+
+
Shares
जेनजी आन्दोलनपछि गण्डकी :

खरानी पन्छाउँदै निस्किए कर्मचारी, मुख्यमन्त्रीको आरोप- पहिल्यै जलाउँछु भन्नेहरूले जलाए

‘सेवा सुचारु गर्छौं, संघ सरकारसँग छलफल हुन्छ’

कर्मचारीहरू खरानी पन्छाउँदै कार्यालयहरू तयार गरिरहेका छन् । कार्यक्रममा सहभागी हुन युएई गएका मुख्यमन्त्री पाण्डे फर्किएर क्षति भएका संरचना निरीक्षण गरे ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ असोज १ गते ८:११

१ असोज, पोखरा । भदौ २३ गतेबाट पछिल्लो जेनजी पुस्ताले देशभर आन्दोलन थाल्दा गण्डकी प्रदेश सरकार भने नेतृत्वविहीन थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कास्की समाजको विश्व सम्मेलनमा भाग लिन युएईमा थिए भने प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी भदौ १८ गते नै अवकाश भएका थिए ।

जेनजी आन्दोलनको पहिलो दिन नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निशानामा परेको थियो । कार्यालय अगाडि र त्योभन्दा करिब ५ सय मिटर उत्तरमा गरी २ जना युवालाई गोली लागेको थियो ।

एमालेबाट कृषिमन्त्री बनेकी पद्‌मा जिसी श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाण्डेले दिएका थिए । संघीय सरकारको नेतृत्व नै एमाले अध्यक्ष केपी शर्माले गरेको हुँदा आन्दोलनकारीको निशानामा प्रदेश र जिल्लाका नेताहरू समेत पर्दा त्रसित थिए ।

भदौ २४ गते न्यूरोडस्थित पोखरा महानगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी हुँदा गण्डकी सरकारका मन्त्रालय तथा मातहतका अधिकांश कार्यालयमा पनि मन्त्री र कर्मचारीको भागाभाग सुरु भयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित केही मन्त्रालयका चार पांग्रे गाडी प्रदेश प्रहरी कार्यालयमा सारिएको थियो ।

दिउँसो मुख्यमन्त्री कार्यालयसहित सामाजिक विकास, अर्थ, उद्योग तथा पर्यटन, वन तथा वातावरण, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय एक पछि अर्को गर्दै तोडफोड, लुटपाट र आगजनी भयो ।

प्रदेश सभाको कार्यालय, मातहतमा रहेको संसदीय समिति, संसदीय दलका कार्यालय, सचिवालय, प्रशासन पनि जलेर खरानी भएको छ । आन्दोलनकारीले मन्त्रालय, पुराना दलका नेताका घर खोजेर निशाना बनाइरहेका थिए ।

भदौ २३ गते १९ जनाको मृत्यु भएपछि भोलिपल्टको आन्दोलनमा अराजक युवाहरूको समूहले ध्वंस मच्चाइरहेका थिए । त्यतिञ्जेलसम्म नेपाल समाजवादी (नयाँ शक्ति)बाट मन्त्री बनेका ऊर्जामन्त्रीले राजीनामा दिइसकेका थिए ।

मुख्यमन्त्री पाण्डेसहित अधिकांश मन्त्रीका आवास, सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीको घर, मन्त्री विन्दुकुमार थापाको घरदेखि व्यवसायसम्म आगजनी भएको छ ।

पुराना दलका नेतामाथि सुरक्षा चुनौती बढेपछि गण्डकीका मन्त्रीहरू पनि सुरक्षित ठाउँमा गएर बसेका थिए । आन्दोलनकारीहरूले प्रदेश खारेजीको नारा लगाउँदै, मुख्यमन्त्री कार्यालयको भित्तामा पनि प्रदेश खारेज गर्नुपर्ने नारा लेखेका थिए भने तोडफोड गर्दै आगजनी गरेका थिए । मुख्यमन्त्री कार्यालयसँगै प्रेस रजिस्ट्रारको कार्यालय, किताबखानासहित अधिकांश संरचना जलेका छन् । किताबखाना भने अहिले सेवा दिन सक्ने अवस्थामा फर्किएको छ ।

भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य मन्त्रालयमा पनि कुनै पनि क्षति भएको छैन । कास्कीमा रहेका अन्य मन्त्रालय, मातहतका कार्यालयमा भने क्षति पुगेको छ ।

गण्डकीमा ५० वटा चारपांग्रे सवारी साधन जलेका छन् भने १ सय १४ वटा मोटरसाइकल जलेका छन् । योसँगै ठूलो परिमाणमा कम्युटर, फर्निचर, उपकरणसहित ठूलो क्षति भएको छ । क्षतिको यकीन विवरण आइसकेको छैन ।

जेनजी आन्दोलनको नाममा संरचनाहरू ध्वस्त भएपछि कर्मचारीहरू बिस्तारै आफैं सरसफाइमा जुटेका छन् । खरानी पन्छाउँदै कम क्षति भएका कार्यालयहरूमा सेवा दिन मिल्ने गरी सरसफाइ गरेका छन् ।

प्रमुख सचिव खगेन्द्रप्रसादले अवकाश लिएपछि बैठक तथा प्रशासन महाशाखा प्रमुख रमेश ढकाल निमित्त छन् । उनैले सचिवस्तरीय बैठकबाट कर्मचारीलाई अत्यावश्यकबाहेक बिदा स्वीकृत नगर्ने र काजमा सरुवासमेत नगर्ने निर्णय गरेका छन् ।

कर्मचारीहरू खरानी पन्छाउँदै कार्यालयहरू तयार गरिरहेका छन् । कार्यक्रममा सहभागी हुन युएई गएका मुख्यमन्त्री पाण्डे फर्किएर मंगलबार क्षति भएका संरचनाहरूको निरीक्षण गरे । जेनजी आन्दोलनले गण्डकी सरकारका संरचना पनि ध्वस्त भएको जानकारी पाएका पाण्डेले युएईबाटै विज्ञप्ति निकालेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका थिए ।

मुख्यमन्त्री पाण्डे मंगलबारमात्र पोखरा फर्किएपछि मुख्यमन्त्रीको कार्यालय, प्रदेश सभाको भवनलगायत संरचनाको निरीक्षण गरेका थिए ।

अब गण्डकी प्रदेश कसरी अगाडि बढ्छ त ? मुख्यमन्त्री पाण्डेले निरीक्षणपछि जवाफ दिए, ‘पहिले जनतासँग जोडिने सेवा दिन्छौं, विकास निर्माणबारे संघसँग सरकारसँग छलफल हुन्छ ।’

संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले टुक्रे योजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । गण्डकीले करिब ३२ अर्बको बजेट ल्याएको छ । प्रदेशमा पनि क्षति भएका संरचना निर्माणका लागि ठूलै बजेट आवश्यक छ । त्यसको प्रबन्ध कसरी गर्ने भन्नेमा मुख्यमन्त्री पाण्डे अन्योलमै छन् । जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकार कसरी अगाडि बढ्छ भन्नेतिर मुख्यमन्त्री पाण्डेको नजर छ ।

जेनजी आन्दोलनको मागलाई अन्यथा भन्न नमिल्ने भए पनि संरचना ध्वस्त बनाउने काम उनीहरूले गरेजस्तो नलाग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

‘जेनजी आन्दोलनले जे कुरा उठाउनुभयो, त्यसमा अन्यथा भन्नुपर्ने छैन । तर, जसरी संरचना ध्वस्त बनाइएको छ, त्यो जेनजीले गरेजस्तो लाग्छ ? पाण्डेको प्रश्न थियो ।

विध्वंस चाहने, उदण्डता चाहने, ध्वंस गर्न चाहनेहरूले सरकारी संरचनामा क्षति पुर्‍याएको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जेनजी पुस्ताले एउटा माग लिएर सरकारको विरोध गरेकाले  त्यसलाई अन्यथा भन्न नहुने उनको भनाइ थियो । आफूलाई चित्त नबुझेको कुरामा प्रदर्शन गर्न पाउने, आफ्नो माग राख्न पाउने संवैधानिक अधिकार नै भएको उनले बताए ।

‘खाली एउटामात्रै कुरा के हो भने शान्तिपूर्ण हुन्छ भनेको आन्दोलन जसरी भड्कियो, त्यसरी भड्काउन घुसपैठ गर्ने तत्वहरू छन्, त्यसको पहिचान हुनुपर्छ । यो मुलुकलाई आगो लगाउने काम राम्रो भएन,’ मुख्यमन्त्री पाण्डेले भने ।

जेनजीले राखेको मागका सन्दर्भमा गण्डकीले पहिललेदेखि नै सुशासनको प्रयत्न गरिराखेको उनले बताए । तर, जलाउने काम ‘जेनजीले होइन, पहिलेदेखि नै जलाइदिन्छु भन्नेहरूले मौका कुरेर बसेको’ उनको दाबी छ ।

‘पहिले पनि तपाईंहरूले सुन्नुभएकै थियो नि, जलाइदिन्छु्, फोड्दिन्छु, मार्दिन्छु, काट्दिन्छुु भन्नेबहरु बेला बेलामा बोलिराख्याथे । तिनीहरूले मौका कुरेर बस्याथे तर आन्दोलनलाई उनीहरूले जुन दुरुपयोेग गर्ने समय ठाने, पाए तर यसबाट हतोत्साही हुनुपर्ने कुरा छैन । सबै मिलेर गर्ने नै हो,’ मुख्यमन्त्री पाण्डेले भने ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमात्रै नभएर देशैभरका संरचना, तिनै वटा अंग (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) नै जलेकाले मिलेर पुनर्निर्माण गर्नुपर्ने उनले बताए ।

‘संघ सरकारसँग छलफल हुन्छ । कुराकानी अगाडि बढ्छ, त्यहीअनुसार विकास निर्माणको काम कसरी अगाडि बढाउँछौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘सेवा प्रवाहका विषयमा प्रत्यक्ष जनताले सेवा लिन जाने कार्यालयहरूबाट सेवा प्रवाह सुरु गछौं । पहिलो काम नै जनाले सेवा लिन जाने कार्यालय सुचारु गर्छौं । अनि क्रमिक रूपमा विकास निर्माणको काम गर्छौं ।’

यस्तो छ गण्डकीमा क्षतिको प्रारम्भिक विवरण :

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?