
“एकदिन कक्षामा, शिक्षकले मेरो बाहेक सबैको काम(प्रोजेक्ट वर्क) फिर्ता गरिदिइन्। प्रबल तिमी एकछिन उठ त ! मलाई उनले भनिन्।
मैले कोठा (कक्षा कोठा) शान्त भएको महसुस गरें; मेरो मुटु धड्किन थाल्यो, म उनको निर्देशन पालना गर्दै उभिएँ। के हुन लागेको हो, मैले सोच्न सकिनँ। पहिले–पहिले नेपाल या इन्डियामा पढ्दा मलाई यसरी कक्षामा उभ्याइँदा मेरो बारेमा राम्रो कुरा भएको थिएन। त्यसैले, म जे आइलागे पनि सामना गर्न तयार थिएँ।
‘तिम्रो प्रोजेक्ट, मैले आजसम्म देखेकोमा अरूको भन्दा फरक थियो। अझ स्पष्ट भन्नुपर्दा, मौलिक थियो।‘ शिक्षकले त्यसो भन्दा पूरै कक्षाको आँखा ममा थियो। यो सुनेर, मलाई अरू बेलाकै जस्तो पेट उमठेको जस्तो महसुस भयो।
शिक्षकले, हातमा लिएको मेरो प्रोजेक्ट देखाउँदै भनिन्, ‘म, सबै जनाले यो काम हेरून् भन्ने चाहन्छु। मेरो शिक्षण पेशाको जीवनमा केही वर्षको अन्तरालमा एउटा यस्तो विद्यार्थी देखापर्छ जो, मलाई थाहा छ भविष्यमा गएर स्टार बन्छ। मलाई लाग्छ प्रबल, तिमी तीमध्ये एउटा हौ।‘
म स्तब्ध भएँ। कुनै पनि शिक्षकले आजसम्म मलाई त्यसो भनेका थिएनन्। शिक्षकले, ममा त्यो सम्भावना देख्दा म विभिन्न खाले भावनाले ओतप्रोत भएँ।” (पेज९०/९१)
उपरोक्त पंक्तिहरू चर्चित फेशन डिजाइनर प्रबल गुरुङको आत्मकथा ‘वाक लाइक अ गर्ल‘ पुस्तकबाट लिइएको हो र उनको सो कुराकानीको प्रसंग अमेरिकाको न्युयोर्कस्थित ‘पार्सन्स स्कूल अफ डिजाइन‘को कक्षाको थियो।

सन् १८९६ मा त्यतिबेलाका प्रभावशाली अमेरिकन विलियम मेरिट चेजले खोलेको पार्सन स्कूलमा विश्व प्रसिद्ध फेशन डिजाइनरहरू टम फोर्ड, मार्क जेकब, डोन्ना क्यारेन, आन्ना सुइ आदिले अध्ययन गरेका थिए। प्रबल त्यही स्कूलमा फेशन डिजाइनिङ पढ्न सन् १९९९ मा न्युयोर्क पुगेका थिए।
सर्वसाधारणले देख्दा, प्रबल गुरुङ एक प्रख्यात फेशन डिजाइनर हुन् जसले बनाएका लुगाहरू, हलिउडकी कलाकार डेमी मूर, चर्चित टेलिभिजन सेलिब्रेटी ओपरा विनफ्रे, अमेरिकाकी प्रथम महिला मिशेल ओबामा, पूर्व उपराष्ट्रपति कमला ह्यारिस आदि प्रभावशाली महिलाहरूले लगाएका छन्। प्रबल गुरुङ, फेशनको दुनियाँको बाइबल भनिने पत्रिका ‘विमेन्स वेयर डेली‘, फेशनको दिशानिर्देश गर्नसक्ने मानक म्यागेजिन ‘भो…ग‘, ‘ए…ल‘, ‘हार्वर्ड बिजिनेस रिभ्यू‘, ‘द न्युयोर्क टाइम्स‘ जस्ता विश्वमै चर्चित सञ्चारमाध्यमहरूमा छाइसकेका पनि थिए; त्यसको बावजुद, उनको संघर्षको कथा नसिद्धिएको तथ्य ‘वाक लाइक अ गर्ल‘मा पढ्न पाइन्छ।
झट्ट सोच्दा, फेशनको दुनियाँका एउटा उदाउँदो ताराले लेखेको किताब, फेशनबाहेक के होला र भन्ने पनि लाग्न सक्छ; तर कुरा त्यसो होइन भन्ने जान्नलाई किताब नै पल्टाउनुपर्छ। प्रबलको किताबका विषयहरूलाई पाठकको नाताले केही भागमा बाँड्ने जमर्को गरें।
पहिलो कुरा; किताबमा महिलाको अस्तित्व, सम्मान, उनीहरूले भोगेको र भोग्नुपर्ने पीडाको बारेमा धेरै लेखिएको छ। यसबारेमा लेख्दा, लेखकले आफ्नी आमा दुर्गा राणाले भोगेको निरन्तरको घरेलु हिंसा, त्यति भएर पनि आम नेपाली महिलाले जस्तै सहेर बस्ने बानी, एकल आमाले सन्तान हुर्काउन गरेको संघर्षलाई पुस्तकको हरेकजसो अध्यायमा उल्लेख गरेका मात्रै होइन, आमाले घरेलु हिंसा सहेर बसेको देखेर असन्तुष्टि समेत व्यक्त गरेका छन्।
प्रबल सानैदेखि आफ्नो बाबुले आमामाथि गरेको हिंसा र दुर्व्यवहार देख्दै हुर्किए। यसै क्रममा एक रात, सुतिरहेको बेला ठूलो–ठूलो आवाज सुनेर उनी बिउँझिए। कता के भयो भनेर हेर्न जाँदा बैठक कोठाको भुईंमा आफ्नी आमालाई देखे। उनका बाबुले आमालाई रिसले घचेट्दा कोठामा राखेको शिशाको कफी टेबुलमा लागेर टेबुलको शिशा चर्ल्यामचुर्लुम भएर छरिएको थियो र बाबु मुड्की उजाएर पिट्न खोज्दै थिए। प्रबल त्यो देखेर कराए, ‘रोक्नूस् ! यो बहुलठ्ठीपन हो। तपाईंले उहाँलाई मार्नुहुन्छ।‘
प्रबलको आवाज सुनेपछि बाबु आमालाई पिट्न छाडेर हिंडे भनेर उनी लेख्छन्। (पेज १४) सोही पेजमा प्रबल लेख्छन्, “नेपालमा घरेलु हिंसा साधारण मानिन्छ। मेरो बाबुलाई रिस उठ्नुमा मेरो आमालाई नै दोष जान्थ्यो। मैले, मेरो जीवनभर नातेदारहरूमा पनि त्यस्तै घटनाहरू देखें; उनीहरूको सोचाइ हुन्थ्यो, त्यसरी हिंसा भोग्नुमा ती महिलाहरूले नै केही गलत गरेका होलान्।“
उनको बाबुले आमाकै अगाडि, आमाकी बहिनीलाई समेत श्रीमती बनाएर भित्र्याउँदा पनि आमाले सहेर बस्नुपरेको कथा, बीच–बीचमा बाबुका विवाहइतरका अन्य सम्बन्धहरू सबैको राज पुस्तकको अन्तिम अध्याय पुग्ने बेलामा खोलेका छन्, प्रबलले। त्यो राजमा पनि आमाको गल्ती त होइन रहेछ; तर समाजका हिंस्रक सदस्यहरूले उनकी आमालाई नै दोषी ठहर्याइरहे। बल्लबल्ल उनी अमेरिका जानुअगाडि, आमाले सम्बन्धविच्छेद गरेर त्यो हिंसाबाट मुक्ति पाइछन्।
उपरोक्त हरफहरू, किताबका पानामा लेखिने कथाहरू मात्रै होइनन्; कतिपय नेपाली महिलाहरूले आजसम्म पनि त्यो स्थिति भोगिरहेकै छन्। कसैले भन्छन्; कोही सहेर बस्छन्।
लेखकको यौनप्रतिको दृष्टिकोण, बच्चैदेखि अन्य पुरुषहरूको भन्दा फरक रहेको तथ्य लेखकले शुरुदेखि नै आत्मसात् गरेका छन्, उनी कतै आफूलाई ‘गे‘ लेख्छन्, कतै ‘क्वियर‘ त कतै ‘म्यान‘; यसलाई कुन अवस्थामा कसरी व्याख्या गरिन्छ वा गर्ने हो भन्ने कुरा सोही समुदायको सदस्यहरूलाई राम्ररी थाहा होला। यहाँ, एउटा पाठकको हैसियतले भन्नुपर्दा, उनलाई समलिंगीकै रूपमा चित्रण गर्न चाहन्छु; त्यसलाई प्रमाणित गर्न, उनको ‘सेबस्टियन‘ नाम गरेको पुरुषसँग सम्बन्धमा रहेको तथ्यलाई अगाडि सार्न सकिन्छ।
उनको बालक अवस्थादेखि नै रहेको फरक यौन झुकावको स्थितिलाई पनि उनकी आमाले सधैं मान्यता दिएकी रहिछन्; कहिल्यै पनि रोकटोक गरिनछिन्। प्रबल लेख्छन्, “मेरो बाल्यकालको स्मृतिको पहिलो दृश्य, पाँच वर्षको म, मेरो ममीको शृङ्गारको दराज(?) अगाडि राखिएको, ‘र-सिल्क‘ र आइभोरीले बनेको स्टुलमा बसेर म घन्टौं, मामीले सजाएर लहरै राख्नुभएको लिपिस्टिक, फेसक्रिम र पर्फ्युमका बोतलहरू हेरिरहन्थें। …. जब म ऐनाको अगाडि बसें, मेरो औंलाहरू ती ग्लस्सी लिपिस्टिकका ट्युबहरूमाथि चल्न थाले; चलाउँदा चलाउँदै, मेरो औंला सुनौलो रङ्को ‘वाइएसएल‘को लिपिस्टिकमाथि रोकियो, जसको एक तरफ कालो रङ्ग थियो। मेरो मुटु छिटोछिटो चल्न थाल्यो, मैले लिपिस्टिक टिपें; बिर्को खोलें। खोलेर लिपिस्टिकलाई घुमाएँ, त्यसभित्र हेर्दा, अति सुन्दर गाढा रुबी-रातो टुप्पो देखियो।
झ्यालबाट न्यानो हावा नाच्दै पस्दा आइभोरी रङको पर्दा खुशीमा रमाएको महसुस गरें। मेरो हृदय पनि आनन्दमा रमाइरहेको थियो। मैले ऐना हेरेर, मेरो ओठ चुच्चो पार्दै त्यसमा रातो लिपिस्टिक दलें; मैले ऐनामा आफूलाई हेरें, डराएको साथै उत्साहित देखिएँ।” उनको त्यो रूप देखेर, केही समयपछि कोठामा प्रवेश गरेकी उनकी आमाले उनलाई के गर्न लागेको भनेर सोधिन् र आमा देखेर आत्तिएका छोरालाई लिपिस्टिक लगाएको देखेपछि, त्यसरी लगाउने होइन भनेर लिपिस्टिक लगाउन सिकाइन्। (पेज १ र २)
हुनत, पुस्तकमा धेरैपछि मात्रै, लेखकले न्युयोर्कबाट फोन गरेर आफू ‘गे‘ भएको कुरा सुनाएको भनेका छन्। तर, प्रबलको आमाले कहिल्यै पनि प्रबललाई उनको इच्छामा हस्तक्षेप गरिनन्; बरु, सकेको साथ दिइन् भनेर लेखिएको छ।
नेपालमा थुप्रै आमाहरूले आफ्ना छोरा/छोरीलाई एकल आमा भएर हुर्काएका छन्। उनीहरूको लालन/पालनको लागि पूरा जिन्दगी अर्पिएका छन्; तर आमाहरूले गरेको योगदानलाई सबै छोरा/छोरीले उत्तिकै महत्व दिएको वा त्यसको कदर गरेको कमै देखिन्छ। प्रबलको किताबमा हरेक कदममा आमाको तपस्या र सहयोगलाई मान्यता दिएको र आत्मसात् गरेको पढ्न पाइन्छ। यो पनि किताबको एउटा सकारात्मक तथा महत्वपूर्ण पाटो हो। उनी हरेक सफलता, प्रेरणाको कुरा गर्दा महिला शक्ति, सशक्तीकरण र महिलालाई आर्थिक रूपले सक्षम गराउनुपर्ने कुरा गरेर थाक्दैनन्।
किताबको दुःखद् तर, त्यो दु:ख र संघर्षलाई हार नमानिकन लडेर काठमाडौं, इन्डियाा र न्युयोर्कमा समेत पुगेर आफ्नो, परिवार र देशको मात्रै होइन, पूरै साउथ एशियन समुदायलाई फेशनको संसारमा अग्रणी स्थानमा ल्याउन सफल फेशन डिजाइनरले आफ्नो बालापनमा आफू अरूभन्दा फरक देखिएको कारणले बारम्बार अपमानित हुनुपरेको, यौन दुर्व्यवहार सहनुपरेको, आफन्तहरूकहाँ जाँदा समेत प्रताडित हुनुपरेको घटनाहरूलाई सदृश्य महसुस हुने गरेर वर्णन गरेका छन्।
यसै क्रममा, उनी ६ कक्षामा गोदावरीस्थित बोर्डिङ स्कूलको होस्टलमा बस्दा, उनलाई स्कूलका शिक्षक एडन रिचर्डस्ले स्कूलको कम्पाउण्डभित्र रहेको आफू बस्ने अपार्टमेन्टमा लगेर यौन दुर्व्यवहार गरेको घटनाले जो–कोहीको पनि आङ सिरिंग बनाउँछ। जबकि, स्कूलका अन्य शिक्षकहरू र स्कूलका तत्कालीन प्रिन्सिपल फादर पास्कललाई पनि एडनको बारेमा थाहा रहेछ भन्ने कुरा प्रबलले किताबमा उल्लेख गरेका कुराकानीहरूबाट थाहा हुन्छ। तर, देखेर पनि नदेखेको जस्तो गरेर त्यस्ता घटनाहरू स्कूलमा घटिरहने रहेछन्।
शिक्षक मात्रै होइन, आफ्नै कक्षाका सहपाठीहरूले पनि पाएसम्म यौन दुर्व्यवहार गर्ने, बुली गर्ने घटनाबाट गुज्रिनु ती ११ वर्षे बालकको लागि कम्ता कष्टकर जीवन थिएन। तर, ती घटनाहरू उनले आफ्नो पक्षमा हरबखत उभिने आमा र आमा जत्तिकै माया गर्ने दिदी समेतलाई भन्न सकेनन्।
प्रबल एडनसँगै कोठाबाट निस्केपछि फादरले कडा स्वरमा प्रबललाई भनेछन्, ‘प्रबल, एडन रिचर्डस्सँग कहिल्यै एक्लै नबस्नू!‘ फादरले फेरि सोधेछन्, ‘उसले तिमीलाई केही गर्यो ?’ (पेज३१)
एडनले, उनीमाथि यौन दुर्व्यवहार गरिसकेपछि प्रबललाई भनेका रहेछन्, ‘यो, हामी दुईबीचको गोप्य कुरा हो, कसैलाई नभन्नू !‘ पहिलो पटक आफूसँग त्यस्तो घटना घटेको र आफैंले के हो भनेर नबुझिरहेको बालकले, आफ्नो कुरा कसरी भनून् ! उनले भनेछन्, केही पनि गरेको छैन।
तर, त्यो घटनालाई फर्किएर हेर्दा उनी लेख्छन्, “त्यो क्षणमा फर्किएर सोच्दा अहिले पनि मेरो मुटु कुँडिन्छ। म, एउटा औचित्य नभएको बच्चा थिएँ। म, असल विद्यार्थी थिइनँ। म, असल खेलाडी थिइनँ। मेरा साथीहरू कम थिए। त्यस्तो बेलामा, मेरो शिक्षकको नजरमा पर्नु, जुन शिक्षक देख्नमा पनि सुन्दर थिए; म भ्रमित तथा रोमाञ्चित दुवै अनुभव गर्दै थिएँ। मैले आफूलाई ‘विशेष‘ ठानेको थिएँ। तर, जुन प्रकारले फादर पास्कलले मलाई प्रश्न सोधे, म निश्चित भएँ कि, जे भर्खरै भएको थियो, त्यो एकदमै गलत थियो। अहिले त्यसबारेमा सोच्दा, मलाई यति धेरै रिस उठ्छ कि उनलाई (फादरलाई) स्पष्ट रूपमा थाहा थियो, एडन कति भयानक थियो भन्ने। तर पनि, उनले एडनबाट मलाई र शायद, थुप्रै बच्चाहरूलाई बचाउन केही गरेनन्।” (पेज ३२)
उनको जीवनको स्कूले कालखण्ड नेपाल र भारतमा समेत यस्तै दुर्व्यवहार र बुली हुँदै बित्यो; कहिले उनले ती आपराधिक कार्य गर्नेहरूसँग जुधेर जिते, कहिले असहाय बनेर सहँदै बसे।
उपरोक्त घटनाहरू पढ्दा प्रश्न गर्न बाध्य बनाउँछ, कतै अहिले पनि नेपालका बोर्डिङ वा डे–स्कलर स्कूलहरूमा अझै त्यस्तै घटनाहरू घटिरहेका त छैनन् ? पुस्तकले यस्ता कुरामा सचेत हुनुपर्ने जनाउ दिएको छ।
हामी सोच्छौं; नाम चलेका स्कूलहरूमा छोराछोरी पढाएकै छौं, चिन्ता गर्नुपर्ने कुरा छैन; तर, यो किताबले कहालीलाग्दा घटनाहरू उजागर गरेको छ। किताबले, अमेरिकामा खैरो छालामाथि गरिने रङ्गभेदलाई पनि पटक–पटकको घटना सहित विस्तृत रूपमा वर्णन गरेको छ। लेखकले आफूमाथि आफ्नो क्षमता वा योग्यताले होइन कि, वर्ण विभेदको कारणले गुमाउनु परेको अवसरहरू, एशियन भएकै कारणले भोग्नुपरेका अपमानहरू, फरक यौन पहिचानका व्यक्तिहरूमाथि गरिने मौखिक र अन्य खालका दुर्व्यवहारलाई पनि लेख्न बाँकी राखेका छैनन्।
आफ्नो निरन्तरको जुझारुपन र गोराबाहेक अन्यलाई फेशनको दुनियाँमा झुल्किनै नदिने अमेरिकन फेशन वृत्तविरुद्ध संघर्ष नै गरेर भए पनि सन् २०२२ मा ‘मेट ग्येला‘को निमित्त पूरै टेबल पाउनु, उनको पेशागत जीवनमा चारचाँद थपिनु थियो। जहाँ उनले फेशन इन्डस्ट्रीमा महत्वका साथ पेश गरिने गोरी मोडेलहरूको साटो, सबै वर्णको प्रतिनिधित्व गर्ने मोडेलहरूलाई संलग्न गराएका थिए।
(‘द मेट ग्येला‘ मे महिनाको पहिले सोमवार, ‘कस्ट्युम इन्स्टिच्युट एट द मेट्रोपोलिटन म्युजियम अफ आर्ट इन न्युयोर्क सिटी‘को फण्ड रेजको लागि गरिने च्यारिटी इभेन्ट हो। यसलाई फेशनको सबैभन्दा ठूलो रात पनि भनिने रहेछ। जुन ग्येलामा सांस्कृतिक वृत्तका, व्यापार क्षेत्रका तथा सेलिब्रेटीहरूको उपस्थिति रहन्छ।)
पुस्तकमा प्रबलको फेशन इन्डस्ट्री वा फेशनको दुनियाँमा टिक्नको लागि गरिएको संघर्षबारे पढ्दा उनी कहिले उँचाइमा पुगेको देखिन्छन् भने कहिले ऋणमा चुर्लुम्म डुबेका पनि भेटिन्छन्। आफ्नो व्यापारले लगाएको ऋण चुक्ता गर्न उनले फेशनको संसारमा चर्चित कम्पनीमा जागीर समेत खाएका छन्।
किताब सरल अंग्रेजी भाषामा लेखिएको छ। भाषा यति मिठो छ कि, कतिपय ठाउँमा उनले बनाएका लुगाहरूले, सियो, धागो वा टाँकका कुरा गर्दैनन्, सितारवादन र सुन्दर कलाकृतिको कुरा गर्छन्। कपडाको तारिफमा वर्णन गरेको शब्दहरूले कविता वाचन गरे जस्तो लाग्छ।
किताबमा त्रुटि पनि नभएको होइन, पेज २ र ३ मा लेखिएको छ, “मेरो ममी दुर्गा राणा नेपालको शाही परिवारमा जन्मिएकी थिइन्; जङ्गबहादुर राणा मेरो आमाको जिजुहजुरबुबा थिए; जो, नेपालको इतिहासमा ‘पोलराइजिंग फिगर‘ थिए। सन् १८४६ मा कोत पर्व भए पश्चात्, रानी भिक्टोरियाले उनलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।” यो कुरा आजसम्म कतै लेखिएको थाहा भएन र नेपालको इतिहास पढ्ने जो–कोहीले पनि नेपालमा रानी भिक्टोरियाले प्रधानमन्त्री नियुक्त गरेको कुरा पत्याउन सक्दैन।
प्रबलले आफू पाँच वर्षको हुँदा, आफ्नी आमाले ‘वाइएसएल‘को लिपिस्टिक र अरू महँगा कस्मेटिक्सहरू प्रयोग गर्ने गरेका कुराहरू लेखेका छन्। उनी पाँच वर्ष भनेको असीको दशकको सुरुआत हो। हुनत, उनी जन्मँदा उनका बाबुआमा सिङ्गापुरमा बस्नेरहेछन्। उनी नेपाल आउँदा ४ वर्षका थिए रे, त्यतिबेला नेपालमा त्यस्ता उत्पादनहरू सहजै उपलब्ध हुन्थ्यो होला त ? फेरि, ‘वाइएसएल‘ (यिभ्स सान लो-रोन), जुन सन् १९६१ मा फ्रान्समा स्थापना भएको थियो, अहिले पनि फेशनको संसारमा महँगो नामको ब्रान्ड हो; अलि विश्वास गर्न गाह्रो लाग्ने रहेछ।
यस्ता झिनामसिना कुराहरू आँखा चिम्लिने हो भने, प्रबलको जीवनको संस्मरणहरूको संकलनमा आधारित यो पुस्तक एउटा साहसिक दस्तावेजको कुटुरो हो। यस्तै आत्मकथा, कि त भारतीय नृत्यांगना प्रतिमा वेदीको पढिएको थियो, कि यही पढियो।
यसै वर्षको मे १३ मा ‘भाइकिंग‘द्वारा प्रकाशित प्रबल गुरुङको ३२० पृष्ठको पुस्तक, ‘वाक लाइक अ गर्ल‘ सामाजिक मनोरोगको रूपमा स्थापित ‘बुली‘, यौन दुर्व्यवहार, महिला हिंसा, फेशनको संसार आदित्यादिबारे थाहा पाउन पनि समाजका सबै तह र तप्काका व्यक्तिहरूलाई समाज बुझ्न काम लाग्ने पुस्तक हो।
अन्त्यमा, उनीहरूलाई उनीहरूकै रूपमा सम्मानका साथ बाँच्न देऊ; जसरी प्रबललाई उनकी आमाले हरेक क्षण निःशर्त माया र प्रेमका साथ, साथ र सहयोग दिइरहिन्।
प्रतिक्रिया 4