Comments Add Comment

पाकिस्तानका डानिस अजिजले चितवन टाइगर्सबाट इपीएल खेल्ने

२४ साउन काठमाडौं । पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिस अजिजले चितवन टाइगर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् ।

चितवनले आइतबार पहिलो विदेशी खेलाडीको रुपमा अजिजलाई अनुबन्ध गरेको हो । देब्रे हाते ब्याट्सम्यान अजिजले यसैवर्ष पाकिस्तानबाट क्रमश: दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेल्दै एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

२५ वर्षे अजिजलाई भारतका अलराउन्डर युवराज सिंहसँग पनि तुलना गरिने गरिन्छ । अजिजको स्ट्रोक प्ले, सन्तुलन र टेक्निक शैली उनका रोल मोडल युवराजको जस्तै रहेको छ । अजिजले युवराजलाई क्रिकेटमा आफ्नो प्रेरणाको रुपमा लिने गरेका छन् ।

चितवन टाइगर्सका अप्रेसन्न डिरेक्टर विनिता चौधरीले अजिजलाई भित्र्याउँदा उत्साहित रहेको बताइन् । ‘नयाँ सिजनको ईपीएलका लागि डानिसलाई विदेशी खेलाडीको रुपमा भित्र्याउँदा हामी उत्साहित रहेका छौं, पाकिस्तानको भविष्यको ब्याट्सम्यानको रुपमा उनलाई हेरिएको छ । उनको बिग हिटिङ र फिनिसिङ क्षमताले हाम्रो युवा ब्याटिङ लाइन अपलाई नयाँ आयाम दिने छ’ चितवनले आइतबार जारी गरेको विज्ञप्तिमा विनिता चौधरीले भनेकी छन् ।

अजिजले नेसनल टी ट्वान्टी कपमा असाधारण प्रदर्शन देखाएका थिए, विशेष गरी म्याच फिनिसिङमा उनले विशेष इनिङ्स खेलेका थिए । सिन्धबाट त्यो प्रतियोगितामा खेल्दै उनले ९ खेलमा २ सय २० रन बनाएका थिए, जसमा दुई अर्धशतक छन् । उनको औसत ७३.३३ र स्ट्राइक रेट १५४.९२ थियो ।

उनले आफ्नो पावर हिटिङ क्षमता २०२१ को पाकिस्तान सुपर लिग (पीसीएल) मा देखाएका थिए ।

कराची किंग्सबाट खेल्दै अजिजले क्वेटा ग्लाडिएटर्सविरुद्ध १३ बलमा ४५ रन बनाएका थिए । उनले सो क्रममा ज्याक वाल्डरमथलाई एकै ओभरमा ३२ रन प्रहार गरेका थिए ।

त्यसमा ४ छक्का र एक चौका समावेश थियो । १८ ओभरमा १३६–५ को अवस्थामा रहँदा कराँचीले उनको इनिङ्सपछि २० ओभरमा ६ विकेट गुमाई १ सय ७६ रन बनाएको थियो । सो खेलमा १४ रनको विजय हात पार्दै कराची किंग्स प्लेअफमा पुगेको थियो ।

चौथो संस्करणको ईपीएल आगामी असोज ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । लिगमा चितवनसंगै ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment