Comments Add Comment

मेस्सीले छाडेपछि बार्सिलोनालाई कस्तो असर पार्छ ?

२४ साउन, काठमाडौं । लियोनल मेस्सीले अब बार्सिलोनाबाट अर्को सिजन खेल्ने छैनन् भन्ने समाचारसँगै शुरु भएको चर्चा अझै सेलाएको छैन । यो समाचारले बार्सिलोनाका समर्थकलाई भावनात्मक रुपमा धक्का लागेको छ । क्लबले भने आफ्नो इतिहासका सबभन्दा महत्वपूर्ण खेलाडी मात्र गुमाएका छैनन्, अरु क्षति पनि व्यहोर्दैछ ।

बार्सिलोनाका लागि मेस्सीले गरेको योगदान स्पष्ट नै छ । यद्यपि उनले व्यावसायिक रुपमा बार्सिलोनाको लागि के दिए ? कति समर्थक बनाए ? यो निकै महत्वपूर्ण हुन्छ ।

मेस्सीलाई गुमाउँदा त्यसको असर गोल, एसिस्ट र ट्रफीमा मात्र नभई धेरै कुरामा पर्छ । अब स्पेनिस क्लबलाई अर्जेन्टनी खेलाडी विना नै मैदानभित्र र बाहिरका धेरै चुनौतीको सामना गर्न नयाँ योजना आवश्यक देखिन्छ । मेस्सीले छाड्दा बार्सिलोनालाई पर्न सक्ने केही असर :

खेलमा पर्ने असर

मेस्सीको अनुपस्थितिले बार्सिलोनालाई खेलमा ठूलो असर पार्छ । मेस्सीले बार्सिलोनाको लागि १७ सिजनमा जुन किसिमको प्रदर्शन गरे, त्यो साँच्चै नै अविश्वसनीय थियो । उनी क्लबको लागि सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । सबैभन्दा महत्वपूर्ण खेलाडी पनि थिए र बार्सिलोनाको इतिहासमा उनले सबभन्दा धेरै खेल जिताएका छन् ।

बार्सिलोनाका लागि खेलेका ७७८ खेलमा मेस्सीले ६७१ गोल गरेका छन् र ३०५ गोलमा सहायक बनेका छन् । यो क्रममा उनले क्लबका लागि ३५ उपाधि पनि जिताएका छन्, जसमा चारवटा च्याम्पियन्स लिग, १० ला लिगा र तीन क्लब विश्वकपका उपाधि पनि सामेल छन् ।

पछिल्लो दुई दशकदेखि मेस्सी सबभन्दा महत्वपूर्ण खेलाडीको रुपमा रहे । उनले सबै किसिमको रेकर्ड तोडे र स्पेनमा आठ सिजनमा मेस्सी सबभन्दा धेरै गोल गर्ने खेलाडीको रुपमा रहे । अब मेस्सीको रेकर्डको हाराहारीसम्म पनि पुग्ने कुनै खेलाडी बार्सिलोनाले ल्याउला ?

आर्थिक पक्ष

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेस्सीले बार्सिलोनाको समग्र आम्दानीको एक तिहाइको हिस्सा बनेको बताएका छन् । मेस्सीको उपस्थितिले मात्र पनि क्लबलाई धेरै तरिकाबाट आम्दानी भइरहेको थियो । जसमा स्पोन्सरसिप, टिसर्ट बिक्री पनि छन् । बार्सिलोनाले बेच्ने हरेक १० टिसर्टमा आठवटा मेस्सीका हुन्थे । त्यस्तै टिकट बिक्रीबाट पनि उल्लेख्य आम्दानी हुन्थ्यो । मेस्सी विना स्वभाविक हिसाबमा नै बार्सिलोनाले त्यति धेरै नाफा गर्न सक्दैन ।

एक अनुमानअनुसार बार्सिलोनाले मेस्सीकै कारण वार्षिक २५ देखि ३० करोड युरो आम्दानी गर्ने गरेको छ । अब यो आम्दानी बार्सिलोनाले गुमाउनेछ, जबकि बार्सिलोना अहिले सबभन्दा कठिन आर्थिक समस्याको सामना गरिरहेको छ । यति ठूलो आम्दानी पुनः प्राप्त गर्नु त्यति सजिलो छैन ।

भावनात्मक पक्ष

लामो समयदेखि मेस्सी बार्सिलोनाको सबभन्दा महत्वपूर्ण फिगरको रुपमा रहँदै आएका छन् । उनी सर्वकालीन उत्कृष्ट खेलाडीका रुपमा मात्र होइन, उनको नम्रता, संयमित स्वभाव र शान्त व्यक्तिगत जीवनको कारण पनि उनले ठूलो संख्यामा समर्थकको माया पाएका छन् ।

उनी विशेषगरी युवा समर्थकको लागि मैदानभित्र र बाहिर मार्गदर्शक पनि हुन् । उनी राम्रो नैतिकता र सिद्धान्त भएका व्यक्ति हुन् । मेस्सीकै कारण बार्सिलोनाका समर्थक स्पेनमा मात्र नभई विश्वभर छन् । अब मेस्सीसँगै बार्सिलोनाले आफ्ना धेरै समर्थक गुमाउनेछ ।

संस्थागत पक्ष

जब बार्सिलोनाको ब्राण्डको कुरा गर्नुहुन्छ, पछिल्लो १७ वर्षमा बार्सिलोनाको पर्यायजस्तै बन्न पुगेको छ । अहिले बार्सिलोना क्लब र शहर दुवै मेस्सीको प्रभावसँग जोडिएका छन् । मेस्सीको समयमा स्पेनमा बार्सिलोना संस्था पनि निकै विकसित भएको छ ।

अब उक्त समय सकिने बेलातर्फ आएको छ ।

मार्काबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment