीन अञ्चल अदालतका १ नम्बर न्यायाधीश केदारप्रसाद गिरीलाई फोन गरेर बहस र बेन्च बहिष्कार गर्ने भन्यौँ । उहाँले आउनुस्, छलफल गरौँ भन्नुभयो । त्यो उहाँको कर्तव्य थियो पनि । सोही समयमा पञ्चायती व्यवस्थाको गुनगान गाउँदै प्रेमप्रसाद अधिकारीलगायतका कानून व्यवसायीहरू अदालतमा उपस्थित भएर बहस गरी सोही दिनको वकालतनामासमेत प्रमाणित गरी पञ्चायतका हिमायती नेताहरू, जो काठमाडौँमा बस्थे, त्यहाँ पठाउने कामसमेत भएको रहेछ ।

पञ्च सरकारले धरानको मेरो घरअगाडि सादा पोशाकमा प्रहरी छाडेको थियो, जसलाई सबैले भिजिलान्ते पुलिस भन्थे । पञ्चायतविरुद्ध लागेकाले हामी जहाँसुकैबाट पनि पक्राउ पर्न सक्थ्यौँ । अझै मेरो त दुई घरको सुरक्षाको विषय पनि थियो । त्यसैले म धरानको घरको अवस्था हेर्न रातिको समयमा पुग्थेँ र फर्किन्थेँ ।

त्यति बेला मसँग भएका केही गरगहना र पैसालाई घरमा भएका जति सिरानीभित्र कपासमा घुसारेर राखेकी थिएँ । पैसा र गहना त्यसरी लुकाएर राखे पनि हामीलाई आन्दोलनको सफलताबाहेक कुनै कुराको मतलब थिएन । फागुन १३ गते अधिवक्ता गोविन्द प्याकुरेलको फोन आयो । उनले भने, ‘भोलि महिलाहरूको मौन जुलुस छ, बारबाट तपाईंलगायत महिलाहरू आएर आन्दोलनलाई सफल पारिदिनुपर्‍यो ।’

पञ्चायतविरुद्ध लागेकाले हामी जहाँसुकैबाट पनि पक्राउ पर्न सक्थ्यौँ । अझै मेरो त दुई घरको सुरक्षाको विषय पनि थियो । त्यसैले म धरानको घरको अवस्था हेर्न रातिको समयमा पुग्थेँ र फर्किन्थेँ ।

मोरङका त्यति बेलाका चल्तीका वकिलको फोन थियो त्यो र आफू पनि पञ्चायतविरुद्ध लागेकाले नजाने भन्ने कुरै थिएन । त्यति बेला आन्दोलनमा सरिक भएर सफल पार्न केन्द्रिय बारले पनि आह्वान गरेको थियो । वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी, कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्ठलगायत सबै बहुदलको पक्षमा थिए । एक हिसाबले हेर्दा जनता सबै बहुदलको पक्ष र सत्तापक्ष मात्र पञ्चायतको पक्षमा भएजस्तो मात्र लाग्थ्यो ।

१४ गते, बार सङ्गठन मोरङमा केही बेर छलफल गरी जिल्ला अदालत पुग्दा छेउमा सबै महिलाहरू भेला भइसक्नुभएको थियो । प्ले कार्ड बोकेका मौन मानिसहरूको जुलुस अपराह्नको ४ बजेतिर निस्कियो । राजनैतिक, सामाजिक, कानूनी र विविध क्षेत्रबाट आएका नारीहरूको त्यो जुलुस निकै ठूलो थियो । विराटनगरको बजार अड्डा पुगेपछि करिब २० जनाजति महिलालाई प्रहरीले पक्राउ गर्‍यो । त्यो पक्राउ पर्ने समूहमा म पनि थिएँ ।

पक्राउ पर्नेमा जवान र वृद्धा महिलाहरू पनि थिए । नेपाली काँग्रेसका नेता विनोद अर्याल र अमृत अर्यालकी ८० वर्षीया आमालाई पनि हामीसँगै ट्राफिक प्रहरीको थुनामा राखिएको थियो । अरू धेरै जना परिवारका सदस्यको रोहवरमा कागज बनाई छुटे । तर म र माधवी रिमाल दिदीलाई छाडिएन ।

नातामा स्व. कृष्णप्रसाद भट्टराईकी बहिनी पर्नुहुन्छ, माधवी रिमाल । १४ गते साँझको बिबिसीको समाचारमा हाम्रो नाम प्रखररूपमा आएकाले हामीलाई निरन्तर थुनामा राखिएको रहेछ । १५ गते राति एक जना प्रहरी शायद सई–असई को थिए, ले आएर भाषण गरे र सरकारसँग माफी माग्न भने । हामी केही बोलेनौँ ।

त्यसै राति हामी दुइटीलाई रुँग्न प्रहरी तालिम केन्द्रबाट करिब १० जना महिला प्रहरी आएका थिए । हामीसँग लाउने लुगा त थिएनन् नै, सुत्ने बिछ्यौना पनि थिएन । हामी कोठामा भएका सोफा–कुर्सीमा १४ गतेजसरी नै रात बिताउन बाध्य भयौं । चार दिन त्यसरी नै बित्यो । त्यहींको रुखोसुखो खाना खायौंँ ।

मेरा अरू समस्या केही थिएनन् । धरानको घर कुर्न बसेको टुटुले पञ्चायतको विरोध गर्दै मेरो कालो पेटीकोट च्यातेर झण्डा बनाई घरमा गाडेको रहेछ । प्रहरी पक्राउ गर्न आउँदा पछाडि ढोकाबाट भागेर आफ्नो जन्मघर मझारे पुगेछ । त्यसपछि मेरा छिमेकीले घरको हेरचाह गरिदिएछन् ।

हामीलाई चार दिनपछि डीएसपी कार्यालयमा पुर्‍याउँदा नोना कोइराला आमा पनि त्यहीं थुनामै हुनुहुन्थ्यो । हामीलाई उहाँकै कोठामा पुर्‍याइएको थियो । ननुहाएको चार दिन भएको, जिउहात पुछेर बसेको कुरा मैले सुनाएपछि नोना आमाले थोरै पानीले राम्रोसँग कसरी नुहाउने भनी सिकाउनुभएको थियो ।

डीएसपीको कोठामा बाथरुम थियो । अफिस लाग्नुपूर्व हामी कसैले थाहा नपाउने गरी एकाबिहानै नुहाउँथ्यौं । बिहान र राति त ठीकै थियो, दिउँसो ट्वाइलेट जान भने कठिन थियो । कतै ठाउँ नै थिएन । बाहिर अरू मानिस र प्रहरी टन्न हुन्थे । निस्केमा गाली गर्दथे । कतिपटक गाली खाएर पनि अन्तरकुन्तर जाने काम भयो ।

प्रौढ उमेरकी नोना आमालाई कसैले गाली गर्दैनथे, सबैले सम्मान गर्थे । थुनामा पनि भुइँमा ओछ्यान लगाएर सफासुग्घर भएरै बस्नुभएको थियो । बिहानबिहानै सलाइको काँटी कोरेर त्यसैलाई दियो सम्झी आरती गरेजस्तो गर्नुहुन्थ्यो । जहाँ जे उपलब्ध हुन्छ, त्यसैले काम चलाउनुपर्दछ भन्ने उहाँको सिद्धान्त थियो । बन्दी हुँदा पनि उहाँको धार्मिक आस्थामा कुनै खलल आएको थिएन ।

उहाँको खाना भने कोइराला निवासबाट आउँथ्यो । कहिलेकाहीं हामीलाई पनि खुवाउनुहुन्थ्यो । दुई सातापछि नोना आमा र माधवी दिदी रिहा हुनुभयो । म र विद्या देवानलाई भने जेल चलान गरियो । हामी विराटनगरको देवकोटा चोकनिरको जेलमा पुग्यौँ ।

०००

मेरो घरमा कोही थिएनन् । दैलोको साँचो पनि मसँगै थियो । तत्कालीन देवकोटा मेमोरियल स्कूलका प्रिन्सिपल, दुर्गाजीका मित्र टीकाप्रसाद उप्रेती र उहाँकी श्रीमती गीता उप्रेतीले मलाई उहाँहरूकै घरबाट लुगाफाटो पठादिनुभएको थियो । हाम्रो विवाहमा उहाँहरूले गर्नुभएको सहयोगलाई मैले पुनः स्मरण गरेँ ।

त्यहाँ डिएसपी कार्यालयमा भन्दा झन् कम सुविधा थियो । जेलमा पुग्दा छामछुम पारेर चेक गर्ने चलन मात्र होइन, कलेजमा नयाँ भर्ना भएका विधार्थीलाई जस्तै  र्‍यागिङ गरेजस्तो गरिँदो रहेछ ।

आँगनमा लगेर लुगा फुकाल्ने, छामछुम पार्ने, के मुद्दामा आएको भनेर र्‍याखर्‍याख्ती पार्ने, नाइकेनीले लठ्ठी बोकेर न्यायाधीश बन्ने र अरू पुराना कैदीहरूको भूमिका वकिल र प्रहरीको जस्तो हुँदो रहेछ । मैले तत्कालीन जेलरलाई चिनेकाले हामीमाथि त्यस्तो दुर्र्‍वयवहार  हुन पाएन ।आफन्तले ल्याइदिएका खानेकुरा आफैँले मात्र नखाई बाँडेर खाने गरेका थियौँ ।

नाइकेनीले पनि हामीलाई माया गर्न थालेकी थिई । चिया पकाएर खुवाउँथी । भातसँग लट्टेको साग र टमाटरको अचार बनाएर दिन्थी । जेलको पर्खाल २०–२५ फिटजति अग्लो थियो । त्यसमाथि काँडेतारले बारेको र चार कुनामा सेन्ट्री बसेकाले कसैले भाग्ने कल्पना गर्दैनथे । प्रायः थुनुवा महिलाहरू पहेँला देखिएका थिए र धेरैको महिनावारी बिग्रने गरेको सुनिन्थ्यो ।

आन्दोलनको समाचार पनि जेलमा रहेका प्रहरीहरूबाट नै थाहा पाउँथ्यौँ। प्रहरी आदेशअनुसार बत्ती निभाउनु भनेको रात निभाइन्थ्यो र ननिभाउनु भनेको रात निभाइन्थेन । सानो एरियामा त्यसमा पनि २०४५ सालको भूकम्पले क्षतिग्रस्त जर्जर घरमा ५०–६० जना खाँदेर राखिएको थियो ।

हत्या, गर्भपतन, चोरी, धर्म परिवर्तनलगायतका मुद्दामा आएका कैदीहरू भएकाले तिनको मानसिक अवस्था पनि त्यस्तै थियो । कैदीको चापले कोठाबाट बान्ता नै आउलाजस्तो गन्ध आउँथ्यो । बाहिर चर्को आन्दोलन भई नाराबाजी सुनिएको बेला हामीले पनि भित्रबाट नारा लगाउँदै साथ दिन्थ्यौँ ।

म एउटी वकिल भएको नाताले सबैको मुद्दाको बारेमा चासो हुनु स्वाभाविक थियो । जेलमा थुनुवा महिलाको अवस्था वास्तवमा असहायको जस्तै नै हुँदो रहेछ । तिनलाई आफ्नो मुद्धाबारेमा के हुँदै छ भन्ने कुनै जानकारी र ज्ञानसम्म पनि थिएन । मैले जेलभित्रैबाट केहीको अपिल वा निवेदन लेखेर बाहिरका साथीहरूलाई सहयोग गरिदिन पनि आग्रह गरेकी थिएँ ।

०००

२०४६ चैत्र २७ मा आन्दोलन समाप्त भयो । निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै उदाएको त्यो बिहानीले हामीलाई पनि जेलको अँध्यारोबाट बाहिर निकाल्यो । हामी त्यही दिन दिउँसो करिब ३ बजेतिर छुट्यौँ ।

निस्कने बेला सबै महिला कैदीहरू पिकेटमा भेला भएर रोएका थियौँ । एउटा रुवाइ जेलबाट छुटेको खुशीको थियो भने अर्को रुवाइ जेलभित्रै साथी बनेका हामीहरू छुट्टिँदाको थियो । त्यो आन्दोलन तत्काल समाप्त नभएको भए हामीलाई लामो थुनाका निम्ति एक–दुई दिनभित्र तेह्रथुम लैजाने तैयारी भैरहेको रहेछ ।

देश पञ्चायतबाट स्वतन्त्र भएको थियो । म जेलबाट स्वतन्त्र भएकी थिएँ । सोही दिन बिहारको फार्बिसगन्जबाट दुर्गाजी पनि घर आइपुग्नुभयो । लामो समयपछि हाम्रो भेट हुँदा हामी निकै भावुक बनेका थियौं । त्यसपछि लगातार २ वर्ष दुर्गाजी विराटनगर र काठमाडौँ आवत–जावत गरिरहनुभयो । म भने मेरो कानूनी पेशामा निरन्तर लागिरहेँ ।

(बुकहिल पब्लिकेशनले २०७५ मा प्रकाशन गरेको सुशीला कार्कीको आत्मकथा ‘न्याय’को अंश)

लेखक
सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारका  प्रधानमन्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?