+
+
Shares

अन्तरिम सरकारको मन्त्रिपरिषद्‌मा रुपन्देहीका किरण विकको दावी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २८ गते २२:०७

२८ भदौ, बुटवल । रुपन्देहीका किरण बिकले जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद्‌ समावेशी हुनुपर्ने माग मन्त्रीमा दावी गरेका छन् ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रूपमा सहभागी भएको बताउँदै शिक्षा मन्त्रालयमा आफ्नो दावी रहेको बताए ।

केपी ओली नेतृत्वको अघिल्ला सरकारले समानुपातिक समावेशिताको पालना नगरेपछि दलित लगायत पछाडि पारिएको समुदायमा असन्तोष फैलिएको बताउँदै जेनजी आन्दोलनले त्यस्ता आवाजलाई पनि आत्मसात्‌ गरेको उनको दावी छ ।

उनले अवसर पाएको खण्डमा शिक्षा मन्त्रालयमा उल्लेखनीय सुधार गर्न सक्ने विश्वास समेत व्यक्त गरे । विकले प्रधानमन्त्री सुशिला कार्की, जेनजी आन्दोलनकारी तथा सरोकारवालासमक्ष अवसर प्रदान गर्न आग्रह गरेका छन् ।

‘नयाँ बन्ने अन्तरिम सरकारमा बहुलता, समावेशिता र सीमान्तकृत समुदायको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्छ,’ विकले भने, ‘म एघार वर्षसम्म विद्यार्थी राजनीतिमा रहंदा शिक्षा क्षेत्रका समस्या र समाधानका उपायबारे जानकार छु, तसर्थ यो  मन्त्रालयमा मेरो दावी छ ।’

उनी एमाले निकट अनेरास्ववियूको पुर्व केन्द्रीय सदस्य हुन् । एक वर्ष अघि उनले एमाले छाडेका थिए । बुटवल निवासी ३२ वर्षीय बिकले आफू दलित उत्पीडित समुदायको प्रतिनिधि पनि भएकोले अन्तरिम सरकारको सदस्यमा दाबी गर्ने अधिकार रहेको बताए ।

विकले एमाले छोड्नु आफ्नो राजनीतिक जीवनको सबैभन्दा सही निर्णय भएको बताए । उनले नयाँ क्रान्तिको पहिलो उपलब्धी नै देशले पहिलो महिला प्रधानमन्त्री प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे।

उनले आफू बुटवल र भैरहवाको जेनजी आन्दोलनमा सहभागी भएको तर, तोडफोड र आगजनी गर्ने जेनजी समूह हुन नसक्ने बताए ।

विकले रुपन्देही ३ मा हुने भनिएको उपचुनावमा उम्मेदवारी घोषणा गरेका थिए । शहरी विकासका जानकार समेत रहेका विक चलचित्र क्षेत्रमा पनि संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?