Comments Add Comment

कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

डीएसपी बिष्ट भन्छन्- आरोप निराधार हो, ८५ हजार बरामद गरेका हौं

१९ साउन, धनगढी । कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद गरेर उनीहरुलाई भगाएको आरोप लागेको हो । ‘हामी साथीभाइहरु सामान्य रमाइलोका लागि बसिरहेका थियौं,’ रेष्टुरेन्टमा उपस्थित एक जनाले अनलाइनखबरसँग भने, ‘त्यही बेला प्रहरी टोली आइपुग्यो । उहाँहरुले रेष्टुरेन्टको घर्रामा राखिएको ६ लाख, सबैको खल्तीमा भएको समेत गरेर थप दुई लाख रुपैयाँ खोसेर लग्नुभयो ।’

प्रहरी स्रोतका अनुसार रकम बरामद गरेपछि जुवाडेहरुलाई पक्राउ गर्नुको साटो छोडिएको थियो । ‘ठूूलो जुवा भइरहेको सूचनापछि जिल्ला र प्रदेशबाट प्रहरी टोली खटाइएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘तर पक्राउ गर्न भनेर खटिएका प्रहरीहरुले रकम असुल्दै उहाँहरुलाई छोडेर संगठनप्रति नै गद्दारी गर्नुभएको छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीले भने जुवा खेलिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली खटिएको तर उनीहरुलाई पक्राउ गर्न नसकिएको दाबी गरेको छ । ‘हामीलाई जुवा भइरहेको भन्ने सूचना प्राप्त भएपछि टोली परिचालन भएको थियो । तर जुवाडेहरु भागिहाले । नगद ८५ हजार रुपैयाँ बरामद गरेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले अनलाइनखबरसँग भने ।

रकम असुलेर जुवाडेलाई भगाएको भन्ने आरोप निराधार भएको बताउँदै डीएसपी बिष्टले प्रमाणसहित आएमा सम्बन्धित प्रहरीलाई कारबाहीको दायरामा ल्याइने जनाए । तर जुवाडे पक्राउ गर्न खटिएकै प्रहरीबीच समेत लेनदेनमा कुराकानी नमिल्दा विवाद सिर्जना भएको स्रोतको दाबी छ ।

सोही कारण प्रहरी अधिकारी नै दुईथरी कुरा गर्न थालेका छन् । जुवाडे पक्राउ गर्न खटिएका एक प्रहरी अधिकारीले रेष्टुरेन्टको घर्रामा ५–६ लाख रकम राखिएको भन्ने सूचनाका आधारमा त्यहाँ पुगे पनि उक्त पैसा नभेटिएको दाबी गरे ।

‘हामीले घर्रामा राखिएको भन्ने रकम भेटाएनौं । पछि राति सम्बन्धित व्यक्ति आएर पानीको तलाउबाट निकालेर लगे भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने । सोही प्रकरणमा खटिएका अर्का प्रहरी अधिकारीले भने रेष्टुरेन्टमा भएको सबै रकम बरामद गरेको दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment